काठमाडौं । नेपालमा निपाह भाइरसको जोखिममा रहेको देखिएकाे छ। सन् १९९९ मा मलेसियाका सुँगुरपालक किसानहरूमा पहिलो पटक निपाह भाइरस देखिएको थियो।
जसमा १ सय जनाको ज्यान गएको थियो भने तीन सय जना संक्रमित भएका थिए। भने करिब १० लाख सुँगुरहरू मारिएको थियो। गत आइतबार भारतको केरलामा १२ वर्षीय एक बालकको निपाह भाइरस संक्रमणका कारण मृत्यु भएको थियो।
निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।
भारतमा पनि यो संक्रमण देखिएपछि नेपाल पनि उच्च जोखिममा रहेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन्।
उनी भन्छन्, “निपाह भाइरस सर्ने मुख्य स्रोत भनेको सुँगुर, फ्रुट ब्याट चमेरो (फलफूल खाने) हो। यसरी चमेरोले फलफूल खाएर आधा फाल्यो वा त्यसको र्याल, पिसाब परेका खानेकुरा मानिसले खाए संक्रमण सर्न सक्ने उनले बताए।
त्यसैगरी पछिल्लो समय भारतमा मानिसबाट मानिसमा पनि संक्रमण सरेको पाइएकाले पनि यो एकबाट अर्कोमा सजिलै सर्न सक्ने उनले बताए।
निपाह भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ। संक्रमितलाई स्याहार गर्ने र नजिकमा रहने व्यक्तिहरूमा यो संक्रमण धेरै सर्ने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ।
निपाह संक्रमण हुँदा के उपचार गर्ने भनेर हालसम्म पनि अनुसन्धानकै क्रममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नेपाल किन जोखिम ?
नेपालमा सुँगुर प्रशस्त मात्रामा पालिन्छ, फ्रुट ब्याट चमेरो नेपालमा पनि छ र मानिसबाट मानिसमा सर्न सक्ने यी तीनै वटा माध्यम यहाँ भएकाले नेपाल यसको उच्च जोखिममा छ। त्यस्तै छिमेकी मुलुकले सावधानी अपनाएका बेला हामीले पनि अपनाउन आवश्यक देखिन्छ।
निपाह भाइरसका लक्षणहरू
ज्वरो आउने
वाकवाकी लाग्ने
टाउको दुख्ने
टन्सिलाइटिस्
रिँगटा लाग्ने
मांसपेशी दुख्ने
र,श्वासप्रश्वासमा कठिनाइ हुने,
माथि उल्लिखित लक्षणहरू २४ देखि ४८ घण्टासम्म देखिरह्यो भने संक्रमित व्यक्ति अचेत (कोमा) अवस्थामा जाने सम्भावना बढी हुने पुनले बताए। त्यसकारण यसको मृत्युदर पनि ७५ प्रतिशत रहेको उनले बताए। उनले भने, “१० जना संक्रमित मध्ये सात जनाको मृत्यु हुन सक्छ हामीले देखेको कोरोना भाइरसभन्दा पनि निपाह भाइरस घातक रहेको छ।”
निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
रूखबाट खसेका वा केहीले टोकेर जुठो पारेर पालेका फलफूल नखाने,
फलफूल राम्रोसँग पखालेर मात्रै खाने,
तरकारी सकेसम्म पकाएर खाने,
गाईवस्तुको गोठ र फार्म सफा राख्ने,
सुँगुरपालक किसानहरूले सुँगुरको स्वास्थयमा केही समस्या देखिँदा सक्दो छिट्टो उपचार गर्ने,
मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने,
बेलाबेलामा साबुनपानीले हात धुने,
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्म नेपाल त्यस्तो कुनै संक्रमण पुष्टि नभइसकेको जनाएको छ। तर सम्भावित त्यस्तो कुनै लक्षण देखिएमा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएल टेकुमा पठाउन अनुरोध गरेको छ।
कोरोना भाइरसजस्तै निपाह संक्रमण पत्ता लगाउन पीसीआर विधि परीक्षण गरिने एनपीएचएल निर्देशक डा रुणा झाले बताइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘‘निपाह भाइस संक्रमण कतै नफैलियोस् भनेर सबै वडाहरूलाई स्यानिटाइजर गरिहेका छौं।’’
Facebook Comment
Comment