मुख्यमन्त्री पद गुमाउँदै अष्टलक्ष्मी शाक्य

सधैँभरि माधव नेपाल समूहमा रहिन्। नयाँ पार्टी बनाउँदा साथ नदिएपछि उनै नेपाल अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पदबाट हटाउँदै छन्। नयाँ मुख्यमन्त्रीमा दाबी छ राजेन्द्र पाण्डेको।

मुख्यमन्त्री पद गुमाउँदै अष्टलक्ष्मी शाक्य

काठमाडौं । ३१ भदौमा बाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठीक नभएको भन्दै पुरानै पार्टीमा फर्कन आग्रह गर्दैगर्दा उनै नेपाल नेतृत्वको पार्टीले शाक्यलाई मुख्यमन्त्रीबाट बहिगर्मन गराउने तयारी गरिरहेको छ।

काठमाडौं जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठिक नभएको भन्दै एमालेमै फर्कन आग्रही गरेकी हुन्।

कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीकी कट्टर आलोचकका रूपमा परिचित शाक्य पछिल्लो समय भने ओली पक्षमा छिन्। एमालेको अघिल्लो नवौँ महाधिवेशनमा नेपालको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएकी शाक्य विभाजन अघिसम्म नेपाल पक्षमै खुलेरै लागेकी थिइन्।

प्रदेशसभाको निर्वाचनमा उनैलाई मुख्यमन्त्री बनाइने भन्दै प्रदेश सभाको टिकट दिइयो। तर चुनाव जितेपछि अध्यक्ष ओलीले आफूनिकट डोरमणि पौडेललाई मुख्यमन्त्री बनाए। पहिलेदेखि नै ओलीइतर रहेकी शाक्य त्यसपछि झनै ओलीको खरो आलोचक बनिन्।

नेता नेपालले आफ्नो पक्षमा रहेका नेताहरूको साथ लिएर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गर्दा भने उनी एमालेमै बसिन्। २ भदौमा बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेललाई राजीनामा दिन लगाएर शाक्यलाई मुख्यमन्त्री बनाइयो।

तर केही दिनमा ठूलै राजनीतिक उथलपुथल नभए उनै मुख्यमन्त्री शाक्य चाँडै सत्ताबाट बाहिरिनेछिन्। एमालेमा विभाजन आएसँगै उनी प्रदेशसभामा अल्पमतमा परेकी छन्।

‘राजनीतिक दलसम्बन्धी अध्यादेश’ अनुसार दल रोज्ने समयको पनि सीमा गुज्रिसकेको छ। नेकपा (एकीकृत समाजवादी)ले आफ्नो दलमा आएमा उनलाई मुख्यमन्त्रीमै कायम राख्ने प्रस्ताव गरेको थियो। तर उनले एमाले छाड्न चाहिनन्। परिणाम, पहिलो मुख्यमन्त्री बनेकी शाक्यले पद गुमाउने अवस्था सिर्जना भएको छ।

यस्तो छ प्रदेशसभाको अंकगणित

संविधानको धारा १६८ (१) अनुसार प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुने व्यवस्था छ। त्यसको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ। विश्वासको मत नपाए स्वतः पदमुक्त हुने संविधानमा व्यवस्था छ।

बागमती प्रदेशसभामा १ सय १० सदस्य सांसद छन् जसमध्ये ५६ जना एमालेका सांसद हुन्। सामान्य बहुमतका आधारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन्। उनी मुख्यमन्त्री बनेलगतै ५६ सांसदमध्ये १३ जना नेता नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका छन्। सबैभन्दा ठूलो दल एमाले ४३ सांसदमा खुम्चिएको छ ।

माओवादीका २४, कांग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपा र नेमकिपाका दुई–दुई र एक स्वतन्त्र सांसद छन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको केन्द्रीय नेतृत्वले प्रदेशमा पनि गठबन्धन बनाएको छ। जस कारण ठूलो दल एमाले अल्पमतमा परेको छ।

प्रदेश सभा बैठक कहिले ?

२ भदौमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले त्यसको ३० दिनमा विश्वासको मत लिई सक्नुपर्छ। बागमती प्रदेश सभाको अधिवेशन ११ भदौमा टुंगिएको छ। दुईवटा अधिवेशनबीच ६ महीनाभन्दा बढी समय हुन नहुने संवैधानिक व्यवस्था छ। तर मुख्यमन्त्रीको दल विभाजन भएमा वा समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद् बैठक बोलाउनुपर्ने व्यवस्था छ।

अब मुख्यमन्त्री शाक्यले सांसद अधिवेशन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुपर्ने छ। उक्त संसद्को पहिलो बैठकबाटै उनी मुख्यमन्त्रीबाट बहिर्गमन हुने सम्भावना झण्डै पक्का छ। “किनकि बहुमत गुमाएकी मुख्यमन्त्रीले कि त राजीनामा दिनुपर्ने छ, नभए अविश्वास प्रस्ताव फेस गर्नुपर्ने छ। अनि स्वतः पदमुक्त भएपछि अर्को सरकार गठन प्रक्रिया सुरु हुने छ”, प्रदेश सभाका एक अधिकारी भन्छन्।

मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

नेता नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको र छिट्टै बस्ने संसद बैठकबाट आफू मुख्यमन्त्री चयन हुने उनको दाबी छ।

नेता पाण्डेले केन्द्रको सत्तारुढ दलहरू सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको पनि बताए। नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने तयारी रहेको र संसद् बैठक आह्वानको मिति कुरिरहेको उनले जानकारी दिए। भने, “हाम्रो गठबन्धनसँग बहुमत छ।

अहिलेको सरकार अल्पमतमा पर्‍यो। अरू सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन। अबको सरकार मेरै नेतृत्वमा बन्छ। पार्टीको तर्फबाट त मलाई नै सारिएको छ। सबै दलको सहमतिको क्यान्डिडेट हो म, अब संसद् बैठक शुरु हुनासाथ नयाँ सरकार गठन प्रक्रिया शुरु हुनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved