बसको टिकट लिनै तीन घण्टा, घर पुग्न तीन दिन

बसको टिकट लिनै तीन घण्टा, घर पुग्न तीन दिन

दुई वर्षअघि, १९ असोज २०७६। काठमाडौँको करीब एक वर्षको बसाइ सकाएर दशैँतिहारको बिदामा घर जाने बेला भएको थियो। दशैंको माहोल तातिसकेको थियो।

टाढा-टाढाबाट काठमाडौं आएर बसेकाहरू दशैंमा घर फर्किन थालिरहेका थिए। त्यही भीडमा म पनि मिसिएँ। काठमाडौंको कीर्तिपुरबाट बझाङ(घर) जाने व्यग्र प्रतीक्षामा बसेको थिएँ।

घर जाने रहर निकै जागिरहेको थियो। किनकि म पनि घरबाट काठमाडौँ आएको एक वर्ष हुन थालेको थियो घर टाढा भएर एक वर्षमा मात्रै घर जाने अवसर हुन्थ्यो।

‘जननी जन्मभूश्चि स्वर्गादपि गरियसी’ आफूलाई जन्मदिने आमाबुबा र आफू जन्मेको ठाउँ जस्तोसुकै भए पनि सबैभन्दा प्यारो लाग्छ।

काठमाडौँको बसाइ जति सुख सयलमा रमाएको भए पनि घरीघरी घरमा आमाबुबा, जीवनसंगिनी र प्यारा नानीबाबुका मायाले सताइरहको थियो।

घरको एक्लो छोरा भएर होला सायद मैले यति धेरै माया पाएको महशुस गरेको छु। अझ आफूलाई भन्दा बढी मलाई माया गर्ने मेरो जीवन संगिनीको यादले पनि त्यतिकै सताएको थियो।

अझ भन्नुपर्दा मेरा नानीबाबु पनि मेरो बाटो कुरेर बसेका थिए। घरले मलाई दिएको माया माया र बुवाआमाको आशीर्वादले आफ्नो जीवन सार्थक सम्झेको छु।

जसले गर्दा बेला बेलामा घरपरिवार र गाउँको याद आइरहन्थ्यो। अझ भन्नुपर्दा बझाङको हावापानीसँग लडिबुडी गरेको साथै साथीसँग बिताइएका रमाइला पलहरूको झ–झल्को आइरहन्थ्यो। मनमा सधै दशैँ तिहार कहिले आउँछ होला र घरमा जाने दिन कहिले आउँछ होला भन्ने मनोवाद सिर्जना हुन्थ्यो। मनमा खुल्दुली लागिरहन्थ्यो। दिनहरू बित्दै जाँदा दशैँ तिहार पनि नजिकिँदै आयो। अझ झन् मनमा खुशीको सीमा रहेन।

घर जाने समय आएको हुँदा आफूलाई मनमनै खुशी लागेको थियो। कुन दिन टिकट बुकिङ खोल्छ होला भन्ने समाचारको पर्खाइमा बसेको थिएँ। नभन्दै असोज १२ गतेदेखि टिकट बुकिङ खुला गर्ने भन्ने समाचार पढ्न पाएँ।

त्यसको भोलिपल्टै बिहाना खाना खाएर १० बजे गोगंबु नयाँ बसपार्कमा टिकट बुकिङ गर्न भनी रुमबाट निस्किए। आ-आफ्नो घर जाने विद्यार्थी र कर्मचारीहरूको चहलपहल निकै बढेको थियो। कीर्तिपुरबाट गाडी चढ्न पनि निकै लाइन कुर्नुपर्ने अवस्था थियो। बल्ल गाडीमा चढेर बल्खु झरें। फेरि बल्खुबाट अर्को गाडीमा चढेर गोगंबु बसपार्क तर्फ लागें। कलंकीको करीब आधा घण्टा जामले गर्दा बल्ल ११ बजे गाडीले गोंगबु बसपार्क पुर्‍यायो।

बसपार्क पुग्दा त्यहाँ घर जाने मानिसहरूको घुँइचो त्यतिकै ठूलो थियो। टिकट काट्न सयौँको लाइनमा बसें। लाइनमा कुर्दाकुर्दै तीन घण्टा बित्यो तर नि पालो आउन सकेन र त्यो दिन टिकट सकिएको भन्ने जानकारी दियो। निराश हुँदै त्यो दिन कीर्तिपुर रुममा फर्किएँ। त्यसै गरी फेरि अर्को दिन खाना नखाएरै चिया खाजामात्र खाएर बिहान ६ बजे कीर्तिपुरबाट गाडीमा चढेर ८ बजे गोंगबु बसपार्कमा पुगें।

त्यहाँ जाँदा मानिसहरू अघिल्लो दिनझैं लाइनमा बसेका थिएँ। कोही टिकट नपाइएको भन्ने गुनासो गर्दै थिए। सबैको अनुहार मलीन देखिन्थ्यो। त्यो सम्झिँदा आफूलाई पनि आज टिकट पाइँदैन कि भन्ने चिन्ता बढ्न थाल्यो। अझै पनि टिकट पाइन्छ भन्ने आसामा खाना नखाइकन पनि करीब चार घण्टा लाइनमा बसें तर त्यो दिन पनि टिकट नपाएर रुम फर्किनुपर्ने अवस्था आयो। त्यसपछि निराश हुँदै रुम फर्किएँ।

अर्को दिन म बस्ने घरमा बस्ने एक जना धनगढीको रमेश साउँद भन्ने साथी थियो। ऊसँग काठमाडौँको लोकल चल्ने गाडी रिजर्भ गर्ने सल्लाह गरें। उसले पनि यो कुरालाई सहजै स्वीकार गर्‍यो तर दुई जनाले गाडी रिजर्भ गर्ने सम्भावना पनि थिएन।

त्यसपछि धनगढी र बझाङ जाने हामीजस्तै साथीहरूसँग सम्पर्क गर्‍यौँ। सबैले यो कुरालाई सहजै स्वीकार गर्न पुगे र सबै गरी १४ जना जुटाएर साहुँसँग प्रतिव्यक्ति पाँच हजार हुने गरी गाडीभाडा (बार्गेनिङ गरेर बल्लबल्ल) धनगढीसम्म पुर्‍याइदिन साहुलाई सहमत गरायौं।

अर्को दिन १९ गते बिहान ८ बजे काठमाडौँबाट हामी सबै १४ जना संयुक्त यातायातको लोकल गाडीमा चढेर धनगढीसम्म भनी काठमाडौँ कीर्तिपुरबाट हिड्याैं।

कलंकीमा के पुगेका थियौँ, गाडीको जाम निकै बढ्यो। सबै जना साथी यसपालिको यात्राबारे आपसमा कुरा गर्दै थिए। करिब डेढ घण्टापछि बल्ल जाम खुल्यो, अनि बल्ल गाडी थानकोट क्रस भयो।

थानकोट क्रस गर्दा बिहानको साढे ९ बजिसकेको थियो। जामले गरेर गाडीको बेग पनि निकै कम थियो। बिस्तारै बिस्तारै नौबिसे पुग्यौँ, त्यहाँ पुग्दा ११ बजिसकेको थियो। एकछिन गाडीलाई रोक्न लगाएर खाना खाने सल्लाह गरेर खाना खान नौबिसे होटेलमा पस्यौँ। साढे ११ बजे नौँबिसेबाट हिड्यौँ।

गाडीको जाम बेला बेला उत्तिकै भइरहन्थ्यो। बिस्तारै हिँडेको गाडी मुग्लिन पुग्दा चार बज्यो। त्यहाँ सडकमा पहिरो खसेको रहेछ। सयौँ गाडीको जाममा फेरि बस्नुपर्ने बाध्यता आइलाग्यो।

गाडीबाट सबै ओर्लियौँ, कोही चिया खान गयौँ, कोही खाजा खान गयौँ। यति समय बित्दा पनि गाडीको जाम नखुल्ने अवस्था भयो। सबै यात्रुहरू निराश थिए। साँझको ६ बज्न थाल्यो, गाडी खुल्ने सम्भावना निकै कम हुँदै गयो। अनि सबैले मुग्लिनमै खाना खाने निर्णय गरे।

हुँदाहुँदै मुग्लिनमै रातिको ११ बजिसकेको थियो। सबै गाडीका यात्रुहरू मुग्लिनमै थाकिसकेका थिए। डोजरले बाटो बनाउँदै छ, एकछिनमा खुल्छ भन्ने आश्वासन सुन्दासुन्दै मध्यरातको १२ बज्यो। अनि मात्र जाम खुल्यो। बिहानको चार बजे नारायणगढ पुग्यौँ।

यात्रा अलि सहज भएको महुसूस गरें। त्यो दिन बेलुका ५ बजे धनगढी पुगियो। त्यहाँबाट आ-आफ्नो जिल्ला जाने गाडीको टिकट काटेर तेस्रो दिन बझाङ पुग्यौं।

“ज्ञान र अनुभवको संगालो नै जीवन” हो भनेजस्तै यात्रा गन्तव्यमा पुग्ने संघर्ष पनि हो। जीवनका हरेक उकाली ओरालीमा यात्रा गर्न जति कठिनाइ छ त्यति नै आनन्द र स्मरणयोग्य पनि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved