मेरो बाल्यकाल जनकपुरमा बित्यो। त्यही भएर दशैंसँग सम्बन्धित मेरा सबै स्मृति जनकपुरसँगै जोडिएका छन्। जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा परापूर्वकालदेखि दशैंमा धूमधामका साथ पूजाअर्चना हुने र बलि दिने प्रचलन छ। म सानो हुँदा पनि त्यहाँ बडो धुमधामका साथ पूजापाठ हुन्थ्यो। जनकपुर एउटा शहर मात्र होइन, परम्परा र संस्कृतिको विरासत पनि हो।
राजदेवी मन्दिरमा दशैंको लागी “वेलतोरी” का लागि फुलपातीको दिन पूरै शहरका मानिस सहभागी हुने परम्परा आजपर्यन्त छ। जसमा नगरजन पुरै नगर-परिक्रमा गरेर अन्तमा मन्दिर पुग्छन्।
एउटा प्रश्न आज पनि मेरो मनमा अनुत्तरित छ। हामी सानो छँदा सुनिने बोक्सी, डायन, भूतका भयभीत कथा किस्सा वास्तविक थिए कि अवास्तविक ? बोक्सीको आरोपमा मधेशका गाउँ-गाउँमा आज पनि महिला प्रताडित छन्। यो दुःखद पक्ष छँदैछ। यद्यपि दशैंको स्मृति गर्दा यी प्रसंगबाट बाहिर जान सकिँदैन।
हामी सानो छँदा दशैंका बेला बोक्सी, डायन, भुतको भय व्याप्त हुन्थ्यो। बोक्सी, डायन आदि अन्धविश्वासी कुरा हुन्। तर ती बखत गाउँमा एउटा मान्यता थियो, भूत प्रेत, बोक्सी डायन सक्रिय हुने समय यही हो। दशैंको समयमा यसको चर्चाले गाउँ नै त्रसिद हुने गर्थ्यो।
सानो छँदा म आफैँले भोगेका कतिपय घटना पनि छन्। म १०/१२ वर्षको थिएँ हुँला। हामी साथीहरू मिलेर सँधैं बाह्रबिघामा खेल्न जान्थ्यौं। दशैंको एक साँझ, खेल्दाखेल्दै साँझ परेको थाहै पाइएन। झमक्क रात परेपछि मात्रै हामीले थाहा पायौं। सबै स-साना बालक, रातको अँध्यारोमा डर लाग्ने नै भयो। त्यसमाथि बोक्सी र डायनका डरलाग्दा कुराले गाउँ नै त्रस्त थियो।
घर त फर्कनु नै थियो। जति नै डर भए पनि बगैंचाको बाटो हुँदै घर आउनु थियो। रुखैरुख भएको बगैंचा नजिक हामी डराइडराई बढ्दै थियौं। एक्कासी एउटा रुख बडो जोडले हल्लियो। अरु रुख शान्त थिए। एउटा रुखमात्रै यसरी हल्लियो, मानौं, त्यो हामीतिर ढल्नेछ र हामीलाई थिच्नेछ। सबैको सातोपुत्लो उड्यो। कति समय हो, सबैजना अचेत भइएछ। पछि होस खुलेपछि घर त आइयो तर डर गएको थिएन। बिहान सबेरै सबै साथी बगैचामा जाँदा रुखको एउटा हाँगो भाच्चिएर खसेको देखियो।
उसै त मनभित्र बोक्सी, डायनको डर, त्यसमाथि यसप्रकारका घटनाले झन् प्रभाव पार्ने रहेछ। अर्को एउटा प्रसंग पनि छ, जतिबेला म जनकपुर सरस्वती माविमा पढ्थे। मेरो घरबाट स्कुल जाने बाटोमा पर्ने देवी चोकमा एउटा ठूलो ताडको बोट थियो। त्यहाँ सबैले त्यो बोटमा भूत बस्छ भन्थे। दशैंमा त्यसले मानिसलाई सताउँछ भन्ने व्यापक चर्चा थियो। दशैं आउँदै गर्दा घरमा त्यो चोकको रुख अघि नजान हामीलाई उर्दी हुने गर्थ्यो। त्यही रुखको ठाउँमा अहिले दुर्गा माताको मन्दिर छ। हरेक दशैंमा भव्य पूजापाठ हुन्छ।
डर आफ्नो ठाउँमा थियो तर म सानैदेखि भुत प्रेत, बोक्सी आदि अन्धविश्वासी कुरामा विश्वास गर्दिनथेँ। यस्ता कुराको प्रतिवाद गर्थेँ। टोलमा एकजना डाक्टरको आमालाई बोक्सी भनेर आरोपित गरेको प्रसंग मलाई अहिले पनि याद छ। दशैंको समयमा मानिसहरू त्यो घर त के पर्खाल नजिक पनि जाँदैन थिए। मैले एकचोटी त्यो घरको पर्खाल चढेर अम्बा टिपेर खाएको कुरा गाउँभरि चर्चाको विषय भयो। घरमा पनि ‘बोक्सी’ को घरमा फलेको अम्बा खायो, केही हुन्छ कि भनेर चिन्ता लिन थाले। मेरो मातापिताले त केही नहोस् भनेर भाकल पनि गरे। तर मलाई त्यस्तो केही भएन।
हाम्रो घरमा भारत विहारको मधुवनी नजिकैका एक जना चर्चित बाबा सधै आउँथे। बसुरीया बाबाको नामले परिचित उनी उक्त क्षेत्रका प्रसिद्ध तान्त्रिक थिए।
हामी सानै छँदाको एउटा दशैंको कुरा हो। उनी आएका थिए। उनले मेरो काकालाई एउटा नाङ्लोमा पाँच मुठी चामल र पाँच रुपैयाँ हाल्न लगाए। त्यसपछि हामीलाई लिएर बाह्रविघा नजिकैको जानकी बाग गए। त्यहाँ उनले के के मन्त्र पढे। आज पनि सम्झिँदा आश्चर्य लाग्छ, के थियो त्यो भनेर। मेरो काकाले सुनाएको सम्झन्छु, उहाँले जानकी वागमा हजारै मानिसका टाउका देखेछन्। त्यो घटना सुनेर हामी निकै डराएका थियौं।
यस्ता डरावनी किस्साहरू हामी बालक हुँदा धेरै सुनिन्थे। अहिले समय फेरिएको छ। यी कुरामा मानिसहरूको विश्वास पनि कम हुन्छ। तर, जबजब दशैंका स्मृतिमा जान्छु, तब यस्ता अनेक घटना आइदिन्छन्। धेरैजसो, बोक्सी, डायन, भुतका अपत्यारिला र भयभीत किस्सा त्यो बखत सुनिन्थ्यो। दशैं नजिकिदै गर्दा यस्ता किस्सा सुनेर औधि डराउँथे म।
(साहित्यकार विमलसँग नविन झाले गरेको कुराकानीमा आधारित)
Facebook Comment
Comment