‘रेडियोमार्फत शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी’

विद्यालय खुले पनि निरन्तरता दिइरहने सरकारी अधिकारीको बचन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालका अनुसार रेडियो कक्षा प्रभावकारिताबारे केन्द्रले अध्ययन नगरेको भए पनि निरन्तर राम्रा प्रतिक्रिया आइरहेका छन्।

नेपालभ्युज

‘रेडियोमार्फत शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी’

काठमाडौं। कोभिड महामारीमा वैकल्पिक सिकाइ माध्यमका रूपमा रेडियामार्फत शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी देखिएको छ।
शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरभन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको पाइएको हो।

आजको शिक्षा साप्ताहिक र जस्ट नेपाल फाउण्डेशनले संयुक्त रूपमा २० भदौमा आयोजना गरेको ‘शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता’ विषयक भर्चुअल अन्तक्रियाले यस्तो तथ्यांक पाइएको जनाएको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले रेडियो कक्षा प्रभावकारिताबारे केन्द्रले अध्ययन नगरेको भए पनि निरन्तर राम्रा प्रतिक्रिया आइरहेका बताए।

हाल कक्षा ९ र १० का अनिवार्य विषयहरूलाई बढी जोड दिइएका रेडियो कक्षाहरू छिट्टै कक्षा ६ देखि १२ सम्मै लगिने पनि दाहालले बताए।
अन्य वैकल्पिक सिकाइ माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएकाले भौतिक रूपमा विद्यालय खुले पनि पूरक सिकाइ सामग्रीको रूपमा रेडियो कक्षालाई निरन्तरता दिइने उनको बचन थियो।

सरकारले हाल रेडियो नेपाल र सामुदायिक रेडियो प्रशारक संघ (अकोर्‍याब) मार्फत दुई सयबढी सामुदायिक रेडियोमार्फत यस्तो कक्षा सञ्चालन गर्दै आएको छ।

अकोर्‍याबमार्फत बिहान १० देखि ११ बजे र साँझ ५ देखि ६ बजेसम्म कार्यक्रम प्रशारण हुँदै आएको छ।

शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिताका सम्बन्धमा अकोर्‍याबले सातै प्रदेशका १९२ शिक्षक, अभिभावक र विद्यार्थीमा गरेको अध्ययनका आधारमा ८८ प्रतिशतलाई कार्यक्रम प्रशारण हुने समय उपयोगी लागेको देखिएको थियो।

यस्तै, ७३ प्रतिशतले कार्यक्रम प्रभावकारी रहेको बताए।

पछिल्ला दिन शिक्षाकेन्द्रित हुन थाले रेडियो कार्यक्रम

अकोर्‍याबका अध्यक्ष अर्जुन गिरीले पछिल्लो दिनमा सामुदायिक रेडियोहरू शिक्षाकेन्द्रित बन्दै गएका बताए। शहरभन्दा ग्रामीण भेगमा रेडियो कक्षा प्रभावकारी रहेको पनि बताए।

अन्य क्षेत्रमा प्रभावकारी बनेपछि दाङको बंगलाचुली गाउँपालिकाले आफैँ एफएम रेडियो सञ्चालनमा ल्याएको पनि उनले उदाहरण दिए।
कतिपय ठाउँमा अभिभावकसँग रेडियो सेट नै नभएका अवस्थामा भने बालबालिकाहरू सिकाइबाट वञ्चित भएका उनले औंल्याए।

रेडियो मुक्ति बुटवलकी स्टेशन प्रमुख कल्पना तिवारीले माथिल्ला कक्षाका विद्यार्थीमा रेडियो सिकाइ प्रभावकारी देखिए पनि तल्लो कक्षाका बालबालिकाले झन्झट मान्ने गरेको सुनाइन्।

केन्द्रले तयार पारेको कार्यक्रम देशभर प्रशारण गर्नुको साटो स्थानीयस्तरमै उत्पादन गर्न सके बढी प्रभावकारी हुने भन्दै उनले आफूहरू रेडियो कक्षालाई अन्तर्क्रियात्मक बनाउने प्रयत्नमा लागिरहेको जानकारी दिइन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्य-दृश्य शाखाका रेडियो इञ्जिनियर सन्त महर्जनले विद्यार्थी रेडियो कक्षामा टिकिरहून् भनेर एउटा रेडियो कक्षालाई १५ मिनेटको मात्रै बनाइएको, विषयवस्तु सीधै नदिएर नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको, विद्यार्थीको चाहनाबमोजिम समय छनोट गरिएको बताए।

उनका अनुसार, रेडियो नेपालसँग रेडियो कक्षाका लागि प्रतिमिनेट ७९१ रुपैयाँमा सम्झौता गरिए पनि सामुदायिक रेडियोहरूमा भने कार्यक्रम निर्माणका लागि प्रतिकार्यक्रम ४ हजार मात्रै लगानी भएको छ।

गुड नेटवर्क्स कार्यप्रमुख शंकर सुवेदीले हाल सरकारसँगको समन्वयमा हुम्ला, मुगुदेखि नुवाकोटसम्मका १२ जिल्लामा आफूहरूले रेडियो कक्षा प्रशारण गर्दै आएको जानकारी दिए।

आफूहरूले कक्षा ८ का १८६ विद्यार्थीमा गरेको छोटो सर्भेले ८१ प्रतिशत विद्यार्थी रेडियो कक्षामा सहभागी हुने गरेको देखाएको बताए।
सर्भेले सहभागी विद्यार्थीमध्ये २९ प्रतिशतमा अति प्रभावकारी र ६६ प्रतिशतमा प्रभावकारी पाइएको पनि उनले जानकारी दिए।

सामुदायिक विकास केन्द्र डोटीका सहजकर्ता एकराज बडूले रेडियो कक्षा शुरु गर्ने र विद्यालय खुल्नेबित्तिकै छाड्ने गर्नाले समस्या भएको औंल्याए। रेडियो कक्षालाई पूरक सिकाइका लागि निरन्तर कक्षाकोठामा जोड्न आवश्यक रहेको उनले बताए।

जस्ट नेपालकी कार्यक्रम व्यवस्थापक कल्पना रजकले महामारीमा वैकल्पिक सिकाइको अवस्था, विद्यार्थीको पहुँच र प्रभावकारिताको अवस्था जान्न भर्चुअल अन्तर्क्रिया श्रृंखला शुरु गरेको जानकारी दिइन्।

आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले रेडियो सेट नै नभएका ठाउँमा संघीय र स्थानीय सरकारले अभिभावकलाई रेडियो वितरण गर्नुपर्ने भनाइ राखे।

एकोहोरो सञ्चार प्रक्रियाका रूपमा रहेका रेडियो कार्यक्रमलाई दोहोरो बनाउने उपायमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र अकोर्‍याबलगायत सम्बन्धित पक्ष लाग्नुपर्ने उनले सुझाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved