नयाँ दलको कसरतमा हृदयेश र प्रभु

नयाँ दलको कसरतमा हृदयेश र प्रभु

काठमाडौं। गत निर्वाचनदेखि नै स्वतन्त्र समूहको नाउँमा राजनीति गर्दै आएका तराई मधेशका पुराना नेता हृदयेश त्रिपाठी र एमालेको विधान महाधिवेशन बहिष्कार गरेका नेता प्रभु साह मिलेर नयाँ दल दर्ताको अन्तिम तयारी गरेका छन्।

त्रिपाठी ओली नेतृत्वको सरकारमा स्थानीय विकास र स्वास्थ्य मन्त्रीसमेत भएका थिए। गत निर्वाचनमा उनले तत्कालीन एमाले र माओवादी गठबन्धनसँग सहकार्य गरेर चुनावमा भाग लिएमा थिए। सद्भावना पार्टीबाट लामो समय राजनीति गरेका त्रिपाठी पनि कम्युनिष्ट विधारधाराबाट प्रभावित नेतामा पर्छन्। साह पनि माओवादी जनयुद्धमा भूमिगत रहेर कम्युनिष्ट राजनीति गरेका नेता हुन्।

तत्कालीन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरू एकीकृत भई राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि त्यसबाट टाढिएका त्रिपाठी त्यसपछि तत्कालीन नेकपामा जाने चर्चा थियो। तर उनी गएनन्। सहकार्य गरेर केपी ओली सरकारमा सहभागी भने भएका थिए। सरकारमा सहभागी हुँदादेखि नै नयाँ पार्टी खोल्ने त्रिपाठीको चर्चा भए पनि त्यो हुन सकेको थिएन।

त्रिपाठी नजिकका नेता ईश्वर दयाल मिश्राले अब पार्टी दर्ताको काम चाँडै हुने दाबी गरे। केही समयअघि नेपालगन्जमा आफ्नो समूहका बैठकसमेत गरेका त्रिपाठीले अघिल्लो हप्ता मात्रै काठमाडौंमा प्रभु साहसँग नयाँ पार्टी गठन गर्नेबारे छलफल गरेका छन्।

“छलफलहरू चलेको छ”, त्रिपाठी निकट नेता मिश्रले नेपालभ्यूजसँग भने, “हामी चाँडै नै नयाँ पार्टी गठनको गर्ने पक्षमा छौं, सम्भावतः दशैं तिहारको बीचमा पनि यो हुन सक्छ।”

मिश्रले आफ्नो समूहले खोल्न लागेको पार्टी सम्बन्धमा साहसँगै जसपाका पनि केही नेताहरूसँग कुराकानी भएको दाबी गरे। “म अहिले नै ठोस रूपमा केही भन्न सक्दिनँ”, उनले भने, “ तर साहसहित अन्य केही कहलिएका नेताहरूसँग संवाद चलिरहेको छ।”

सद्भावना पार्टी परित्याग गरी त्रिपाठी ०६४ सालमा महन्थ ठाकुरले गठन गरेको तराई-मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए। तत्कालीन तमलोपाका उनी वरिष्ठ उपाध्यक्ष थिए। तमलोपा मधेशी मोर्चामा आबद्ध दलहरूसँग एकीकरण गरे राजपा बनाएपछि उनले आफूभन्दा कनिष्ठ नेतामातहत काम गर्न नसकिने भन्दै राजपा परित्याग गरेका थिए।

यता भूमिगत कालदेखि माओवादी पृष्ठभूमिका नेता साह भने भने नेकपा पुनः पुरानै स्वरूपमा फर्किँदा एमालेमा छन्। एमालेमा रहँदा नै आइटी आर्मी गठन गरेका साह पछिलो समयमा एमाले अध्यक्ष केपी ओलीसँग असन्तुष्ट छन्। एमाले जारी विधान महाधिवेशनमा भाग लिन ओलीले गरेको आग्रह उनले अस्वीकार गरेका थिए। गत १४ असोजमा भने साहले ओलीसँग बालकोटमा भेटघाट भने गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved