ईपीयल

चितवनलाई मुश्किलको जित, पोखरा पानीले बच्यो

सजिलै जित्नुपर्ने खेलको अन्तिम ओभरमा चितवनलाई दुई रन मात्रै चाहिएको थियो, तर खेल अन्तिम बल सम्म पुग्यो।

नेपालभ्युज

चितवनलाई मुश्किलको जित, पोखरा पानीले बच्यो

काठमाडौं। निकै रोमाञ्चक खेलमा अन्तिम बलमा लक्ष्य पूरा गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीयल) मा चितवन टाईगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको छ। आइतबार टियू खेल मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरको १५२ रनको लक्ष्य चितवनले अन्तिम बलमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो।

१५२ रनको मध्यम लक्ष्य पछ्याएको चितवनको ओपनरमा थिए अफगानिस्तानका स्टार ब्याट्सम्यान मोहमद सहेजाद। तर उनको आक्रामक ब्याटिङ हेर्न नपाइकनै सहेजाद एक रनमै आउट भए। दोस्रो ओभरमा नै प्रतिस जिसीले उनलाई आउट गरे।

तेस्रो ओभरमा सिकन्दर राजाले अर्का ओपनर इशान पाण्डेलाई पनि एलबीडब्लू धरापमा पारेपछि चितवनको शुरुआत राम्रो हुन सकेन। २३ रनमा दोस्रो विकेट गुमाएको चितवनका कुनैपनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेनन्।

भीम सार्की बिष्फोटक ब्याटिङ गर्दै मात्र ११ बलमा पाँच चौकाको मद्दतले ३० रन जोडेपनि लामो पारि खेल्न सकेनन्। विराटनगरका कप्तान करण केसीले उनलाई आउट गर्दा दिलीपनाथ पनि २३ रनमा सिकन्दर राजाको बलमा आउट भए।

नऔं ओभरसम्म ७९ रनमा चितवनले चार विकेट गुमाइसकेको थियो। त्यसपछि ब्याटिङमा देखिएका राजेश पुलामी मगर टिकेर खेलेर चितवनको जित सुनिश्चित गरे।

अविजित रहेका राजेशले ३९ बलमा २ चौका २ छक्काको मद्दतले ४३ रनको योगदान गरे।

सजिलै जित्नुपर्ने खेलको अन्तिम ओभरमा चितवनलाई दुई रन मात्रै चाहिएको थियो, तर खेल अन्तिम बल सम्म पुग्यो। विराटनगरका बलर अनिल खरेलले अन्तिम ओभरको शुरुआती पाँच बलमा मात्र एक रन दिएर खेललाई रोमाञ्चक मोडमा पुर्‍याएका थिए। अन्तिम बलमा उनले एक रन नदिएको भए खेल बराबरीमा सकिएर सुपर ओभरमा जान्थ्यो। तर अन्तिम बलमा चौका हान्दै राजेशले चितवनको जित पक्का गरे।

सन् २०१७ को ईपीयल विजेता विराटनगर वारियर्सलाई हराएपछि चितवन टायगर्सका कप्तान सोमपाल कामीले भने,“पहिलो खेलमा विदेशी खेलाडीले सोचेजस्तो राम्रो खेल्न सकेनन्, तर घरेलु युवा खेलाडीले राम्रो प्रदर्शन गरेकाले हामीले खेल जित्यौं।”

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउदै १५१ रन जोडेको थियो। सुरआत भने विराटनगरले पनि निकै खराब गर्‍यो। चितवनका कप्तान सोमपाल कामीको बलिङमा पहिलो ओभरमै विराटनगरले दुई विकेट गुमाएको थियो।

विराटनगरका ओपनर आसिफ शेख गोल्डेन डकआउट भए। आफ्नो पहिलो बलमा शेखले बिग सट खेल्न जाँदा अफगानिस्तानका करिम जन्नतले क्याच लिए। शेख नेपालको राष्ट्रिय टिमका पनि ओपनर हुन्। अघिल्लो दिन राष्ट्रिय टिमका अर्का ओपनर कुशल भुर्तेल पनि गोल्डेन डकआउट भएका थिए।

यसपछि पहिलो ओभरको अन्तिम बलमा सोमपालले क्यानेडियन ब्याट्सम्यान रायन पठानलाई पनि बोल्डआउट गरे। दोस्रो ओभरमा कमल ऐरीले विराटनगरका अर्का ओपनर वेष्ट ईण्डीजका चन्द्रपौल हेमराजलाई पनि बोल्डआउट गरेपछि विराटनगर शुरुमै दबाबमा आयो। नौ रनमा तिन विकेट गुमाईसकेको विराटनगरको इनिङलाई यसपछि जिम्बाबेका सिकन्दर राजाले र अनिल कुमार शाहले बचाउने प्रयास गरे।

चौँथो विकेटका लागि यी दुईले ६१ रनको साझेदारी गरेका थिए। तर चितवनका सागर ढकालले एघारौँ ओभरमा लगातार दुई विकेट लिएपछि जोगिन खोजेको विराटनगरको इनिङ पुन संकटमा पर्‍यो। सागरले अनिललाई ३२ रनमा आउट गर्दा सुमित महर्जन पनि पहिलो बल मै पेभुलियन फर्किए।

लगतै अर्को ओभरमा कप्तान करण केसीलाई सहब आलमले मात्र एक रनमा विकेट किप्परद्धारा क्याचआउट गरे, यतिन्जेल कुल ७३ रनमा विराटनगरले ६ विकेट गुमाइसकेको थियो।

एकातर्फ विकेट लगातार खसिरहँदा अर्कोतर्फ जिम्बाबेका स्टार ब्याट्सम्यान सिकन्दर राजा बिष्फोटक ब्याटिङ गर्दै थिए। चितवनका बलरलाई विराटनगरका कुनै खेलाडीले तनाव दिइरहेका थिए भने ती थिए जिम्बाबेका राजा।

लगातार बाउन्ड्री हानिरहेका उनलाई १८औँ ओभरमा कमल ऐरीले आउट गरे। ३७ बलमा अर्धसतक पूरा गरेका जिम्बाबेका राजाले सर्वाधिक ६७ रनको योगदान दिएका थिए। उनले ४७ बलमा सात छक्का र दुई चौक्का प्रहार गरे। त्यसैगरी विराटनगरको लागि सौरभ खनालको १९ बलमा ३० रन जोडेका थिए।

हारको कारणबारे विराटनगर वारियर्सका कप्तान करण केसी भन्छन्,“खेलको शुरुआतमै हाम्रो तीन विकेट गयो, तर पनि सिकन्दर राजाले राम्रो खेलेर राम्रै स्कोर पुगेको थियो, पछि बलिङमा पनि राम्रो शुरुआत भयो तर मिस फिल्डिङ र मिस क्याचिङ धेरै हुनपुग्दा खेल हार्न पुग्यो।”

ईपीयलको आइतबारको दोस्रो खेल भने बर्षाको कारण रद्द हुँदा लिगमा भैरहवा ग्लाडियर्टस र पोखरा राइनोजले एक-एक अंक बाँडेका छन्।

बर्षाले खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ११औँ ओभरमा मात्र ६५ रन जोड्ने क्रममा सात विकेट गुमाइसकेको थियो। भैरहवाको बलिङसामु निकै निरीह देखिएको पोखराका दक्षिण अफ्रिकी ओपनर रिचार्ड लेभीडक आउट हुँदा अर्का ओपनर सुनिल धमाला एक रनमै पेभोलियन फर्किए। त्यसैगरी विपिन रावल ६ रनमा बाहिरिँदा पोखराका कप्तान विनोद भण्डारी र लोकेश बम दुवै गोल्डेन डकआउट भएका थिए।

जहाँ पाँचौ ओभरको शुरुआतमा मात्र १२ रन जोड्दा पोखराले पाँच विकेट गुमाइसकेको थियो। सुरुआती पाँच विकेटमध्ये तीन विकेट भैरहवाका दुर्गेश गुप्ताले लिएका थिए। दुर्गेशले पोखराका कप्तान विनोद र ओपनर सुनिल दुवैलाई बोल्ड गरेका थिए।

यसपछि श्रीलंकाका असेला गुनरत्न केही सम्हालिएर पारि खेल्दै खेलमा फर्कने आशा देखाएका थिए। तर आठौँ ओभरमा उनी २३ रनमा रनआउट भएका थिए। केशरिक विलियम्स पनि डकआउट हुँदा पोखराले नऔं ओभरमा ५७ रन जोड्दा सात विकेट गुमाएको थियो। यसपछि विवेक यादव १६ र विक्रम सोब सात रनमा खेलिरहँदा बर्षाको कारण खेल रद्द भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved