लाहुरे र विद्यार्थीसँगै आउँथ्यो दशैं

लाहुरे र विद्यार्थीसँगै आउँथ्यो दशैं

काठमाडौँ । अर्घार्खाँचीको बल्कोटमा जन्मिएको म गाउँले परिवेशमा हुर्किएँ। स्कूल जानुअघि त घरमा आफूले गर्नुपर्ने काम सक्नुपर्ने हामीलाई लामो बिदा हुने दशैंमा त्यसै कहाँ बस्न पाइन्थ्यो र! घर, आँगन, चोटा, कोठादेखि लिएर बाटो समेत सफा गर्नुपर्थ्याे।

अहिले आएर विगत ती दिन सम्झिँदा दशैंको सबैभन्दा राम्रो पक्ष भनेकै योसँग जोडिएर आउने सामाजिक पक्ष रहेछ। कसैप्रति रिस होस् वा कसैसँग मनमुटाव नै किन नहोस्, दशैंका दिन हामी यी सबै बिर्सिएर एक अर्काकहाँ टिका ग्रहण गर्न जान्छौँ। मान्यजनको हातबाट टिका ग्रहण गछौँ। यस हिसाबमा समाजिक सम्बन्धलाई बढाई राख्ने पर्व हो दशैं।

अघिपछि हामी दिउँसोमा गाई चराउन जानुपथ्यो। दशैंको दिन भने खर्यानमा गाई भैँसी विहानै चराएर टिकाको साइत छोप्ने गरि घर आइन्थो। दिउँसोको काम बिहानै सकेर बस्थ्यौँ। गाउँबाट पानी लिन करीब एक घण्टाको बाटो जानुपर्थ्याे।

दशैंको दिनका लागि मात्रै काम सकेर कहाँ हुन्थ्यो र, कम्तिमा दशैंको भोली पल्टलाई समेत कामअघि नै सक्निुपर्ने हुन्थ्यो। त्यसपछि मात्रै दशैंको रमझममा हामी झुम्मिन्थौँ। दशैंको दिनको प्रसादपछि सम्म राखेर खाएको याद आउँछ। कतिपय अवस्थामा साथीभाइसँग बाँडेर खाइन्थ्यो भने आफू एक्लैले पनि खाइन्थ्यो।

हाम्रो कुलमा महाअष्टमी मनाउने चलन छ। बुबाहरुले महाअष्टमी अथवा कालरात्रीका दिन भोकै बसेर बेलुका पूजा गरेपछि मात्रै प्रसाद खानुहुन्थ्यो। पहिले–पहिले हाम्रो गाउँमा बलि दिने चलन पनि थियो रे, तर हामी जान्ने हुँदा त्यो चलन थिएन।

बुबाआमासँगै हामी तीन दाजुभाई र बहिनी हाम्रो परिवारमा थियौं। दशैंका अवसरमा हामीलाई एकै प्रकारको कपडा किनिन्थ्यो।। दशैंको दिन हजुआमाको हातबाट टिका लगाएसँगै शुरु भएको हाम्रो दशैं बुबाआमासँगै त्यहाँ रहेको भट्टराई टोलका अन्य मान्यजनको हातबाट टिका ग्रहण गरेपछि सकिन्थ्यो।

टाढा टाढा पुगेर आमाहरुले रातो माटो ल्याउनु हुन्थ्यो। त्यो रातो माटो दशैंमा घर लिप्न प्रयोग गरिन्थ्यो। खट, बझ्याङ लगाएर घर लिपेका अनुभव पनि छन्। घर लिप्ने काम हामीले फुलपाती अघि नै सकिसकेका हुन्थ्यौं।

दशैंको दिन टिका लगाउँदा ‘लाहुर गएस् मस्तै पैसा कमाएर ल्याएस्’ भन्ने आशिर्वाद दिने चलन थियो। आशिर्वादको शब्द जे भए पनि त्यसको मुख्य भाव जीवनमा राम्रो गरेस् भन्ने हो। ‘राम्रो गरिरहेका छौ अझै राम्रो गर्नु’ भनेर उत्साह दिइन्थ्यो। आफूले खास केही नगरे पनि आशिर्वादका भावले साँच्चै राम्रै गरि पो रहेको छु कि भन्ने भान हुन्थ्यो।

बुबाले हामीलाई भन्नुहुन्थ्यो– सुख दुःखको सबैभन्दा ठूलो साथी भनेको मेहनत हो। दशैंसँगै बुबाका ती भनाई सम्झनामा आउँछन्। बुबाले भन्नुहुन्थ्यो– पढेर आफूलाई मात्रै होइन समाजलाई पनि केही गर्नसक्ने हुनुपर्छ।

हाम्रा गाउँमा शक्तिपिठ हुन्छन् जहाँ दशैंको बेला हामी सरायँ खेल्ने गथ्र्यौं। सरायँ भनेको देवीदेवताको मन्दिरमा राखिएको भाला, तरबार प्रदर्शन गर्दै खेलिने खेल हो। वरिपरिका शक्तिपिठमा सरायँ सकभर एकैदिन नपार्ने कोशिस गरिन्थो। कुनै शक्तिपिठमा दशैंको दिन सरायँ खेलिँदा अर्को शक्तिपिठमा द्वादशी, पूर्णिमाका दिन खेलिन्थ्यो। हाम्रो घर नजिकै रहेको आलमदेविको मन्दिरमा पूर्णिमाका दिन खेलिन्थ्यो सरायँ। सरायँ हेर्न जानेलाई हामी ‘राम हेर्न जाने’ पनि भन्थ्यौँ। दशैंको दिन नयाँ लुगा लगाएर सरायँ हेर्न जाँदाको रमाइलो नै छिट्टै हुन्थ्यो।

दशैंको अर्को रमाइलो पक्ष बिदामा आउने लाहुरेहरु हुन्थे। कोही दुई चार वर्षपछि गाउँ फर्किएर आएका छन् भन्ने पञ्चे बाजा बजाएर स्वागत गरिन्थ्यो।

परिवर्तित अवस्थामा पनि हामीलाई दशैंको पारिवारिक, धार्मिक र सांस्कृतिक महत्व उत्तिकै छ। जुन मनोभावले पहिला दशैं मनाइन्थ्यो त्यो पछिल्लो समयमा भने कम हुँदै गएको हो कि जस्तो लाग्छ।

हुर्किदै जाँदा पढ्नका लागि घर छोड्नुपर्ने अवस्था आयो। २०२७–०२८ सालको कुरा हो त्यो। अर्घाखाँचीबाट काठमाडौं जानुभन्दा सहज बनारस जानुहुन्थ्यो। काठमाडौं जान बुटवल हुँदै भारतको गोरखपुर पुगेर त्यहाँबाट रक्सौल गई वीरगञ्ज हुँदै जानुपर्थ्याे। त्रिभुवन राजपथ भर्खर बनेको थियो। मुग्लिन–नारायणगढको बाटो बनेकै थिएन। त्यसैले पढ्न बनारस गयौँ।

भारतसँग संस्कृति मिल्ने हुँदा त्यहाँ पनि दशहराको बिदा हुन्थ्यो। बिदा कम भएको अवस्थामा हामी दुइचार दिन बढी छुट्टी लिएर पनि घर आउने गर्थ्याैं।

लाहुरे र विद्यार्थीहरु गाउँ फर्किंदा खुब रमाइलो हुन्थ्यो। गाउँका बाटाघाटामा श्रमदान गर्दै हामी पनि सफा गथ्र्यौं। दशैंका बेला गाउँ फर्किंदा बाटो छेक्ने चलन पनि त्यतिबेलै शुरु भएको हो।

लाहुरे र विद्यार्थीहरु फर्किदा गाउँ नै रामाइलो हुन्थ्यो। सबै मिलेर गाउँका बाटा सफा गर्थे। धेरै समयपछि साथीभाइसँग भेट हुन्थ्यो। त्यो भेटघाटको रौनक अहिले कसरी व्याख्या गर्न सकिन्छ र ? ऊ बेलाका साथीभाइबीचको एकात्मकता अहिले ज्यादै मिल्ने साथीभाइमा पनि पाइँदैन। एकअर्काका घर जाने खाने त्यो बेलाको अनुभव अहिले कहाँ गर्न पाउँनु ! त्यो प्रकारको मनोभाव शहरमा त छैन नै गाउँमा पनि बिस्तारै कम हुँदै गएको छ।

सिद्धार्थ राजमार्ग बनेपछि अर्घाखाँचीबाट पाल्पा, पोखरा हुँदै काठमाडौं जान थालेका हौं। म २०३५–०३६ सालतिर बल्ल काठमाडौं आएको हुँ। काठमाडौं बसे पनि दशैंमा भने घर जान्थ्यौं।

एकपटक बुटवल हुँदै गैंडाकोट पुगेर पैदल नै नारायणी नदी तरी चितवनबाट अर्को गाडी चढेर काठमाडौं पुगेको याद छ।
कामको सिलसिलामा मेरो बसाइँ काठमाडौंमा भए पनि बुबाआमा हुँदासम्म काठमाडौंमै दशैं मनाएको छैन। पछि पनि यात्रा गर्न सक्दासम्म दशैंका लागि पहाड घर नै पुग्ने गरेको थिएँ।

जुन दशैं मनाएर हामी हुर्कियौं त्यो अहिले कहाँ छ र ? दशैंको त्यो मर्म केही कम हुँदै गएको अनुभूती हुन्छ।

(प्रस्तुति: पुरुषोत्तम पौडेल)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved