मधेसमा बढ्दै चुनावी सरगर्मी

जानकारहरू स्वतन्त्र मधेशको नाराबाट मूलधारको राजनीतिमा आएका राउत तथा पार्टी फुटका कारण कमजोर बनेका उपेन्द्र र महन्थ पछिल्लो समय मधेशमा आफू कसरी बलियो बन्ने भनेर विभिन्न फण्डा अपनाइरहेको बताउँछन्।

मधेसमा बढ्दै चुनावी सरगर्मी

जनकपुर। जनकपुरमा खानेपानी कार्यालयका प्रमुखलाई कालोमोसोसहित सडकमा घुमाएपछि सीके राउत र उनको पार्टीको चर्चा मधेशका गाउँ देहातदेखि सहर बजारसम्म चुलिएको छ। एकथरीले आलोचना गरे पनि मुलुकको राजनीति र प्रशासन देखेर रुष्ट अर्कोथरीको भने सरकारी कामकाजको रबैयाका कारण यस्ता गतिविधि जायज रहेको तर्क छ।

यद्यपि राउत नेतृत्वको जनमत पार्टीका १७ जना नेता कार्यकर्तामाथि धनुषा प्रशासनले उक्त घटनाका दोषी ठहर्‍याउँदै मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। कारबाहीबाट जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू सर्तक भएका छैन, बरु थप विरोधका कार्यक्रम बढाइरहेका छन्।

हरेक स्थानीय तहस्तरमा समिति नै बनाएर विरोध कार्यक्रम गर्न थालेका पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रशासनको मुद्दाका बाबजुद स्थानीय तहमा उच्छृंखल कार्यक्रम जारी राखेका छन्।

धनुषाको बरकुर्वास्थित माध्यामिक तहका शिक्षकलाई समेत जनमत पार्टीका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका थिए। शिक्षकमाथि भएको दुर्व्यवहारको पनि चौतर्फी आलोचन भइरहँदा राउतको जनकपुरस्थित धनुषा जिल्ला पार्टी कार्यालयमा पनि तोडफोड भएको छ।

राउत नेतृत्वको पार्टीले पनि केही स्थानीय तथा अन्य पार्टीका नेताहरूको नाम नै किटानी गरेर मुद्दा दायर गरेको छ। पछिल्लो समय जनमत पार्टी यसरी उग्र रुपमा प्रस्तुत हुन थालेपछि तराईं मधेशमा उपेन्द्र यादव, महन्थ ठाकुर र राउतबीच राजनीतीक घोचपेच शुरु भएको छ।

जानकारहरू स्वतन्त्र मधेशको नाराबाट मूलधारको राजनीतिमा आएका राउत तथा पार्टी फुटका कारण कमजोर बनेका उपेन्द्र र महन्थ पछिल्लो समय मधेशमा आफू कसरी बलियो बन्ने भनेर विभिन्न फण्डा अपनाइरहेको बताउँछन्।

गत फागुनदेखि नै दुई धारमा बाँडिएको जनता समाजवादी पार्टी (जसपा) भदौमा आएर फुट्यो। महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल गठन गरेपछि उपेन्द्र यादव र ठाकुर पक्ष दुवै लागातार तराईं मधेश दौडाहामा छन्।

पार्टी दर्तापछि ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा शरदसिंह भण्डारी लगातार मधेशका जिल्लामा देखिएका छन्। यादव पनि प्राय: तराईं-मधेशका जिल्लामै देखिन्छन्।

जनकपुरका अधिवक्ता विमल मिश्र दलहरूमा निर्वाचनको मनोविज्ञान पछिल्लो समयमा देखिन थालेको विश्लेषण गर्छन्। उनी भन्छन्, “दल र दलका नेताहरूको पछिल्लो गतिविधिले निर्वाचनकोअघिको झल्को दिन थालेको छ।”

सबै बलियो बन्ने रणनितीमा

२४ फागुन ०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ बुँदे सहमति गरेर पृथकतावादी धारबाट मूलधारको राजनीतिमा आएका सीके राउतले ०७६ को वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी गठन गरे। मधेशमा सक्रिय रहेको तत्कालीन राजपा र समाजवादी पार्टीलाई आलोचना गर्दै गठन भएको जनमत पार्टी विगत अढाई वर्षयता पार्टीको आन्तरिक संगठनबाहेक अन्य गतिविधिमा देखिएको थिएन।

पार्टीको प्रशिक्षणदेखि स्थानीय तहसम्मको संगठन निर्माणमा केन्द्रित रहेको पार्टीले केही समयअघि जनकपुरमा महाधिवेशन गरेको थियो। महाधिवेशनबाटै नयाँ निर्वाचनको खाँचो औंल्याएको जनमत पार्टी तत्कालीन ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको पक्षमा देखिएको थियो।

राउतले सार्वजनिक रुपमै निर्वाचनको पक्षमा आफूहरू रहेको बताएका थिए। निर्वाचनको पक्षमा बताए पनि जनतम पार्टीको गतिविधि खासै देखिएको थिएन।

अघिल्लो साता जनकपुरमा खानेपानी कार्यालयका प्रमुखलाई कालोमोसो दलेपछि पुन: एकपटक राउत चर्चाको केन्द्रमा आएका छन्।

पार्टी संगठनमा केन्द्रित रहेको बताए पनि राउतको पार्टी मधेशका जिल्लामा देखिनेगरी चर्चामा आउन सकेको थिएन। जनकपुरमा कर्मचारीमाथि दुर्व्यवहार गरेर उसले मधेशमा सक्रिय रहेको जनाएको हो। यसरी चर्चामा आएर पार्टी बलियो बनाउने रणनीतिमा राउत देखिन्छन्।

यता पार्टी फुटपछि उपेन्द्र यादव पनि पार्टी संगठनमा केन्द्रित देखिन्छन्। यादव पार्टीको प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्मको संगठन पुनर्निर्माणमा देखिएका छन्। आफ्नै उपस्थितिमा पार्टीमा देखिएको स्थानीय विवाद सल्टाउन यादव अग्रपंक्तिमा देखिएका छन्।

यता महन्थ ठाकुर र उनको समूह पनि नयाँ पार्टीको संरचनादेखि जसपाबाट सकेसम्म बढीभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता आफ्नो पक्षमा तान्नेगरी दौडधुप गरिरहेका छन्।

जनकपुरका युवा अभियन्ता मनोज साह दलहरू पछिल्लो समय आफू बलियो रहेको सन्देश दिन विभिन्न होडबाजी अपनाइरहेको बताउँछन्। उनी भन्छन्, “आफू बलियो रहेको सन्देश प्रवाह गरेर दलहरू आन्तरिक कमजोरी ढाक्न चाहन्छन्।” नेकपा, जसपा, एमालेको फुट, कांग्रेसको महाधिवेशन र सीके राउतका पछिल्लो गतिविधि जनताको ध्यान आकर्षणका लागि भएको टिप्पणी उनी गर्छन्।

यद्यपि तीन तीन ओटा मधेश आन्दोलनको प्रभाव रहेको तराईंका जनताले भने अहिले नै मधेशी दलहरूबारे स्पष्ट धारणा बनाइनसकेका टिप्पणी उनको छ। भने, “निर्वाचनको पूर्वसन्ध्यामा मधेशी दल कसरी आउँछन् त्यो अहिले नै भन्न सकिने अवस्था छैन।”

कार्यकर्ता तानातानको प्रतिस्पर्धा

दशैं अगाडिदेखि नै हो, उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच कार्यक्रम गर्ने होडबाजी नै चलेको छ। एउटाले गरेको ठाउँमा अर्को पक्षले पनि कार्यक्रम गर्नेदेखि एक अर्काका स्थानीय नेता कार्यकर्ता आफ्नो पक्षमा तान्न दुवै पक्ष संघर्ष गरिरहेका छन्।

No description available.

दशैं लागेपछि काठमाडौंबाट मधेश झरेका लोसपा नेता महतो अहिलेसम्म काठमाडौं नै फर्किएका छैनन्। महन्थ ठाकुर र उपेन्द्र यादव बीच-बीचमा मधेश पुगेर कार्यक्रम गरिराखेकै छन्।

No description available.

यही बीच खानेपानी कार्यालय जनकपुरको घटनाका कारण पुन: चर्चामा आएको राउत नेतृत्वको जनमत पार्टीले पनि लागातार कार्यक्रमहरू गर्न थालेको छ।

No description available.

तराईं मधेशमा महन्थ ठाकुर, उपेन्द्र यादव र सीके राउतको कार्यक्रम मात्रै भइरहेको छैन। दशैंभर जनकपुरमा रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधि पनि धनुषा, महोत्तरीसहित जिल्लामा थुप्रै कार्यक्रम गरी काठमाडौं फर्किएका छन्। यस्तो दौडमा निधिभन्दा पनि ठाकुर र यादव एक कदम अगाडि छन्।

जनकपुरका पूर्वमेयर तथा सामाजिक धार्मिक अभियन्ता बजरंग साह दलहरूले नियमित कार्यक्रम गरिरहेको बताउँछन्। “दलहरू र सम्बन्धित क्षेत्रका नेताहरू आउनु स्वाभाविकै हो”, भन्छन्, “कांग्रेसको महाधिवेशन, जसपाको फुट र नयाँ स्थायित्वका कारण राउतको गतिविधि पनि बाक्लो देखिएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved