काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबार सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् ।
गृहमन्त्री खाँणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन् ।
घाइतेको उद्धार र भत्किएका घरलाई अन्यत्र सार्न तथा केन्द्रमा जानकारी गराउन उनले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशनसमेत दिए। खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार मार्तिमबिर्ता आसपासलाई केन्द्र बनाएर भूकम्प गएको थियो ।
भूकम्पबाट साकेला गाउँपालिका–५ वृष्टि बस्ने विकास कटुवालको ढुंगा माटोको गारो भएको घर, डाँडागाउँ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको, हलेसी तुवाचुङ.नगरपालिका ९ सल्ले बस्ने धुर्ब पौडेलको ढुङगा माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङखुका गंगा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ । राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले बताएको छ ।
अहिलेसम्म क्षतिको पूर्ण विवरण नआएको र क्षति पुगे नपुगेकोबारे बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईले बताए ।
Facebook Comment
Comment