आएनन् खासाका सामान, व्यापारी भन्छन्, “सरकारले पहल नै गरेन”

आएनन् खासाका सामान, व्यापारी भन्छन्, “सरकारले पहल नै गरेन”

काठमाडौं। कृष्ण कुँवर दशैंका ग्राहक फकाउँदै थिए। राजधानी काठमाडौंको व्यापारिक थलो बटुस्थित रेडिमेड होलसेल पसलमा उनले खासा सामानका साथै नेपाली लुगा पनि बेच्दै थिए। उनको व्यस्तता दशैंको आगमन नजिकिएसँगै बढेको थियो।

“उपत्यकाबाहिरबाट यसपालि व्यापारी आएनन्,” १० वर्ष लामो व्यापारिक अनुभव सुनाउँदै कुँवरले विगतका दशैं व्यापारसँग यसपालिको व्यापार तौले, “सायद हामी साना व्यापारी चीन जान नपाएजस्तै भयो होला, उपत्यकाबाहिरका व्यापारीलाई पनि।”

कृष्णको कथन थियो- पहिलेको तुलना गर्दा यसपालि त १० प्रतिशत पनि व्यापार भएन।

खासाका सामान खोज्ने ग्राहकलाई नेपालमै बनेका सामान बेच्न कृष्णले थप मिहिनेत गरिरहेक थिए। आफूजस्ता साना व्यापारी यसपालि झन मर्कामा परेको उनको दुःखेसो थियो।

“दशैंको बेला राम्रो व्यापार हुन्थ्यो। अहिले भएन,” यति भनेर साना व्यापारीलाई मर्का पर्नुका कारण सुनाए। ती कारण थिए– एक, चीनले भिसा नदिनु। दुई, बल्लबल्ल भिसा पाए पनि २१ दिन क्वारेन्टाइनमा बस्नु। तीन, महँगो हुनु। चार, नाका र भन्सारमा अप्ठेरो बढ्नु।

कृष्ण गर्मीका सामान लिन ग्वान्जाओ र जाडोका सामान हाल्न फुजियाना पुग्थे। ग्वान्जाओभन्दा फुजियानामा जाडोका सामान सस्तो पाइने उनले बताए।

“यसपालि त चिनियाँ भाषा जान्ने, चिनियाँ बिहे गरेका र ठूला एजेन्ट हुने व्यापारीले मात्र सामान ल्याए। नेपालका सीमित व्यापारीका मात्र उतैका ठूला एजेन्ट छन्,” कृष्ण भन्दै थिए, “हामीले त दशैंमा पनि व्यापार गर्न पाएनौँ। हामी साना व्यापारी त नेपाली सामानमै भरपरेका छौँ।”

नेपालमै सामान बने पनि कच्चापदार्थ भने चिनियाँ नै थिए। चिनियाँ कच्चा पदार्थमै भरपर्ने भएपछि यसै अप्ठेरो थियो। उनले यतै बनेका कटन पाइन्ट, हुडी, सुरुवाल बेचिरहेका थिए। अहिले त सबै सामान महँगिएका बताए।

“पहिले प्रतिकेजी पाँच डलर थियो भने अहिले आठ पुगेको छ,” कृष्णले भने, “पुरानो र अहिलेको सामानमा त ४०० जति नै अन्तर परेको छ। यति धेरै महँगिएपछि हामीले कसरी बेच्ने ?”

महँगीले पनि यसपालि सामान हाल्न नपाएको उनको भनाइ थियो।

“मैले त यसपालि सामान नै हालेको छैन। एकातिर सामान महँगो छ भने अर्कोतिर धेरैका सामान उतै थन्किएका छन्,” कृष्णले भने। एकातिर चिनियाँ सामान महँगियो भने अर्कोतिर सामान आउने क्रम पनि एकदमै धिमा भएको थियो।

नेपाल हिमालय सीमापार वाणिज्य संघ अध्यक्ष बच्चु पौडेलले भने, “दुई नाका (रसुवागढी र तातोपानी) बाट अहिले दिनको आठ/१० वटा गाडी छाडेको छ। यसले के पार लाग्ला ? पहिले दशैंको छेकोमा त डेढ/दुई सयजति गाडी आउँथे। केरुङदेखि मितेरी पुलसम्म करिब २५-२६ किलोमिटर होला। त्यो दूरीमा नेपाली डेढ गाडीजति लोड हुने सामानको अहिले भाडा मात्र आठ लाख पर्ने भयो। पहिले एक-डेढ लाख थियो। महँगो भयो नि। अहिले दशैंको चाप पनि भयो।”

केपी ओली प्रधानमन्त्री हुँदा सुनाएको चीनबाट सामान आउने र रेलको किस्सा कृष्णले आफूले पनि सुनेको भन्दै दोहोर्‍याए। केपी ओली सरकार ढलेपछि बनेका पुष्पकमल दाहाल, शेरबहादुर देउवा र चुनावपछि फेरि उनै ओली आएको घटना पनि उनले सुनाए। “खै सरकारले नै पहल गरेको देखिएन,” कृष्णको कथन थियो।

सरकार के गर्छ

सरकार फेरिनेबित्तिकै आफ्ना दुःखेसो पोख्ने एउटा चलनजस्तै चलेको थियो। परराष्ट्र र वाणिज्यमन्त्रीलाई आफ्ना दुःख बिसाउने चलन नै चल्यो। तर २० मा १९ पनि भएन।

“हामीले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अस्ति भेटेर उहाँलाई पनि ध्यानाकर्षण गरायौँ। दुवै नाका सहज गराइदिनु पर्‍यो भन्यौँ। उहाँले ‘हुन्छ पहल गर्छु’ भन्नुभयो। परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि भेटेर हाम्रा कुरा राख्यौँ। यसअघि पनि बारबार परराष्ट्रֿ र वाणिज्यमन्त्रीलाई भेटेर भनेकै हो,” पौडेल भन्दैथिए, “सरकारको त चीन प्राथमिकतामा नपरेको हो कि भन्ने देखिन्छ।” दिक्क हुँदै पौडेलले दुखेसोसमेत पोखे, “कुरा गरेको त हो। तर परिणाम आउने कहिले हो कहिले। हामीले भन्ने त राज्यलाई नै हो। राज्यलाई नभनी भन्न कहाँ जाने त ? हाम्रो बुझाइमा त राज्यले नै पहल गरेन भन्ने हो। राज्यले कूटनीतिक पहल गरेको पाइएन।”

भएको के हो ?

२०७२ को भूकम्पपछि चीनतिरका नाका राम्ररी सुचारु नै भएनन्। त्यसैबीच कोभिड- १९ को महामारीले खायो। बचेका दुई नाका रसुवागढी र तातोपानी छन्।

भारतले २०४६ सालमा नेपालमा नाकाबन्दी गर्‍यो। त्यसबेला चीन विकल्प हुन सक्छ भनेर थोरबहुत व्याख्या गरियो। छलफल चल्यो। नेपालमा पछिल्लो संविधान जारी भएपछि भारतले फेरि नाकाबन्द गर्‍यो। फेरि उही कुरा उठ्यो, “भारतमामात्र पूरै निर्भर हुन हुन्न। यस्तै अप्ठेरो पर्छ। त्यसैले चीनबाट पनि पहल गर्नुपर्छ।” चीनसँग यातायात, सप्लाई, रेलको सपनालगायत रंगीबिरंगी छलफल बहस भए। नेपालका नेताहरूले पनि भने, “भारतले नाका बन्द गरे चीन छ।” पछिल्लोपालि भारतले दायाँबायाँ गरे चीनबाट भरथेग गर्न सकिन्छ भनेको पनि चार-पाँच वर्ष बिते। तर, भएका नाकाबाट अहिले त पहिलेजति पनि सामान आउन छाड्यो।

कोरोनाको जत्रो महामारी भए पनि चीनले संसारभर व्यापार गरेकै छ। तर सीमा जोडिएको नेपालमा किन यस्तो भयो ? सुरुङमार्ग, रेलमार्ग र बीआरआइका कुरा आएसँगै किन पहिले आइरहेका सामान पनि आएका छैनन् ? भएको खास के हो ?

नेपालको अर्थराजनीतिविज्ञ हरि रोकाले यसलाई नेपालको राजनीति, नेपालको नीति र कुल मिलाएर नेपालको कूटनीति ‘फेल’ भएको परिणाम भने।

‘हाम्रो त कूटनीति नै फेल भएको हो। नजानिदो ढंगले चीनसितको सम्बन्ध बिग्रिएको परिणाम हो यो,” रोकाले भने। यसका पछाडि नेपाल सरकारको नेतृत्वले गरेका विभिन्न घटनावली पनि सुनाए।

उनका अनुसार भारतले धोका दिएको भन्दै चीनबाट आपूर्ति सहज गराउन केपी ओली सरकारले चीनलाई आग्रह गर्‍यो। “ओलीले आग्रह गरेपछि ‘सीमा पुग्न बाटो अप्ठेरो हुनुका साथै ५०० किलोमिटर परमात्र रेल पुग्छ। यसका लागि इन्फास्क्टक्चर डेभलप गर्नपर्छ’ भनेर चीनले व्यावहारिक कुरा राख्यो,” रोकाले भने। अत्यावश्यकीय सामान १५ प्रतिशतमात्र चीनबाट आए पनि भरथेग हुन्थ्यो। त्यसका लागि पनि चीनले बीआरआई आवश्यक भएको, भरसक नाकाको बाटो चार लेनको बनाउन आग्रह गरेको थियो। जुन बाटोमा तेल र ग्यासको बुलेट गुड्न सकोस्। रोकाका अनुसार १५ प्रतिशत तेल, ग्यासजस्ता अत्यावश्यकीय सामान आए पनि तीन-चार महिना धान्ने र चीनसँग व्यापारको विविधीकरण गर्ने टुंगो लागेको थियो।

ओलीले चीन भ्रमण पनि गरे। बाटोले दुई देशलाई जोड्ने कुरा चल्यो। रेलका कुरा पनि चले।

“त्यसबेला गर्ने भनेको काम ओली सरकारले गरेन। सरकार सुत्यो,” रोका कथन थियो। एमाले ओली सरकार ढल्यो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी नेतृत्व सरकार बन्यो। नेपाली कांग्रेस नेतृत्वको शेरबहादुर देउवा सरकार बन्यो। संविधानपछिको पहिलो चुनाव भयो। र, चुनावपछि फेरि ओली सरकार बन्यो। त्यसबीचमा नेपाल बीआरआईको सदस्य पनि भयो।

“चीनबाट सामान ल्याउने कामलाई सहज बनाउन कुनै पनि सरकारले पहल गरेनन्। “तिमीहरुले नै काम नगर्ने भए किन भारतसितको सम्बन्ध बिगार्ने ? ठूलो व्यापार त भारतसित नै छ”, भनेर चीनले लत्तो छाड्यो,” रोकाले भने।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved