बुद्ध एयर ल्याण्डिङ प्रकरण

बुद्धकाे जहाजमा के भएकाे हाे? किन दोहोरिइरहन्छ?

छानबिन समिति बन्छ, तर सार्वजनिक हुँदैन प्रतिवेदन

सोमबारको घटना पहिलो समस्या भने थिएन। पछिल्लो समय बुद्ध एयरका धेरै विमानहरूमा प्राविधिक समस्या आइरहेका घटना सार्वजनिक भएका छन्। ठीक दुई महिनाअघि ११ साउनमा पनि झन्डै उस्तै समस्या आएको थियो।

बुद्धकाे जहाजमा के भएकाे हाे? किन दोहोरिइरहन्छ?
फाइल तस्वीर

काठमाडौं। सोमबार बिहान पौने आठ बजे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेटिङ रुममा दर्जनौँ यात्रु जहाजको पर्खाइमा थिए। सबै यात्रु सामाजिक दूरी कायम गरेर बसिरहेका थिए। गन्तव्यमा पुग्न आतुर थिए। कोही लगेज गुडाइरहेका थिए। कोही सँगैको क्याफेमा कफी पिउँदै थिए। कोही चुपचाप बसेर ‘रन वे’ जान प्रतीक्षा गरिरहेका थिए।

फ्लाइट इन्फरमेसन डिस्प्ले सिस्टम (एफआइडिएस)को स्क्रिनमा हवाई उडान तालिका डिस्प्ले भइरहेको थियो। भीडभाडको बीचमा निरन्तर महिलाको आवाजमा माइकिङ सुनिन्थ्यो। एकैछिनमा एनाउन्स भयो, ‘बुद्ध एयर एनाउन्सेस डिपार्चर नाइन एन-एएनआई फ्लाइट नम्बर सेभेन जिरो वान टू विराटनगर।’

बिरानगर जान पर्खाइमा रहेका यात्रुहरू टिकट देखाउँदै रन वे जाने ढोका भित्र पसे। प्रवेशद्वार अगाडि पुगेपछि गाडीमा चढ्न संकेत गरियो। सबै जना यात्रु चढे। एकैछिनमा भ्यान जहाज नजिक पुग्यो। फेससिल्ड लगाएका यात्रुहरू जहाजभित्र प्रवेश गरे। जहाजको ककपिट कमान्ड सम्हाल्दै थिए क्याप्टेन आङ् गेलु शेर्पा। त्यति बेला साँढे ८ बजेको थियो।

विमान टेक ओभरपछि बिस्तारै उचाइ लियो। बिहानको मौसम भएकाले खुलेका हिमाल र काठमाडौं उपत्यका प्रष्ट देखिन्थ्यो।

सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको कलसाइन ७०१ को जहाजको दृश्य थ्यो त्यो। बुद्ध एयरका अनुभवी एवं सिनियर पाइलट हुन्  क्याप्टेन  शेर्पा। उनले एकैछिनमा विमान टेक ओभर गरे। जहाज १ हजार तीन फिट माथि उड्दै थियो। आधा घण्टाको उडानपछि विमान  विराटनगरको आकाशमा पुग्यो। क्याप्टेन  शेर्पाले विमानको उचाइ घटाउँदै लगे।

जहाजको विमानको ल्यान्डिङ बटम (टायर तल झार्न) थिचे। तर गेयर खुलेन। फेरि प्रयास गरे। तर ल्यान्डिङ गेयर खुलेन (टायर तल झरेन )। सुरक्षामा शून्य सहनशीलता’ अनुसार क्याप्टेन शेर्पाले जहाज तुरुन्तै काठमाडौँमा फर्काउने निर्णय लिए। शेर्पाले विमानको पुनः उचाइ बढाए। ल्यान्डिङ हुन लागेको विमानले फेरि उचाइ लिएपछि यात्रुहरू एक्कासी आँत्तिए।

ओर्लिनै लागेको जहाजले एक्कासी उचाइ बढाउँदै गएपछि अत्तालिएका यात्रुहरू खासखुस गर्न लागे। चालक दलले विश्वस्त बनाउँदै धैर्यता राख्न अनुरोध गरे। जहाजमा ७३ जना यात्रु थिए।

ल्यान्डिङ गेयरमा समस्या देखिएको भन्दै शेर्पाले जहाजबारे काठमाडौं विमानस्थललाई खबर गरे। काठमाडौँबाट पनि ‘यतैतर्फ डाइभर्ट गर्न भनियो।’ विराटनगरभन्दा सम्भावित फोर्स ल्यान्डिङका लागि काठमाडौँ सुरक्षित भएकोले शेर्पाले जहाजलाई काठमाडौँतर्फ डाइभर्ट गर्ने भन्दै अनुमति मागेका थिए।

फर्किएको विमान त्रिभुवन विमानस्थल नजिक आइपुग्यो। विमानलाई फोर्स ल्यान्ड गराउनुपर्ने थियो। सुरक्षा प्रोटोकल अनुसार फोर्स ल्यान्ड गराउनु पूर्व जहाजमा रहेको इन्धन सकाउनुपर्छ। फोर्स ल्यान्ड जोखिमपूर्ण भएकाले इन्धनका कारण आगलागीलगायतका घटना नहोस् भनेर यस्तो गरिन्छ। क्याप्टेन शेर्पाले काठमाडौँको आकाशमा २ घण्टासम्म विमान घुमाए।

त्यति बेलासम्म यात्रुबीच जहाजभित्रै रुवाबासी चलिरहेको थियो। धेरैले बच्ने आश मारेको थिए। भगवान पुर्कादै थिए। तल विमानस्थलमा रनवेमा हेर्दा दमकल, एम्बुलेन्स, पुलिस  तैनाथ देखिन्थे। काठमाडौं विमानस्थलमा फायर भेहिकल तथा एम्बुलेन्सहरू समेत हाइ अलर्ट अवस्थामा राखिसकिएको थियो। पछि बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर चेकजाँच गरे। यता र त्यति बेलासम्म ल्यान्डिङ गियर सही र झरेको जानकारी दिइयो। क्याप्टेन शर्मालाई ल्यान्डको लागि अनुमति दिइयो।

त्यतिन्जेलसम्म विमानस्थलमा आवश्यक पूर्वतयारी भइसकेको थियो। हवाई उद्धारकर्मीको टोली, एम्बुलेन्स दमकललगायत तयारी अवस्थामा धावनमार्ग नजिक थिए। २ घन्टा घुमेको जहाजलाई क्याप्टेन शेर्पाले कोटेश्वर साइडबाट विमानस्थलमा अवतरण गराए। अवतरण सफल भयो। धन्न जहाज दुर्घटनाबाट जोगियो।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौँमा सुरक्षित अवतरण गराएका थिए। विगत लामो समयदेखि बुद्ध एयरका विमान चलाउँदै आएका थिए शेर्पा। उनकै लामो अनुभव तथा कुशलताले कुनै अप्रिय घटना हुन पाएन। झन्डै दुई घण्टासम्म आकाशमा घुम्दा आत्तिएका यात्रुहरूले शान्तिको श्वास फेरे।

सोमबार काठमाडौँबाट उडेको बुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्किएको घटना हो यो। जहाज त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेकाे थिएन।

किन बारम्बार दोहोरिन्छ उस्तै घटना ?

४ दशकभन्दा लामो समय हवाई सेवा दिँदै आएको नाम हो बुद्ध एयर। उसको उडान धेरै यात्रुले भरपर्दाे र विश्वासिलो मान्छन्। तर पछिल्ला समयमा भने सोमबारका जस्ता केही घटना लगातार देखिरहँदा उसको विश्वसनीयतामाथि यात्रुहरूले प्रश्न उठाएका छन्।

किनकि सोमबारको घटना पहिलो समस्या भने थिएन। पछिल्लो समय बुद्ध एयरका धेरै विमानहरूमा प्राविधिक समस्या आइरहेका घटना सार्वजनिक भएका छन्। ठीक दुई महिनाअघि ११ साउनमा पनि झन्डै उस्तै समस्या आएको थियो।

काठमाडौं-धनगढीका लागि उडेको कलसाइन बीएचए २५५ नम्बर उडानको एटीआर ७२ जहाज गन्तव्यमा पुग्नै लाग्दा अवतरणको अनुमति एयर ट्राफिकसँग मागिसकेको थियो।

क्याप्टेनले ल्यान्डको तयारी थाले। तर ल्यान्डिङ गेअर (पाङ्ग्रा) खुलेन। चालकले विमानको पुनः उचाइ बढाए। जहाजमा ६९ जना यात्रु सवार थिए। विमान काठमाडौंतर्फ मोडियो। धन्न काठमाडौं फर्कँदा बाटोमै ल्यान्डिङ गेअर समस्या समाधान भयो।  साँझ ६ः ३० बजे जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोर्स ल्यान्ड गरियो।

सोही दिनै नै बुद्ध एयरकै अर्काे जहाज पनि बीच बाटोबाटै फर्कियो। जहाज नेपालगन्ज उडेको थियो। खराबी उस्तै आयो, हाईड्रोलिक समस्या। जहाज काठमाडौं फर्काइयो। आकस्मिक अवतरण गराइयो। अवतरणपछि बुद्ध एयरको जहाज पुराना भएका र आफूहरूले जीउ ज्यानकै जोखिम मोल्नुपरेको भन्दै यात्रुहरू आक्रोशित भए। बुद्ध एयरले भने चलाखीपूर्ण उपाय अपनायो। जहाजका केही यात्रुकै कारण काठमाडौँ फर्काउनुपरेको भन्दै उसले  विज्ञप्ति निकाल्यो।

सोमबार विराटनगर उडेको प्लेनमा समस्या आउनुअघि अर्काे खतरा टरिसकेको थियो।  पोखराका लागि उडेको जहाजमा खराबी देखियो। बिहान ७ बजे काठमाडौँबाट उडेको थियो। गोरखाको मनकामनामाथि पुग्दा इन्डिकेटरमा खराबी देखियो। गन्तव्यमा पुग्न केही मिनेट मात्र बाँकी थियो। काठमाडौँबाट उडेको १५ मिनेट भएको थियो। समस्या देखिएपछि चालकहरूले विमान पोखरा अघि बढाउन सकेनन्। काठमाडौं विमानस्थलमा तुरुन्त जानकारी गराए। यअर ट्राफिकले काठमाडौँ फर्कन आग्रह गरे। विमान काठमाडौं फर्कियो। आकस्मिक अवतरण गराइयो। यात्रुलाई अर्का विमानमार्फत पोखरा पुर्‍याइयो।

छानबिन समिति बन्छ, तर सार्वजनिक हुँदैन प्रतिवेदन

पछिल्लो समयमा बुद्ध एयरको जहाजले पटक-पटक आकस्मिक अवतरण र फोर्स ल्यान्डिङ गरिरहेको छ।  उसले यस प्रकारको घटनाको छानबिनका लागि समिति पनि बनाएको छ। समितिले अनुसन्धान गरेको छ।

रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ। त्यस्तै प्राधिकरणले छुट्टै छानबिन पनि गरेको छ। तर छानबिनकाे प्रतिवेदन भने सधैँ गुपचुपमा राख्ने गरिएको छ। के कसरी दुर्घटनाको मुखमा पुगेर जोगियो भन्ने सत्य तथ्य सार्वजनिक भएन। जस कारण कमजोरी सुधार नहुँन नसक्दा यस्ता घटना दोहोरिइरहेका हवाई विज्ञहरूको भनाइ छ।

के भन्छन् सुरक्षा विज्ञ

उड्डयन सुरक्षा विभाग, फ्लाइट अपरेसन निरीक्षक दधिराम निरौला भने यस्तो समस्या आउनु लापरबाहीले नभई प्राविधिक समस्या भएको बताउँछन्। उनी भन्छन् ‘ जहाजमा ल्यान्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ। जसअनुसार प्राइमरी इन्डिकेटरमा संकेत देखिन्छ। तर सेकेण्डरी इण्डिकेटरमा सबै ठीकठाक थियो। सेकेण्डरी इण्डिकेटर ठीक भए पनि जहाज अवतरण गराउन सकिन्थ्यो तर पाइलटले त्यो जोखिम उठाएनन्।’

उड्डयन सुरक्षा विभागले विमानको सुरक्षा परीक्षण, आईकाओको मापदण्डअनुसार विमानको अवस्था छ वा छैन लगायतका परीक्षण गर्दै आएको छ। ४० वर्ष विमान उडाइसकेका र उड्डयन सुरक्षा विभागमा कार्यरत निरौला यस घटनालाई आकस्मिक सम्भावित दुर्घटनाको संज्ञा दिन्छन्।

कसरी भयो भन्ने अध्ययनपछि मात्रै थाहा हुने

सुरक्षा विज्ञ निरौला घटनाकाे विषयमा भन्छन्,

मैले बुद्ध एयरको विज्ञप्ति पढे।  इन्डिकेसनमा समस्या देखिएको भनिएको रहेछ। विमानले टेकओभर भएपछि टायर लुकाइन्छ। लोड बढाउने तथा अरू विविध कारणले टायरमाथि लैजानै पर्ने अनिवार्य हुन्छ। र विमान ल्यान्ड गर्ने समयमा टायर तल झार्नुपर्ने हुन्छ। विमान अवतरण गर्ने बेला भएपछि उचाइ घटाइन्छ। तर टायर तल झार्ने बटम थिचिन्छ। बटम थिचेपछि एक्कासि टायर तल झर्ने भन्ने हुँदैन। ३० मिनेटदेखि एक मिनेटसम्म लाग्न सक्छ। यसरी टायर तल झरेन झरेको भन्ने संकेत दिने ईन्डिकेटर हुन्छ। बुद्ध एयरको आजको घटनामा चालकले टायर ताल झार्न बटम दबाए। तर, इन्डिकेटरले टायर झरेको संकेत दिएन। यदि यो अवस्था आयो भने के गर्ने भनेर वैकल्पिक उपाय पनि दिइएको हुन्छ। तर चालकले डुप्लिकेन उपाय अपनाउने जोखिम मोलेनन्। विराटनगरभन्दा काठमाडौंमा उच्च सुरक्षा भएकाले काठमाडौं नै ल्याएका होलान्।

दधिराम निरौला, फ्लाइट अपरेसन निरीक्षक, उड्डयन सुरक्षा विभाग

बुद्धको विमानमा पटक पटक किन यस्तो भयो भन्ने विषयमा चाही ठ्याक्कै भन्न सकिन्न। किनकि कहिले काँकी नयाँ विमानमा पनि यस्तो हुन सक्छ। पुराना र धेरै पुराना विमानमा पनि यस्ता समस्या आउँछ। यो मेसिनरी प्राविधिक समस्या भएकाले विमान पुरानो भएकै कारण यस्तो समस्या दोहोरियो भनेर म भन्न सक्दिन। के कारणले जहाजको टायर तल झरेन भन्ने विषयमा अध्ययन गर्न हामीले समिति गठन गर्छौ। चालक लगायतसँग जानकारी लिन्छौँ। विमानको अवस्थाको बारेमा अध्ययन गर्छौ। त्यसपछि मात्रै के कारण भयो भन्ने जानकारी आउला। यो समस्याको कारण अहिल्यै भन्न सकिन्न। अनुसन्धानपछि अर्थात् दुई चार दिनपछि मात्रै भन्न सकिन्छ।

बुद्ध एयरकै अर्का सोमबार बिहान  पोखरा नपुगी बाटैबाट फर्कियो। त्यहाँ भने पछाडि कार्गोमा (स्मोक वार्निङ)धुवा आएको संकेत देखिएकाले काठमाडौं अवतरण गरिएको हो। यो हवाई नियमअनुसार गरिएको छ। म भएको भए पनि त्यसै गर्ने थिए। विमानभित्र धेरै तारहरू जेलिएको हुन्छ। सायद कहीँ कतै केही खराब भएको देखिएकाले खतरा छ भन्दै संकेत गरेको हो। थप समस्या नबझियोस भनेर चालकले काठमाडौं फर्काउनुपरेको हो।

बुद्धको दाबी – सुरक्षा निर्देशिका पालना भएको छ

बुद्ध एयरले एटीआर कम्पनीका जहाज प्रयोग गर्दै आएको छ। विमानस्थल परिसरमै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ। त्यसैले सुरक्षामा लापरवाही नगरिएको कम्पनीको दाबी छ। सोमबारको घटनापछि भने सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौँको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरी सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले भनेको छ ‘जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गेयर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निर्णय गरे। सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गरेको छ।’

सोमबारको घटनाबारे छानबिन समिति गठन हुँदै

घटनाको छानबिन गर्न तीन सदस्यीय टोली गठन हुने भएको छ। समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ।

 

राजकुमार क्षेत्री, महानिर्देशक, नागरिक उड्डयन प्राधिकरण

‘‘घटना के कसरी भयो, सबै विषय सत्यतथ्य छानबिन गर्न समिति गठन गरिने छ। विमानको प्राविधिक जाँच समेत गरिने छ। समितिले केही दिनमै प्रतिवेदन दिने छ। समस्या कसरी भयो भन्ने पहिचान गर्न र पछिल्ला दिनमा यस्ता समस्या आउन नदिन पूर्व सावधानी अपनाइनेछ र जहाजको प्राविधिक जाँच र परीक्षण उडानपछि नियमित उडान गरिन्छ’’, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved