दशैं आएको सन्देश दिने यी पाँच गीत

नेपाली संगीत क्षेत्रमा केही यस्ता गीत छन् जो बजेनन् भने दशैं आएजस्तै लाग्दैन।

नेपालभ्युज

दशैं आएको सन्देश दिने यी पाँच गीत

दशैं कहाँ एक्लै आउँछ र ? दशैं मनाउन घर पर्कने मानिसहरूको हुलसँगै दशैं आफैँमा धुन बनेर आउँछ। र, त्यो धुनमा अझ रौनक थपेका छन्- गीतहरूले । दशैंलाई दशैं बनाउन यो पर्वसँग जोडिएका गीतहरूले प्रशस्त भूमिका खेलेका छन्। नेपाली संगीत क्षेत्रमा केही यस्ता गीत छन् जो बजेनन् भने दशैं आएजस्तै लाग्दैन। हरेक दशैंमा उसैगरी बज्ने कालजयी केही गीतबारे चर्चा गरौं।

१) दशैं आयो…

‘फुल्दछन् खुशी जमराभरी

निधारमा अक्षता हाँस्दछन्

मुगलान जाने आफन्तलाई

घर आऊ भनी डाक्दछन्’

हरेक दशैंमा बज्ने कालजयी गीतको सम्भवत: पहिलो नम्बरमै रहेको गीत हो यो। लोकनाथ सापकोटाको शब्द रहेको यो गीतमा उदीत नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाईं लगायतले स्वर दिएका छन्। यो गीतलाई गीतका रचनाकार सापकोटाले मुग्लान चलचित्र भन्दा पहिल्यै पनि रेकर्ड गराएर पश्चिम नेपालका केही रेडियोमा प्रस्तुतिका लागि दिएका थिए। उनी यो गीतमा आफ्नै संगीत रहेको दाबी गर्छन्। तर सुरेश अधिकारी भने गीतमा आफूले संगीत भरेको दाबी गर्छन् र युट्युबको आधिकारिक भिडिओमा पनि अधिकारीकै नाम संगीतकारका रुपमा रहेको छ। हरेक वर्ष दशैंमा सुखद संगीत बनेर गुन्जिने यो गीतको दुखद पक्ष भने रचनाकार अहिलेसम्म रोयल्टी नपाएको बताउँछन्।

२) नमुछे आमा दहीमा टीका…

दशैं आफैमा घर फर्किने चाड पनि हो। हिउँदमा रोजगारीका लागि परदेशिनेहरू दशैंमा आशिर्वादका लागि गाउँ फर्किन्छन्। आमाहरू परदेशी छोराको पर्खाइमा परेला भिजाएर बस्छन्। एक परदेशी जो बाध्यताबस दशैंमा पनि आमाको हातको टीको लगाउन गाउँ फर्किन पाउँदैन, उसैको कथा यो गीतमा प्रस्तुत गरिएको छ। घर फर्किन नपाउने हरेक छोरा र घर नफर्किएको छोराको प्रतीक्षामा आँखा रुझाउँदै बसेकी आमाको कलेजो चिर्न हरेक वर्ष यो गीत पनि आइपुग्छ। नारायण रायमाझीको शब्द रहेको यो गीत रायमाझीले २०५५ मा कृष्ण राई र लक्ष्मी न्याैपानले युगल स्वर दिएका थिए। गीत सार्वजनिक भएको २३ वर्षपछि पनि यो गीत उत्तिकै अजरअमर छ।

३) बिछोडको पीडा नसकी खप्न…

गीत छनोट गर्ने नारायणगोपालको खुबी यसमा पनि देखिन्छ। परिणामस्वरुप आज पनि दशैंको बेला रत्नशमशेर थापाको शब्दमा रहेको बिछोडको पीडा नसकी खप्न उत्तिकै ताजगीका साथ गुन्जिन्छ। दिलमाया खाती र नारायण गोपालको स्वर रहेको यो गीतको संगीत पनि नारायण गोपालले नै भरेका हुन्। टाढाका दुई प्रेमी/विवाहित जोडीको भावना यस गीतमा सुन्न सकिन्छ। टाढिएको प्रेमी दशैंमा घर फर्किँदैछ, प्रेमिका मनको कुरा मनमै राखेर आँखाको निदचैन हराएर दशैंका बेला प्रेमीलाई पर्खिएर बसेकी छ। पछिल्लो समय परदेशिने समय झनै बाक्लिँदै गएकाले दिन प्रतिदिन यो गीत झन झन तरुनो हुँदै गएको आभाष हुन्छ।

४) यसपाली त यस्तै भो आमा…

जनवादी गायक जीवन शर्माको यसपाली त यस्तै भो आमा पनि दशैंमा उत्तिकै लोकप्रिय गीत हो। जनवादी गीत गाएर नेपालीको मन मनमा बसेका शर्माले यस गीतमा घर जान नपाएको पीडा अर्को वर्ष घर फर्किने आशामा चित्त बुझाएका छन्। आमालाई आशा देखाएर फर्की आउने विश्वास यस गीतमार्फत देखाएका छन् शर्माले। घरबाट टाढा एक नेपाली गाउँ सम्झिएर यसै यसै भावुक छ। यो गीतमा सर्वसाधारणले आफ्नो पीडा यसमा पाउँछन्।

५) दशैं नै हो कि मेरो यो दशा…

अहिले पनि थुप्रै नेपालीको घरमा दशैं उत्सव बनेर होइन, दशा बनेर छिर्छ। यो गीत तिनै सर्वसाधारण नेपालीको आवाज हो। फर्की फर्की दु:ख बनेर आउने दशैंलाई दशाका रुपमा गायक योगेश्वर अमात्यले नराम्रोसँग यसमा व्यंग्य गरेका छन्। पप रक शैलीमा बालकदेखि बृद्धसम्म रुचाइएको यो गीतले चाडबाडमा पनि घर परिवारलाई मिठो खुवाउन नसक्ने राम्रो लगाउन दिन नसक्ने आम नागरिकको व्यथा बनेर बज्नेगर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved