कतै पुतलीले नै लैजाला बालबालिकाको दृष्टि!

काला धर्सा भएका साना सेता पुतली दृष्टि नै लैजानसक्ने सापु रोगका कारक हुन्।

कतै पुतलीले नै लैजाला बालबालिकाको दृष्टि!

काठमाडौं। काला धर्सा भएका साना सेता पुतली उडिरहेछन् भने ख्याल गर्नुहोस् है ! ती आँखामा लाग्ने घातक रोग सापुका कारक हुनसक्छन्।

आँखामा लाग्ने डरलाग्दो रोग हो – सापु अर्थात् ‘सिजनल हाइपरएक्युट पानुभिआइटिस्’।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा कार्यरत नेत्ररोग विशेषज्ञ डा. प्रतीक्षा अमात्यका अनुसार दृष्टि नै गुम्न सक्ने घातक रोग हो यो।

“कालो धर्सा भएको पुतलीको झुस आँखामा पसेको केही समयमा नै दृष्टि गुम्न सक्छ”, डा. अमात्यले भनिन्, “यो रोग जुनसुकै समयमा पनि देखिदैन यसको मौसम हुने गर्छ पहिलेपहिले वर्षमा एक पटक देखिन्थ्यो भने अहिले दुई पटकसम्म पनि देखिएको छ। असाध्यै तीव्र गतिमा यो संक्रमण फैलिन्छ, हप्तादिनमै उपचार गराइएन भने दृष्टि नै गुम्न सक्छ।”

भदौदेखि मंसीरसम्म सेतो पुतलीको प्रजनन अवधि भएकाले वर्षायाम सकिने बेलामा सापुका बिरामीहरू बढ्ने गरेको उनले बताइन्।

डा. अमात्यका अनुसार यो रोगको जोखिममा ससाना बालबालिका बढी छन्। “बालबालिकाहरू पुतलीसँग खेल्ने रमाउने गर्छन् जसले गर्दा संक्रामक पुतलीको झुस आँखामा पर्‍यो भने संक्रमण हुन्छ”, उनले भनिन्।

यस्ता छन् सापुका लक्षण

  •  संक्रमण भएमा आँखा रातो हुँदै जाने,
  • आँखाको नानी सेता बिरालोको आँखा जस्तो देखिने
  • उज्यालो हेर्न गाह्रो हुने
  • आँखाको नानीमा पीप जस्तो जमेको देखिने

डा. अमात्य यस्ता लक्षण देखिनासाथ सकेसम्म छिटो अस्पताल पुर्‍याउने सुझाव दिन्छिन्। ढिलो भए शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताइन्।

बच्ने उपाय

डा. अमात्यका अनुसार यो रोग लाग्नबाट बच्ने उपाय यस्ता छन्ः

  • यो मौसममा पुतली बढि आउने भएकाले बालबालिकालाई तिनबाट टाढै राख्ने
  • कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने
  • पुतली छोइहाले साबुन पानीले हात धुने
  • हात नधोई जथाभावी आँखामा नछुने
  • रोगको लक्षण देखा पर्नासाथ सकेसम्म छिटो आँखा अस्पताल जाने

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved