काठमाडौं। कोभिड-१९ महामारी सामना गर्न सरकारले लागू गरेको निषेधाज्ञा हटाए लगत्तै काठमाडौंको व्यापारिक क्षेत्रको केन्द्रबिन्दु असनमा मानिसको चहलपहल ह्वात्तै बढेको छ।
हिन्दुधर्मालम्वी महिलाको विशेष पर्व तीज नजिकिएसँगै यस क्षेत्रमा किनमेल गर्न आउनेहरू बढ्न थालेका छन्।
त्यही भीडमा भेटिएकी काभ्रेकी पवित्रा तिमल्सिना भन्छिन्, “कोभिडको दोस्रो लहरका कारण निकै समयदेखि घरभित्रै बसेको थिएँ। आज नै काठमाडौं आएँ। यहाँ त चहलपहल पनि बढिसकेछ।” अब भने जनजीवन केही सहज हुने उनले विश्वास गरिन्।

त्यस्तै माकालबारी बस्ने कमला खड्का पनि तिजको किनमेल गर्न असन आएकी थिइन्। उनका हातमा दुई वटा झोला थिए। एकदमै उत्साहित देखिएकी उनले किनमेल सकेर गृहजिल्ला सिन्धुली जाने योजनामा रहेको सुनाइन्।
यो पनि
हटाइयो निषेधाज्ञा तर संक्रमणको जोखिम उस्तै
कपनमा कपडा व्यवसाय गरिरहेकी शर्मिला तामाङ पनि सामान किन्न असन आइपुगेकी थिइन्। सरकारले पसल सञ्चालन गर्ने अनुमति दिएसँगै किनमेलका लागि आउने गरेको उनले बताइन्। भन्छिन्, “हिजो अस्तिको भन्दा आज चहपहल अलि बढेको रहेछ।”
लामो समयदेखि असनमा व्यवसाय गरेर बसेका बलराम गौतम भने निषेधाज्ञा खुकुलो भएपछि व्यापार बढ्नेमा खुसी देखिए। भने, “आज अलिक बढी नै भीडभाड छ। कोरोनाका कारण व्यवसाय एकदमै कम भइरहेको थियो अब व्यापारको सिजन सुरु भयो, निषेधाज्ञा पनि खुकुलो भयो।”

“हिजाको तुलनामा आज चहलपहल अलि बढेको हो, निषेधाज्ञा खुकुलो भए पनि कोरोनाको जोखिम हटेको छैन, त्यसैले व्यवसायले गति लिन समय लाग्छ,” असनका अर्का व्यवसायी बाबुराम आचार्य बताउँछन्।
कारोनाको द्रोसो लहरका कारण भएको निषेधाज्ञाले कष्टकर बनेको मानिसको जीवनशैली फेरि पुरानै लयमा फर्किँदै छ। व्यावसायिक क्षेत्रसँगै पार्कहरूमा पनि मानिसको चहलपहल बढ्न थालेको छ।
त्यस्तै हिजो उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले फिल्म हल पनि खुलाउने निर्णय गरेको थियो।
भिडियो