अहिले वाईसीएल आतंक छैन, ओली आतंक छ : प्रचण्ड

गाउँपालिकाको अध्यक्ष बन्न पनि करोडौँ खर्च गर्नुपर्ने अवस्था अहिले रहेको बताउँदै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए।

नेपालभ्युज

अहिले वाईसीएल आतंक छैन, ओली आतंक छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौँ। नेकपा माओ‌वादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुमाउरो ढंगले माओवादी र वाईसीएलको गाउँ  गाउँमा आतंक भएको स्वीकारेका छन्।

अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलनमा सम्बोधन गर्दै उनले पहिले प्रतिक्रियावादीहरूमा माओवादी र वाईसीएलको आतंक भएको स्वीकारेका हुन्।

उनले प्रतिक्रियावादी र गणतन्त्रविरोधीमा भएको त्यो आतंकले जनतालाई धाडस दिएको बताएका हुन्। जनताले स्वीकारेको आतंक त्यतिबेला माओवादी र वाईसीएलमा भएको उनले बताएका हुन्।

यद्यपि, अहिले गाउँ गाउँमा मा‌‌ओवादी र वाईसीएलको आतंक नभएको र ‘ओली आतंक’ र ‘कमल थापा’ आतंक भएको बताएका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापा गणतन्त्रविरोधी भएको बताउँदै उनले अहिले गाउँ गाउँमा त्यही आतंक भएको बताए।

यसैगरी उनले अब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनले बताएका छन्। निर्वाचन खर्चिलो भएको बताउँदै उनले पुँजीपतिको सहयोगबिना विचारले जित्न सक्ने अवस्था नरहेको बताए।

गाउँपालिकाको अध्यक्ष बन्न पनि करोडौँ खर्च गर्नुपर्ने अवस्था अहिले रहेको बताउँदै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए। ‘‘६४ मा हामीले पैसा खर्चै नगरी चुनाव जितेका थियौँ तर अब पैसा खर्च गरेपनि जित्ने अवस्था छैन,’’  उनले भने, ‘‘चुनाव लड्न दलाल पुँजीपतिसँग पैसा मागेर जित्नुपर्ने अवस्था छ।’’ त्यसैले पैसामा बिक्ने निर्वाचनको सट्टा समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनले बताए।

यसैगरी, उनले विगत १० वर्षयता क्रान्तिकारीहरू स्खलित हुँदै गएको बताएका छन्। अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलनमा सम्बोधन गर्दै उनले विस्तारै थाहै नपाइकन जुन आफूले लडेकै प्रवृत्ति क्रान्तिकारीहरूमा हाबी हुँदै गएको बताए।

परिवर्तनका लागि लडेकाहरू नै जो जति पटक मन्त्री भयो त्यति नै पतन हुँदै गएको उनको भनाइ थियो। ‘‘पद,पैसा र कमिसनका लागि हामी दलाल पूँजीपतिसँग बढी संवेदनशील भयौँ,’’ उनले भने, ‘‘विगत १० वर्षयता जनतासँग सम्बन्धिवच्छेद गरेर दलालसँग एकाकार हुँदै गयौँ।’’

परिवर्तनका लागि लड्न र मर्न रुने योद्धाहरू पद, पैसा र मन्त्री बन्नका लागि रुन थालेको उनको भनाइ थियो। क्रान्तिकारी विरासत विस्तारै गुमाउँदै गएको बताउँदै उनले नयाँ रुपान्तरणका लागि अझैँ सम्भावना भएको उनले बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा संस्थागत उपलब्धी उल्टाउने षड्यन्त्र गरेको बताउँदै उनले फेरि लडाइँ गर्ने कि आत्मसमर्पण गर्ने सवाल उत्पन्न भएपछि वा आत्महत्या नै गर्नुपर्ने अवस्था आएपछि विद्राेह गरेको बताए। कार्यकर्ता बिग्रिएको नभई नेताहरू बिग्रिएको स्वीकार्दै उनले अवसरवादी हुनबाट जोगिन विद्रोह गरेको उनले बताए। जोखिम उठाएर जेल जानुपर्छ भनेपनि जाने भनेर विद्रोह गरेको उनले बताए। ओलीले अबौँ भ्रष्टाचार गरेको आरोप लगाउँदै उनले त्यसो गर्न हुन्न भनेर सदनभित्रबाट विद्रोह गरेको उनले बताए।

यसैगरी पार्टीमा २० प्रतिशत युवालाई अनिवार्य गर्ने निर्णय भएको बताउँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उनले बताए। नयाँ पुस्ता नेतृत्वका लागि तयार भएको बताउँदै उनले धेरैलाई नेताका लागि केन्द्रिय कमिटीमा प्रस्ताव गर्ने आश्वासन उनले विद्यार्थी नेतालाई दिए। क्रान्ति सफल भएपनि आफूहरू बिग्रिएको बताउँदै उनले सच्चिएर नयाँ आन्दोलनका लागि तयार हुनुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved