बजारको पेयपदार्थ पिउँदा धेरै मानिस कुपोषित भएका छन्

सन् १९६९ मा जाम्बियामा थुप्रै आमाहरूले स्तनपान भन्दा कोल्डड्रिंक्स उत्तम ठानेर बालबालिकालाई बजारका प्रचलित कोल्ड ड्रिंक्सहरू खुवाए। आमाको दूधको सट्टा कोल्डड्रिंक्स खाने धेरै बालबालिका कुपोषणका कारण अस्पताल भर्ना हुन पुगे।

बजारको पेयपदार्थ पिउँदा धेरै मानिस कुपोषित भएका छन्

काठमाडौं। दशैँमा मासुसँग चिसो पेयपदार्थ खाने व्यक्तिको जमात एकदमै ठूलो छ। चिसो पेयपदार्थ हाम्रो समाजमा शान, मान र सगुनको सामाग्री बनिसकेको छ।

आधुनिक जीवनशैलीको नक्कल गरी धेरै मानिसहरू स्वस्थकर तथा पोषिलो दही, मोहीको सट्टामा बजारको हानिकारक पेयपदार्थ पिउने गर्छन्। ग्रामिण क्षेत्रमा समेत दूध, दही जस्ता पोषिलो पेयपदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ पिउँछन्। यस्ता पेयपदार्थले मोही, सर्वतलाई नै विस्थापित गर्दै गएका छन्।

अति गुलियो र रसायन मिसिएका पेयपदार्थले दाँत, पेट, हाडजोर्नी लगायत शरीरका अन्य अंगहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराउँछ। यस्ता पेय पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगको शिकार भइन्छ।

पेयपदार्थ पिउने बानीले नशाकैजस्तो अम्मल  लाग्छ। ठोस खाद्य वस्तु नखाई खाजा जस्तै पेयपदार्थ पिउँदा धेरै मानिसहरू कुपोषणले ग्रस्त छन्।

सन् २०१३ मा अमेरिकन हार्ट एसोसिएसनले गरेको सम्मेलनेम प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार सोडा वा कोल्ड ड्रिंक्सले विश्वभरिमा वर्षेनि १ लाख ८० हजार मानिसको मृत्यु हुने गरेको अनुमान गरिएको थियो। चिनीले भरिपूर्ण कोल्ड ड्रिंक्स पिउनेमध्ये केहीमा क्यान्सर भएको समेत अनुमान गरिएको छ। सो प्रतिवेदनमा सन् २०१० ग्लोबल बर्डेन अफ डिजिज स्टडी अन्तर्गतको तथ्यांक प्रस्तुत गरिएको थियो। उक्त तथ्यांक अनुसार कोल्ड ड्रिंक्स सेवन गर्नेमध्ये १ लाख ३३ हजारको मृत्यु मधुमेहले भएको थियो। भने ४४ हजारको मृत्यु मुटु रोगले भएको थियो। त्यस्तैगरी ६ हजारको मृत्यु क्यान्सरले भएको उल्लेख गरिएको छ। यसको मुख्य कारक तत्व धेरै चिनी भएको कोल्ड ड्रिंक्स नै भएको दाबी गरिएको छ।

त्यस्तै, एक कोल्ड डिंक्सको अध्ययन गर्दा त्यसमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा निकै बढी भएको पाइएको तथ्य थियाे। द सेन्टर फर इन्भायरमेन्ट हेल्थले सो पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो।

सन् १९६९ मा जाम्बियामा एउटा ठूलै घटना भयो। त्यहाँका थुप्रै आमाहरूले स्तनपान भन्दा कोल्डड्रिंक्स उत्तम ठानेर बालबालिकालाई बजारका प्रचलित कोल्ड ड्रिंक्सहरू खुवाए। आमाको दूधको सट्टा कोल्डड्रिंक्स खाने धेरै बालबालिका कुपोषणका कारण अस्पताल भर्ना हुन पुगे। अस्पताल भर्ना भएका मध्ये ५४ प्रतिशत बालबालिकालाई चिसो पेयपदार्थ खुवाइएको पत्ता लागेको थियो। त्यसरी कुपोषित भएका बालबालिकालाई फान्टा वेवी नामाकरण गरिएको थियो।

अमेरिकन डायबेटिक एशोसिएसन र अमेरिकन हार्ट एशोसिएसन दुवैले चिनी भएको सोडाको उपभोग घटाउन आग्रह गरेका छन्। अमेरिकन डायविटिज एसोसिएसनले डायविटिज भए चिनीविनाको चिया, कफी, वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ।

कोल्ड ड्रिंक्समा हुने हानिकारक तत्वहरू

क्याफिन

क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो। यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ। उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ। तर यो क्षणीक हुन्छ।

शारीरिक कसरतपछि चिसो पेयपदार्थ पिउँदा शरीरमा क्यालसियम र पोटासियमको कमी हुन्छ। जसका कारण मांशपेशीहरू सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्छ।

चिसो पेयपदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन्।

अम्लहरू

चिसो पेयलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरू राख्ने गरिन्छ। यी अम्लहरूले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत्त गर्छ। अम्लहरूको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ।

चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ। यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वनडाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन्। यी तत्वहरूका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ। फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्यार्टी सफा गर्न प्रयोग गरिन्छ। यसको आधारमा यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट हुन्छ। धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ।

सन् १९९३ मा बेलायतमा गरिएको बाल दन्त स्वास्थ्य सर्वेक्षणमा नियमित रुपमा चिसो पेयसेवन गर्ने २० प्रतिशत बालबालिकाको दन्तपालिस पखालिएको देखियो। दन्तपालिस पाखालिनु भनेको दाँत सिरिङ्ग हुने या कुँडिएको अवस्था हो। चिनी भएको अम्लीय चिसो पेय पिउनासाथ दाँत माझ्नाले दाँतको भित्री भाग पनि कोतरिन्छ।

वाष्पित पानी

चिसो पेय भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरू आउने ग्यासहरू राखिएको पानी हो। चिसो पेय बढी पिउनेको पिसावबाट बढी मात्रामा खनिज तत्वहरू जानसक्छ। शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यती नै बढी हाड फुसफुसे भई कमजोर हुने, हड्डी वाथ सूजन हुने, थाइराइड ग्रन्थीका कमजोरी हुने, मुटुको धमनीका रोगहरू हुने, उच्च रक्तचाप र सामान्यतया प्रौढावस्थामा देखिने गडबढी जस्ता स्वास्थ्य समस्याको जोखिम सामना गर्नुपर्ने हुन्छ।

कृत्रिम बास्ना

चिसो पेयबाट आउने बास्नाहरू सबै कृत्रिम हुन्छन्। टारटजिन नामक रङ्गले सुन्तले पहेँलो रंग दिन्छ। यो रङ्गले छालामा डाबर उठ्ने, नाकबाट पानी बग्ने र आँखा रातो हुने जस्ता एलर्जी हुनसक्छ। यसलाई क्यान्सरको सम्भावित कारक पनि मानिएको छ।

धेरैजसो चिसो पेयहरूमा सोडियम पनि राखिएको हुन्छ। डाइट सोडामा सोडियमको परिमाण ज्यादा हुन्छ। १८० मिलि डाइट सोडामा ३१ मिलीग्राम सोडियमको परिमाण भेटिएको छ। सोडियम बढी हुँदा शरीरमा अनेक प्रकारका स्वास्थ्य समस्या हुन्छन्।

चिनी

चिनी सबै चिसो पेयहरूमा पाईने एक प्रमुख तत्व हो। यसमा धेरैमात्रामा फ्रक्टोज वर्गको चिनी वा त्यस्तै विभिन्न स्वादहरू मिश्रित तरल पदार्थहरू राखिएको हुन्छ। अधिकांश चिसो पेयमा ४ देखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ। एक चियाचम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्छ। १५ चम्चा चिनीमा २ सय ४० क्यालोरी अर्थात ५ चम्चा नौनी खाए बराबरको क्यालोरी उत्पन्न हुन्छ। बढी क्यालोरीयुक्त खाद्य वस्तुले शरीरको तौल बृद्धि गर्छ।

विश्व स्वास्थ्य संघले हालै प्रकाशन गरेको एक बुलेटिन अनुसार अहिले चिनी मिसाइएका पेयपदार्थको उपभोग विश्वमा नै बढिरहेको छ। विगत पाँच वर्षको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरू जस्तोः टाइप २ डायविटिज र अधिक मोटोपनको बृद्धिको एउटा मुख्य कारक तत्व पेयपदार्थ भएको पाइएको छ।

त्यसैले मेक्सिकोको कंग्रेसले पेयपदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ। मुल्य बृद्धि भए पछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको थियो। ट्याक्स लगाएपछि पेयपदार्थको खरिदमा ६ देखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो। यसमा गरिवहरूले खरिद गर्ने क्रम चाहिँ ९ प्रतिशतले कम भएको थियो। साथै पानी र ट्याक्स नबढाइएका पेयको खरिद भने ४ प्रतिशतले बृद्धि भएको थियो।

विश्व स्वास्थ्य संघका पोषणसम्बन्धी निर्देशक डा. फ्रान्सिस्को ब्रान्काले सोडा ट्याक्स अचुक उपाय होइन। धेरै उपायमध्ये एक उपाय मात्र हो। सन्तुलित खाना प्रबद्र्धनका लागि अनेक उपायहरू छन्। विश्व स्वास्थ्य संघले यसका लागि अन्य मुल्य रणनीति पनि सिफारिस गरेको छ। जस्तो स्वस्थ एवं सन्तुलित खानाका लागि कम ट्याक्स लगाउने तथा अनुदान दिन सकिन्छ।

सन् २०११ मा हंगेरी र फ्रान्सले पनि कृत्रिम पेयपदार्थमा ट्याक्स लगाएका छन्। यसको प्रभाव स्वरुप धेरै वर्ष पछि फ्रान्समा सन् २०१२ मा सोडाको विक्रिमा कमी भएको पाइएको थियो।

(कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved