लुम्बिनीमा एक लाख ३० हजार हेक्टरको धानबालीमा क्षति

डुबेको धानमध्ये ६५ प्रतिशत पूर्ण रूपमा नष्ट हुने आकलन

लुम्बिनीमा एक लाख ३० हजार हेक्टरको धानबालीमा क्षति

रुपन्देही । आइतबारदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको धानबालीमा ठूलो असर पुगेको छ।

प्रदेश कृषि विकास निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकले प्रदेशका १२ वटा जिल्लामा ३६ हजार ४ सय ८० हेक्टर खेतमा धानबाली डुबेको अवस्थामा रहेको देखाएको छ। त्यस्तै ९३ हजार ५ सय ७६ हेक्टर खेतमा धान ढलेको अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएको छ।

निर्देशनालय प्रमुख यामनारायण देवकोटाले डुबेको धानमध्ये करीब ६५ प्रतिशत पूर्ण रूपमा नष्ट हुने आकलन गरिएको बताए। उनका अनुसार ढलेको धानमध्ये करीब २० प्रतिशत पूर्ण रुपमा क्षति हुन सक्ने आकलन निर्देशनालयको छ। “प्रदेश सरकार गठन भएपछि धानबालीमा देखिएको सबैभन्दा ठूलो क्षति हो”, देवकोटाले भने, “काटेर खेतमा राखिएका र काट्न ठिक्क परेको धानबालीलाई वर्षाले सबैभन्दा धेरै असर गरेको छ।”

प्रदेशका बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देहीका खेतमा सबैभन्दा धेरै क्षति पुगेको छ।

निर्देशनालयले आफूमातहतका कृषि ज्ञान केन्द्रबाट संकलन गरी तथ्यांक सार्वजनिक गरेको हो। विवरणअनुसार प्रदेशमा ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धान रोपिएको थियो। त्यसमध्ये करीब एक तिहाई खेतको धानबाली वर्षाले नष्ट गरिदिएको छ। ५५ हजार ५४ हेक्टरमा भने वर्षा शुरु हुनुअघि नै किसानले धान भित्र्याइसकेका थिए। एक लाख ३२ हजार तीन सय चार हेक्टर खेतमा भने पानीले कुनै पनि असर गरेको छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै खराब मौसमको संकेत गरे पनि किसानहरूले पूर्ण सूचना नपाउँदा धानबालीमा ठूलो क्षति हुन पुगेको निर्देशनालयको ठहर छ।

प्रमुख देवकोटाका अनुसार पानी र मल समयमा नै उपलब्ध भएकाले यस वर्ष प्रदेशमा धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको थियो। “प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने आकलन गरेका थियौं। अब त्यसो हुन पाएन,” उनले भने।

काटेर भित्र्याउन ठिक्क परेको धान वर्षाले क्षति गरिदिएपछि किसानहरू निकै ठूलो पीडामा परेका छन्। किसानलाई क्षतिपूर्ति दिने विषयमा निर्देशनालयले छलफल शुरु गरेको प्रमुख देवकोटाले बताए। “किसानहरू निकै ठूलो मारमा परेका छन्। क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकारसँग छलफल थालेका छौं”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved