झापा गौरादह–३ नहटुलीकी रिता मुर्मुलाई तीन वर्षअघि भव्य दशैं मनाएको झलझली याद आउँछ। गाडी रिजर्भ गरेर मेलामा नाच हेर्ने गएको र दशैंको किनमेल गरेको अहिले झैँ लाग्छ। सन्थाल समुदायले दशैं टीका लगाएर मनाउँदैन। तर, मेला बजारमा परम्परागत नाच देखाएर र घरमा आफन्तसँग भव्य रूपमा दशैं मनाउँछन्, सन्थाल।
तीन वर्ष अघिसम्म रिताको परिवारले वर्षभरि मजदुरी गरेर दशैं भने धुमधामका साथ मनाउने गरेको थियो। तर, यसपटक भने उनका लागि दशैं आएकै छैन। कोरोना महामारीले लामो समय लकडाउन भयो। श्रीमान्को मजदुरीको भरमा चलेको उनको परिवारले आर्थिक अभावका कारण नयाँ लुगा र खाद्यान्न किन्न पाएको छैन।
“पोहोर साल र यसपटक त कहाँ दशैं आयो र ?,” उनी भन्छिन्, “घरमा मजदुरी गरेर कमाउने श्रीमान मात्र हो। केटाकेटी सानै छन्। लकडाउन भयो। खानु त पर्यो ! ऋण गरेर खायौँ। अहिले ऋण पनि तिरिसकेको छैन। दशैंका लागि कहाँ किनमेल गर्नुसक्नु ?”
घरमा केटाकेटी छन्। उनीहरूले दशैंमा नयाँ लुगा किन्न जिद्दी गरिरहेको रिता बताउँछिन्। सुकुमबासी रिताको परिवारले छोराछोरीको इच्छासमेत पूरा गर्न सकेको छैन।
“यसपटक त दशैं मनाई हुँदैन। हामी ठूलाले त यस्तै हो अर्को साल मनाउँला भनेर चित्त बुझाएर बसेका छौँ,” उनी भन्छिन्, “तर, केटाकेटीले यो भन्दा मान्दैन रहेछन्। गाउँमा कसैले बजारबाट किनमेल गरेर आएको देख्नै हुँदैन। लुगा किन्न लगाएर जिद्दी गर्छन्।”
उनको परिवारले अधियाँमा दुई विघा खेतमा खेती गर्छ। उनीहरू साहुकै जग्गामा बसेका छन्। खेतीबाट उब्जिएको आधा अन्न साहुले लैजान्छन्।
“बाँकी रहेको धान बेचेर जनलाई तिर्दा, ट्याक्टर र मलको तिर्दा आफूलाई त के रहन्छ र !,” सुनाउँछिन् उनी, “यसपटक त झन् लकडाउनले बीचमा धान बेच्नुपर्यो। दशैंमा भोकै होइने चिन्ता थपिएको छ।”
सोही ठाउँका वृद्ध हेमलाल हेमरम विगतमा ऋण गरेरै भए पनि दशैं भव्य मनाउने गर्थे। तर, यसपटक उनलाई दशैं आएजस्तो भएको छैन। कोरोनाले लामो समय बन्द रहँदा छोराले कमाउने मौका नपाएपछि उनको यसपटकको दशैं खल्लो हुने निश्चित छ।
“पहिला त ऋण गरेर भए पनि दशैं मनाउँथ्यौँ। यति बेला त दशैंका लागि किनमेल सुरु भइसक्थ्यो,” उनी भन्छन्, “पहिला पहिला हामी ऋण गरेर भए पनि दशैं चाहिँ भव्य मनाउँथ्यौँँ। अस्ति लकडाउनका बेला लिएको ऋण नै तिरिसकेको छैन। दशैंमा पनि साहुलाई ऋण त मागेका छौँ। तर, अझै दिएका छैनन्। दिए भने दशैं मनाइन्छ नभए त यसै भन्न सकिँदैन।”
सुकुमबासी लक्ष्मी बेस्राको पनि यसपटक दशैं राम्रो आएन। बिहानबेलुका हातमुख जोर्नै मुश्किल भएको बेला आएको दशैंले लक्ष्मीको परिवारमा खुसी ल्याउन सकेन। चार जना छोराछोरीले दशैंमा नयाँ कपडा माग्छन्। तर, पूरा गर्न नसक्दा उनका लागि दशैं दशा बनेको छ। उनी प्रश्न गर्छिन् – “गरिबका लागि के को दशैं ? श्रीमानले कमाएकोले खानै मुस्किल छ। लामो लकडाउनले काम बन्द हुँदा थलै पारेको छ। ‘यस्तो वेलामा आएको त दशैं हैन दशा हो !,”
उनले नेपाल भ्यूजसँग सुनाइन्, “अनिकालका बेलामा के को दशैं। हामी विपन्नलाई त हुँदा सधैँ, नहुँदा सधैँ दशा छ।”
नहटुलीका सन्थालका घर भत्कनै लागेका छन्। उनीहरूले बर्खामा पानी र हिउँदमा शीतमा रुझेर भए पनि दशैं मनाउँदै आएका थिए। उनीहरूको बस्तीमा राज्यको अझै नजर पुग्न सकेको छैन। अर्काको जग्गामा वर्षौँदेखि बसेका उनीहरूलाई आफ्नो जग्गा नभएको भन्दै सरकारले सरक्षित नागरिक आवास, जनता आवासलगायत कार्यक्रममा समेटेको छैन।
“हामी त यो देशका नागरिक नै हैनौँ कि जस्तो लाग्छ। हामीलाई त सरकारले केही दिएको छैन,” बेस्रा भन्छिन्, “हामीलाई घरभन्दा पनि बस्ने थोरै जग्गा दिए कति सन्तुष्ट हुने थियौँ। यस्तै घरमा भए पनि आफ्नो जग्गा भए जीवन दुःख सुख बिताउने थियौँ।”
Facebook Comment
Comment