वामदेवको अबको बाटो ?

तर, उनी राष्ट्रियसभाबाटै प्रधानमन्त्री बन्न यसरी कस्सिएका थिए कि, कहिले माधव–प्रचण्ड समूहमा पुग्थे त कहिले केपी ओलीनिकट। पाँच दशक लामो राजनीतिक योगदान भएका गौतमले भूमिगत कालमा औधी दुःख गरेका थिए।

नेपालभ्युज

वामदेवको अबको बाटो ?

काठमाडौं। वामदेव गौतमले फेरि एक पटक नेकपा एमालेसँगको साइनो टुटाएका छन्।

झण्डै २४ वर्षअघि २०५४ सालमा महाकाली सन्धिका विषयमा पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि उनले एमाले छोडेका थिए। र, चार वर्षपछि २०५८ सालामा एमालेमै फर्केका थिए।

अहिले उनको बहिर्गमन उतिबेलाजस्तो होइन। उतिबेला उनी एमाले विभाजन गर्नेमध्ये प्रमुख नेता थिए भने अहिले माधव नेपाल पक्षले पार्टी विभाजनको गरिसकेपछि बाहिरिएका छन्।

अब उनी के गर्लान् ? एमालेवृत्त भित्र र बाहिर कौतूहलताको विषय बनेको छ। वामदेवसँग अब केही सीमित विकल्प मात्रै बाँकी छन्।

एक, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने। उक्त पार्टीले एमालेले अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त माने समाहित हुने शर्त राखेका पनि छन्।

उनीनिकट सहयोगी भन्छन्, “जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने हो भने नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान अरू कुनै शर्त नराख्ने हामीसँग भन्नुभएको छ।”

दोस्रो, आफ्नै नेतृत्वमा नया पार्टी गठन गर्ने। जसको सम्भावना ज्यादै न्यून छ। विगतमा एमालेका कुशल संगठक मानिएका गौतमसँग अहिले बेग्लै समूह खडा गरेर जाने ‘स्ट्रेन्थ’ देखिँदैन।

तेस्रो, सक्रिय राजनीतिबाट बिदा हुने।

यी तीनमध्ये उनले पहिलो रोज्ने सम्भावना अधिक छ। स्रोत भन्छ, “नेपाल नेतृत्वको पार्टीमा महत्वपूर्ण भूमिका लिने र सरकारमा पनि सामेल हुने उनको आकांक्षा छ। यसबीच उनले राजनीतिक अडान, सिद्धान्तभन्दा बढी पदीय आशक्तिलाई जोड दिएको देखियो। जसले उनको चरित्र ढुलमुले देखियो।

कतिसम्म भने, उनले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री हुनसक्ने प्रावधान राख्दै संविधान संशोधन गर्न पटक पटक लबिङ गरे। “समकक्षीहरू प्रधानमन्त्री भइसक्दा आफू उपप्रधानमन्त्रीबाटै राजनीतिक रूपमा ‘रिटायर्ड’ हुन नपरोस् भन्ने उहाँ चाहनु हुन्छ, हुन्थ्यो”, ती सहयोगी बताउँछन्।

सायद त्यसकै लागि उनले विरोधका बाबजुद राष्ट्रिय सभा सदस्यको यात्रा तय गरे। पराजित भएको व्यक्ति जस्केलाबाट राष्ट्रिय सभा पुग्नु नेपाली राजनीतिमा नौलो नभए पनि गौतम सुहाउँदिलो सन्दर्भ थिएन।

तर, उनी राष्ट्रियसभाबाटै प्रधानमन्त्री बन्न यसरी कस्सिएका थिए कि, कहिले माधव–प्रचण्ड समूहमा पुग्थे त कहिले केपी ओलीनिकट। पाँच दशक लामो राजनीतिक योगदान भएका गौतमले भूमिगत कालमा औधी दुःख गरेका थिए।

संघर्ष गर्दै संगठन गरेको, हक्की स्वाभावका भएका र शारीरिक रुपमा खट्न सक्ने नेताको परिचय बनाएका थिए। खुला राजनीतिमा आएपछि पटक पटक मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बनेका गौतम पछिल्लो समय अस्थिर र अवसरवादी देखिए।

२०२६ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेर ‘मुक्ति मोर्चा’, माले हुँदै एमाले, एमाले विभाजन गरेर माले, फेरि एमाले हुँदै अब कता जाने हुन् ? केही दिन सायद कुर्नु पर्नेछ।


Comment

One thought on “वामदेवको अबको बाटो ?

Leave a Reply to Suman Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved