किन कुटिए बुटवलका मेयर ?

स्थानीय गिरीका अनुसार मेयरलाई मुक्का हान्ने युवक पहिरो पीडित हुन् । पहिरोका कारण घरमा पूर्णरुपमा क्षति पुगेपछि ती युवकका ५ जनाको परिवार आफन्तको बस्दै आएको छ । 

किन कुटिए बुटवलका मेयर ?
बुटवल। बुटवलमा आइतबार रातिदेखि अविरल पानी परिरहेपछि चुरेको काखैमुनि रहेको ज्योतिनगरमा सोमबार बिहान १० बजे तीन घर पूर्ण रुपमा पुर्ने गरी पहिरो खस्यो।  पहिरो खसेको थाहा पाएपछि बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी एउटा टोली लिएर ज्योतिनगर पुगे।
उपमहानगरपालिकाको वडा नं ३ मा पर्ने यो बस्तीमा मेयरसँगै उपमेयर गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरू सुमन श्रेष्ठ, योगेश चापागाईँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली नै थियो।
उपमेयर आचार्यका अनुसार रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना आयो। सूचनालगतै उपमहानगर प्रमुख सुवेदी प्राविधिक लिएर प्रमुख प्रभावित क्षेत्रमा गए।
प्रमुख सुवेदीको योजना थियो पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्धारका काममा ढिलाइ र कमी हुन नदिने। त्यहाँ भइरहेका उद्धार तथा पुन स्थापनाको प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्ने सुवेदीको योजना थियो।
योजन मुताबिक प्रमुख सुवेदी प्रभावित क्षेत्रमा पुगे। सुवेदीसहितको टोली क्षतिको अवलोकन गर्दै अघि बढिरहेको थियो। पहिरोले पुरेको कृष्ण आचार्यको घरमा पुगेका थिए। त्यहाँको अवलोकन गर्दै केही जानकारी लिएर प्रमुख सुवेदी अघि बढ्नै लागेको थिए। सुवेदीका अघिपछि नगर प्रहरी थिए। नगरप्रहीको सुरक्षासहित घेरिएर हिँडिरहेका प्रमुख सुवेदीको देब्रेपट्टि पछाडिबाट एक युवा दौडिएर आए। उनको अगाडी आईपुगेलगतै प्रमुख सुवेदीलाई टाउकोमा मुक्का प्रहार गरे। सामाजिक सञ्जालमा ‘भाइरल’ भएको भिडियोमा ती युवाले मुक्का हानेपछि  भागेका देखिन्छन्।
घटनाबारे छानबिन भइरहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले मुक्का हान्ने युवा पक्राउ परिनसकेको जानकारी दिए।

अनी भए स्थानीय आक्रोशित

आइतबार रातिदेखि नै बुटवलमा पानी परिरहेको थियो। बुटवल–३ ज्योतिनगरका स्थानीय पानी पर्दा सधैँ त्रासमा हुन्छन्। उनीहरूमा भय हुन्छ ‘‘अब पहिरो जान्छ।’’
हुन पनि त्यसै भयो। सोमबार बिहानै माथिबाट पहिरो झरिहाल्यो। कम्तीमा ३ घर पुर्णरुपले पुरिए। अन्य एक दर्जनभन्दा धेरै घरमा सामान्यदेखि अधिक क्षति पुग्यो।  स्थानीयका अनुसार पहिरो जाँदै छ भनेर पहिलेदेखि नै थाहा थियो। तर रोकथाम र क्षति न्यूनिकरणकोलागि उपमहानगरले  केही पनि नगरेको भन्दै आक्रोश बढेको हो।
स्थानीय खिमराज गिरीका अनुसार बस्तीमाथिबाट तलतिर बगिरहेको कुलो पुरिएको थियो।  गएको हप्तादेखि नै कुलो खुलाइदिन स्थानीयले उपमहानगरपालिकासँग अनुरोध गरिरहेका थिए। तर उपमहानगरले वास्ता गरेको थिएन।
“उपमहानगरपालिकाले वडाकार्यालयले गर्छ भन्यो। वडा कार्यालयले एक्साभेटरमा तेल छैन उपमहानगरपालिकालाई भन्नु पर्छ भन्यो,“ गिरीले भने, “यिनीहरूको जुहारीले कुलो खुलाउन सकेनन्। रातभर परेको पानीले सबै बगाइदियो।’’
पहिरोले ‘सबै बगाइदिएपछि’ उद्धारमा खटिइरहेका स्थानीय युवा गिरीका अनुसार अवलोकनकै क्रममा जनप्रतिनिधि र स्थानीय बिच भनाभन समेत भएको थियो।
“कुलोको विषयलाई लिएर स्थानीयहरू यसअघि देखिनै उपमहानगरपालिकासँग रिसाएका थिए’’ गिरीले भने– “घरमाथिबाट बगिरहेको कुलो थुनिएपछि पानी पर्दा जुनसुकै बेला फुट्न सक्छ भनेर डर थियो। आखिर भयो पनि त्यहीँ।’’
स्थानीयको बुझाई अनुसार कुलो पुरिएका कारण जमेको लेदो रातभर परेको पानीले फुटाइदिएपछि पहिरो गएको हो। त्यसैले पनि स्थानीय जनप्रतिनिधिसँग अझै बढी आक्रोशित देखिएका थिए।
पहिरोले घर पुर्न लाग्दा भर्खर खाना खान लागेकी थिइन्, सीता कुमारी श्रेष्ठ। अगाडीका घर पुरै पुरेको देखेपछि उनी त्यहाँबाट भागिन्। एकै पटक पानी रोकिएपछि मात्रै फर्किइन्। “पहिरो जान्छ भन्ने थाहा थियो। त्यै पनि कुलो खुलाउन कोही आएनन्’’ उनले भनिन्।
अगाडीका तीन घर पुरिर्दै बगेको लेदोले सीताको घरको पहिलो तल्ला पुरै पुरिएको छ। पहिरो ज्योतिनगरमा पहिलो पटक गएको होइन। यसअघि भदौ १३ गतेको पहिरोले ७ वटा घर पुरिएका थिए। बाँकी २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो। घर पुरिएपछि सात घरका परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका छन्।
स्थानीय कमल श्रेष्ठले भने–‘‘यसअघि उत्तरपट्टिको बस्तीमा पहिरो खस्दा धेरै घरबार विहीन भएर बसे। मेयर आए, मन्त्री आए तर उनीहरूलाई रेखदेख गर्ने कोही भएनन्। कोही आफन्तकोमा बसेका छन्। कोहीले यो ठाउँ छाडेर अन्तै गएका छन्।’’
विपद्का समयमा स्थानीय जनप्रतिनिधिले सहयोग नगरेको भन्ने मानसिकतामा ज्योतिनगरका पहिरो पीडितहरू रहेकाले मेयरमाथि आक्रमणको प्रयास भएको हुनसक्ने आंकलन श्रेष्ठले गरेका छन्। घटनास्थलमा प्रहरीसँगै उद्धारमा खटिएका एक स्थानीयले भने–“दुखेको मान्छेले ऐया भन्छ। यो घटना त्यस्तै खालको हो।’’
स्थानीय गिरीका अनुसार मेयरलाई मुक्का हान्ने युवक पहिरो पीडित हुन्। पहिरोका कारण घरमा पूर्णरुपमा क्षति पुगेपछि ती युवकका ५ जनाको परिवार आफन्तको बस्दै आएको छ।
घटनापछि नेकपा एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थी र राष्ट्रिय युवा संघ, रुपन्देहीका अध्यक्ष मनोज गौचनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रमुख सुवेदीलाई मुक्का प्रहार गर्नेलाई कारबाही गर्न माग गरेका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved