बाघको आक्रमण नियन्त्रणमा आउन सकेन

बाघको आक्रमण नियन्त्रणमा आउन सकेन
फाइल तस्वीर

बाँके । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका-१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरेको भने पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।

उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए। मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिन निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो। अहिले ती बाघ गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएको छ।

पाडोलाई बाघले मारेर खाएको निकुञ्जले जनाएको छ। आहाराका लागि पाडो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो। निकुञ्जका रेन्जर राजन पण्डितले नियन्त्रणमा लिन समस्या भइरहेको बताए।

“बाघले पाडो मारेर खाएको छ, बाघमाथि निगरानी बढाएका छौँ”, उनले भने। पाडो मार्न आएका दुई बाघ क्यामेरामा कैद भएका छन्। बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको छ। यस्तै नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिक रूपमा खटिएका छन्। ठाउँ-ठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारी बाघको निगरानी गर्न खटिएका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्वपश्चिम राजमार्गमा रातको समयमा साना सवारी साधनलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको बताए। निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ।

गत आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया-कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो। मान्छेलाई आक्रमण गर्नुअघि पाटेबाघले गाउँमै पसी एउटा गाई र एउटा बाछो मारेको थियो।

पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जको उत्तरतर्फ बबई र दक्षिणपूर्वमा राप्ती नदी बगेको छ । निकुञ्जका कतिपय क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको मूल नहरसमेत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved