बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई एमालेले मुद्दा नचलाउने

एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई एमालेले मुद्दा नचलाउने

बुटवल। नेकपा एमालेले बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने अनेरास्ववियूका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ।

बुटवल एमालेले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद् र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा भने एमाले नरहेको प्रष्ट पारेको छ। एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

‘‘घटना जसरी भयो, त्यो गलत छ। तर, यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौँ”, पन्थीले भने। उनले घटना नियोजित रूपमा भएको आशंका रहेको बताए।

नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सिर्जना भएको छ। यसअघि, मेयर सुवेदीमाथिको आक्रमणलाई बुटवल उपमहानगरले नियोजित भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो।

पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पङ्गेनीले मुक्का हानेका थिए। पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन्। ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले २ दर्जन घरमा क्षति पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved