प्रिय पात्र

हिँड्दाहिँड्दै सकम्बरीसँग भेट हुन्छ कि जस्तो लाग्छ

समाजमा पर्दा पछाडि धेरै राम्रो काम गर्नेहरू छन्। उनीहरू गुमनाम छन्, हामीलाई थाहै छैन उनीहरूको बारेमा।

हिँड्दाहिँड्दै सकम्बरीसँग भेट हुन्छ कि जस्तो लाग्छ

पात्रको कुरा गर्नुपर्दा मलाई रुबि खान मन पर्छ, जो १९ दिन नेपालगञ्जमा र त्यसपछि महिलाहरूको नेतृत्व गरी २० दिन हिँडेर काठमाडौंमा आई अनसन बसेर न्यायका लागि लडिरहेको छ। अर्को मन परेको पात्र गोविन्द केसी हो। खगेन्द्र संग्रौला हो। लेखक र समाजको एक्टिभिस्ट दुवै रूपमा। ऊ रिटायर्ड भएर घरमै बस्नुपर्ने हो, तर पनि सडकमै छ। न्याय र समानताका लागि उहाँ अझैं लडिरहनुभएकै छ।

उहाँलाई मन नपराउने पनि त्यति नै छन्। जो परिवर्तन नहोस्, अल्पसंख्यकले अधिकार नपाओस् भन्ने चाहन्छन्। मेरा लागि उहाँ ‘रोलमोडल’ हुनुहुन्छ। असाध्यै मन पर्ने यथार्थ पात्र जो पञ्चायतसँग लड्यो, राजासँग लड्यो र अहिले पनि थाकेको छैन। लडिरहेकै छन्।

अर्को मन पर्ने पात्र मलाई विद्या चापागाईंको हेर्ने कथाको गजेन्द्र सर हो। निश्वार्थ भावनाले धेरै विद्यार्थीको अभिभावकत्व लिएर सित्तैमा पढाइराख्नुभएको छ। मर्ज हुन लागेको स्कूल ब्युँताएर विद्यार्थीको सुन्दर भविष्य कोरिराख्नुभएको छ। समाजमा पर्दा पछाडि धेरै राम्रो काम गर्नेहरू छन्। उनीहरू गुमनाम छन्, हामीलाई थाहै छैन उनीहरूको बारेमा।

यी यथार्थ पात्र भए।

पढेको काल्पनिक पात्रको कुरा गर्नुपर्दा मलाई सकम्बरी मन पर्छ। उसको जुन अराजकपन छ, त्यो मलाई निकै मन पर्छ। उसको त्यो झगडा गर्ने, बाझ्ने, स्वतन्त्र भएर हिँड्ने आदत खुब मन परेको हो। उसको जुन बिन्दास अराजक जिन्दगी छ, त्यो गज्जब हो। एकदिन उसको आकर्षक कपालको सुयोगवीरले प्रशंसा गर्छ। अर्को दिन सकम्बरीले कपाल मुण्डन गरिदिन्छे। यो बिद्रोह भयानक हो। ऊ पुरुषसँग मुखमुखै लाग्छे, पुरुषसँग बसेर चुरोट/रक्सी खान्छे, पितृसत्तात्मक समाजमा कुनै पुरुषभन्दा कम छैन ऊ। दिमागमा एकदमै हानेर बस्ने पात्र हो सकम्बरी।

सकम्बरी जस्तो पात्र यथार्थमा साँच्चिकै भेट हुन परोस् भन्ने चाहन्छु। हिँड्दा हिँड्दै सकम्बरीसँग भेट हुन्छ कि जस्तो लाग्छ। भेट्न पाए सोचिरहन्छु। उसको अराजक बिन्दासपन स्यालुट गर्न लायक छ।

समग्रमा पारिजातले महिला भएर महिलाभित्रको समाजको पात्रलाई आधुनिक रूपमा सकम्बरीमार्फत देखाइन्। महान् महिलाको कुन्ठा विष्फोट भएको पाइन्छ ‘शिरिषको फूलमा’। जुन भयानक समय थियो त्यो समयमा अराजक, फुक्काफाल, स्वतन्त्र महिलाको कल्पना गरिन् त्यो एक बिद्रोह थियो। नेपाली समाज भन्दा दार्जिलिङ केही आधुनिक थियो। त्यो आधुनिकता नेपाली समाजमा उभ्याइदिए जस्तो लाग्छ।

मैले पढेकामध्ये नेपाली साहित्यको सबैभन्दा सशक्त पात्र हो सकम्बरी। सुयोगवीरलाई पनि त्यत्तिकै सशक्त रुपमा उभ्याइएको छ। मार्क्सवादी दृष्टिकोणले समालोचकले आलोचना गर्ने कुरा एक ठाउँमा छ। क्राफ्ट, कला र फाँट एकदमै सशक्त छ यसको। महिला भएर पुरुषको मनोविज्ञान बुझेर लेखेको देखिन्छ। त्यो बेला महिला स्वतन्त्रताको कुरा उठान गरेको छ। पुरुष पात्रमाथि चुनौती दिन सफल छिन् पारिजात।

हरेक मान्छेले आफ्नोहिरोइजम जस्तो हिरोइजमको एउटा चित्र बनाउँछ। त्यस्तै बाँच्न खोज्छ। परिवार, समाजको सेरोफेरोले त्यस्तो बन्न दिने अवस्था दिएन भने त्यो कलाका रुपमा बाहिर निस्किन्छ। परिजात आफैमा महान् स्रष्टा हुनुहुन्थ्यो। उहाँलाई भेट्ने अवसर त हामीले पाएनौँ। त्यसैले उहाँ कस्तो हुनुहुन्थ्यो भन्ने त थाहा भएन। तर कुनै न कुनै रुपले लेखकले लेख्दा आफ्नो व्यक्त्वि आउँछ कथामा होस् कवितामा होस् गीतमा होस्।नेपाली सामाज देखिसकेपछि र भोगिसकेपछि त्यो अभिव्यक्त भएको हुनुपर्छ जस्तो मलाई लाग्छ। सकम्बरीलाई कोहीसँग दाज्ने हो भने त्यो पारिजात नै हो।

नेपाली साहित्यमा पुरुषहरूको दबदबा भएको समयमा पारिजात सशक्त रुपमा आइन्। उनले बीपी, देवकोटा र बालकृष्णको भन्दा कम लेखिनन्। पुरुषहरूलाई खुलेआम चुनौती दिइन्। त्यसैले पारिजातलाई नेपाली साहित्यमा ठूलो शिखरका रुपमा म लिन्छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved