दशैंको मुखमा स्वास्थ्यकर्मीको हात रित्तै !

दिन्छु भनेको तलब र जोखिम भत्ता पनि दिँदैन सरकार

‘‘सबैले खुशी भएर पर्व मनाउँदा आफ्नो ज्यानको बाजी राखेर फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीले भत्ता त परको कुरा तलब पनि नपाउने?”

दिन्छु भनेको तलब र जोखिम भत्ता पनि दिँदैन सरकार

काठमाडौं। कोभिड महामारीका समयमा फ्रन्टलाइनमा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई सरकारले अझै पूरा तलब तथा भत्ता दिन सकेको छैन। कोभिड महामारीका बेला दोस्रो लहरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३१ भन्दा बढी अस्पतालमा ६ सयको हाराहारीमा करारमा कर्मचारी नियुक्त गरेको थियो।

गत असारमा करारमा नियुक्त भएका स्वास्थ्यकर्मीले अहिलेसम्म पनि तलका साथै जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन्। अर्थमन्त्री जर्नादन शर्माले मन्त्री भएकै दिन स्वास्थ्यकर्मीलाई समयमै जोखिम भत्ता र तलब दिने आश्वासन दिएका थिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी वार्डमा चार महिना काम गरेका डा.विसद दाहालले केही दिनअघि मात्र ट्वीटरमा कोभिड करारमा नियुक्त देशैभरका स्वास्थ्यकर्मीले तलब भत्ता असारदेखि नपाएको गुनासो राखेका थिए।

उनले पनि केही महिनायता तलब पाएका थिएनन्। ट्वीटरमा लेखिसकेपछि भने त्यहाँ कार्यरत ६-७ जना जति स्वास्थ्यकर्मीको तलब अस्पतालले आन्तरिक स्रोतबाट दिने कुरा बढाएको दाहालले जानकारी दिए। भन्छन्, ‘‘सबैले खुशी भएर पर्व मनाउँदा आफ्नो ज्यानको बाजी राखेर फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीले भत्ता त परको कुरा तलब पनि नपाउने?”

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीलाई साउन र भदौको तलब अस्पतालको आन्तरिक स्रोतबाट दिन लागिएको अस्पतालका निर्देशकमा डा.अनुप बास्तोलाले बताए। ‘‘तर जोमिख भत्ता भने स्वास्थ्य मन्त्रालयले पठाएपछि मात्र दिन्छौं”, उनले भने।

त्यस्तै दोस्रो लहरमा उदाहरणीय काम गरेको भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीले पनि तीन महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले भने, ‘‘स्वास्थ्य मन्त्रालयले नै तलब नपठाएपछि मेसुले तलब कहाँबाट दिने?”

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र बहादुर चन्द भन्छन्, ‘‘दोस्रो लहरमा स्वास्थ्य मन्त्रालयले खटाएका स्वास्थ्कर्मीहरूले जोखिम भत्ता पाउन सकिरहेका छैनन्, मन्त्रालयले नै भत्ता नपाठाएपछि हामीले कसरी दिने,” उनले भने।

गण्डकी प्रदेशको प्रादेशिक सरुवा रोग अस्पतालमा सरकारले कोभिड करार भनेर लगभग ६० जना स्वास्थ्यकर्मी खटाएको थियो तर उनीहरूले साउनदेखि नै तलब नपाएका सोही अस्पतालमा कार्यरत एक चिकित्सकले बताए।

त्यस्तै अस्पतालमा करारभन्दा पहिलादेखि नै कोभिड संक्रमितको उपचारमा दिनरात नभनी काम गरिहेका स्वास्थ्कर्मीले भने वैशाखदेखि जोखिम भत्ता नपाएको गुनासो गरेका उनले बताए।

‘‘फ्रन्टलाइनमा काम गर्नेहरूले जोखिम भत्ता पाउने आशामा काम गरेका त हुँदैनन् तर महामारीमा प्रोत्साहानस्वरूप सरकारले जोखिमभत्ता दिन्छु भनेर प्रतिबद्धता गरिसकेपछि त्यो पाउनुपर्छ भन्ने लाग्छ,” उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले शुरुमै फ्रन्टलाइनमा काम गर्नेहरूलाई वैशाखको पहिलो हप्ताबाटै सबैलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भनेको थियो, तर यी सबै बोली मात्र भएको छ।

चाडपर्वहरू नजिकिँदै छ। यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीले नै तीन महिनादेखि तलब नपाउँदा काममा मनै नलाग्ने गरेको उनले बताए। तर स्वास्थ्यकर्मीहरू सेवा नै धर्म हो भन्दै काम गरिहेका छन् यति भन्दैमा सरकारले स्वास्थ्यकर्मीहरूको पनि परिवार छ धेरै जिम्मेवारी बोकेर हिँडिरहेका छन् भनेर भुल्न नहुने उनको तर्क छ।

‘‘यस्तो अवस्थामा अन्य सरकारी कर्मचारीले तलब र भत्ता नपाउँदा आन्दोलनमा उत्रिने तालाबन्दी गर्ने गर्थे तर स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै आन्दोलन गर्न, मन्त्रालयमा ताला लगाउन जाने, टायर बाल्नेजस्ता काम गर्न सक्दैनौं”, उनी भन्छन्, ‘‘हामी भावनात्मक रूपमै बिरामीको सेवामा लाग्नुपर्ने हुन्छ। यति भन्दैमा चिकित्सहरूले केही पनि गर्न सक्दैन भनेर सरकारले आफ्नो मौनताको फाइदा नउठादिन उनले आग्रह गरे।

अस्पतालहरूले पठाएको विवरणअनुसार धेरै जनाको तलब भत्ता दिन मन्त्रालयबाट स्वीकृत भएर अर्थ मन्त्रालयमा फाइल पुगेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

भने, ‘‘मन्त्रालयमा आएको कागजातका आधारमा केहीको तलब भने भेरिफाइकै क्रममा र धेरैको स्वीकृत गरेर अर्थ मन्त्रालय पठाइसकेका छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved