क्रान्तिलाई नयाँ रणनीति चाहिन्छ, रोमान्स गरेर अघि लैजान सकिँदैनः प्रचण्ड

प्रचण्डले भने, ‘‘मलाई विश्वास छ, अहिले कुराकानी पनि चलिरहेको छ। किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ, मलाई विश्वास छ।”

नेपालभ्युज

क्रान्तिलाई नयाँ रणनीति चाहिन्छ, रोमान्स गरेर अघि लैजान सकिँदैनः प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विप्लव माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन्।

प्रचण्डले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए।

प्रचण्डले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताए।

प्रचण्डले भने, ‘‘म यो मञ्चबाट भन्न चाहन्छु, ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु। अलग बसेर होइन, हामीसबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ, कुनै रोमान्स जस्तो गरिकन लैजान सकिँदैन।”

धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएको भन्दै प्रचण्डले अझ धेरै टाढासम्म जान बाँकी रहेकाले त्यो यात्रा सबैले आपसमा हातेमालो गेरर मात्रै पार गर्न सकिने बताए। उनले एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जे सुकै भए पनि नियती क्षतविक्षत हुनु बाहेक अर्को नहुने पनि बताए।

प्रचण्डले भने, ‘‘मलाई विश्वास छ, अहिले कुराकानी पनि चलिरहेको छ। किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ, मलाई विश्वास छ।”

कार्यक्रममा प्रचण्डले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताए। उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए।

‘कसैले चाहँदैमा, लहर चल्दैमा क्रान्ति हुने पनि होइन। फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन, नेपाली जनताले जन्माएको हो। तपाईं हामी सबै लडेर निर्माण गरेको हो”, उनले भने, ‘‘प्रचण्ड व्यक्ति होइन। फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन। थुप्रै लेनिन, माओ हुने हुँदैन। एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो। आन्दोलनले, संघर्षले, बलिदानले प्रदा गर्ने हो। सही विचारले पैदा गर्ने हो।”

त्यस्तो सही व्यत्तिः र कुरालाई वर्ग संघर्षले र प्रतिक्रियावादीले सिध्याउन खोज्ने भन्दै प्रचण्डले जनताले त्यसलाई बचाउने बताए। उनले क्रान्तिका उपलब्धिको रक्षाका निम्ति, माओवादी आन्दोलनको रक्षाका निम्ति, प्रचण्डको रक्षाका निम्ति नयाँ व्यत्तिःहरुको आगमन भइरहेको भन्दै आगन्तुकहरुलाई स्वागत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved