शिक्षकले पाठ्यक्रमको विषयवस्तु वास्तविकतासँग जोडेर सिकाउन सक्नुपर्छ। त्यसैले सिकाउने माध्यम फरक भए पनि सिकाइलाई पाठ्यक्रमसँग जोड्ने कला शिक्षकसँग हुनुपर्छ।
सबै विषय उत्तिकै सजिलो र अप्ठ्यारो दुवै हुन्छ। कुनै पनि विद्यार्थीले सिक्न सक्नु वा नसक्नुमा शिक्षकले कति सिकाउन सक्यो भन्नेमा मात्र फरक पर्छ। त्यसैले शिक्षक सबैको भावना बुझेर उनीहरूको रुचिअनुसार सिकाउन सक्ने हुनुपर्छ।
सधैँ एकै तरिकाले कक्षामा पढाउँदा विद्यार्थीको ध्यान केन्द्रित नहुनसक्छ। विद्यार्थीको ध्यान तानिराख्न मैले गरेका केही अभ्यास यहाँ प्रस्तुत गर्छु।
मैले कक्षाकोठामा गएर सिकाउने विषयमा अघिल्लो दिन गृहकार्य गर्ने गरेकी छु। पाठ्यपुस्तकबारे सिकाउँदा त्यहाँका विषयवस्तुमा आफूभन्दा विद्यार्थीलाई बढी सहभागी गराउने गरेकी छु। गीत लेखेर गाउन लगाउँछु। विभिन्न विषयवस्तुमा अभिनय गराउँछु। पहुँच भएका ऐतिहासीक स्थलमा विद्यार्थीलाई भम्रण गर्न लैजाने गरेको छु। कतिपय अपठ्यारा विषयमा ‘लेक्चर’ दिनुको साटो त्यसलाई गीत लेखेर गाउन लगाउने गरेकी छु।
आफैँ गीत लेखेर विद्यार्थीलाई उपलब्ध गराउँछु। अनि त्यही गीत गाउन अभ्यास गराउँछु जसबाट विद्यार्थीलाई विषयवस्तुको ज्ञान पनि प्राप्त हुन्छ अनि रमाइलो वातावरणमा विद्यार्थीले सिक्न पनि पाउँछन्।
पाठ्यक्रमको विषयवस्तुमा आधारित भएर विद्यार्थीलाई विभिन्न भूमिकामा अभिनय गराउछौँ। उदाहरणका लागि, संविधानभित्रका व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पढाउँदा विद्यार्थीलाई नै त्यसको अभ्यास गर्न लगाउछौँ।
त्यस्तै, पाठ्यक्रमको स्थानीय विषयमा जानकारी गराउन विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरेर स्थलगत भ्रमण गराई अन्तवार्ता लिन पनि लगाउने गरेका छौँ। अहिले बालबालिकाहरू प्रविधिमा निकै अगाडि छन्। धेरैसँग स्मार्ट फोन हुन्छ। त्यसैले बालबालिकालाई कुनै विषय दिएर त्यसबारे खोजी गरी अध्ययन गर्न लगाउने पनि गरेका छौँ।
हाम्रो स्कुलमा एउटा फिल्म हेर्ने ‘थिएटर’ नै छ। त्यसको प्रयोगका लागि पहिला त्यहाँ भिडियो राखिदिन्छौँ। अनि विद्यार्थीलाई समूह विभाजन गरेर ‘असाइन्मेन्ट’ दिएर फिल्म हेर्ने कक्षमा पठाउँछौ।
भेषभुषा, पहिरन सिकाउन आफ्नो घरमा भएको पहिरन लगाएर प्रदर्शन गरेर सिकाउँछौँ। सङ्गीत बुझाउन लोकगीत प्रतियोगिता नै आयोजना गर्दै आएका छौँ।
विद्यार्थीलाई हौसला दिन उनीहरूको जन्मदिनको अभिलेख नै कक्षाकोठामा टास्ने गरेका छौँ। उनीहरूको जन्मदिनमा टीका लगाएर मैले कापी उपहार दिने गरेको छु।
वातावरण दिवस, बालदिवसजस्ता महत्त्वपूर्ण दिवसहरूमा बालबालिकालाई ‘प्लेकार्ड’ बनाउन लगाएर ¥याली निकाल्ने गरेका छौँ। आर्थिक क्रियाकलाप सिकाउदा अभिभावकसँग बुझेर मुद्रा ल्याउन लगाउछौँ। त्यसपछि कक्षाकोठामा सबैलाई देखाएर सिकाउछौँ।
प्रतिवेदन लेख्न सिकाउदा पहिला लेख्ने ‘फर्म्याट’ सिकाउछौँ। त्यसपछि मात्र लेख्न लगाउछौँ।
बालबालिकालाई हरेक पाठ सिकाउँदा पोस्टर, पम्प्लेट बनाउन लगाउनेगरेका छौँ। त्यस्तै चित्र बनाउन लगाउने लगायतका क्रियाकलाप पनि गराउछौँ।
सामाजिक विषयमा ‘वंशवृक्ष’ पढाउनुपर्छ। त्यसका लागि हामी विद्यार्थीलाई आफ्नो वंशबारे सोधेर ल्याउन लगाउँछौँ। अनि कक्षामा आ-आफ्नो ‘वंशवृक्ष’ निर्माण गर्न लगाउछौँ।
त्यस्तै, निर्वाचन पढाउँदा उम्मेद्वार उठाउने, भोट माग्न जानेदेखि भोट हाल्नेसम्मका क्रियाकलाप स्कुलमा नै गरेर सिकाउँदै आएका छौँ ।
मानव अङ्गबारे सिकाउन प्रत्येक विद्यार्थीलाई एउटा आफ्नो शरीरको अङ्गबारे तयारी गरेर आउन भन्छौँ। अनि त्यसबारे कक्षामा अगाडि गएर प्रस्तुति दिन लगाउने गरेका छौँ। स्कुलमा प्रतिभा पहिचान कार्यक्रम लगायत कार्यक्रम गर्ने गरेका छौँ।
यसो गर्दा विद्यार्थी विषयवस्तुप्रति उत्सुक हुन्छन्। कठिन लाग्ने विषयवस्तु पनि सहजै बुझ्ने गरेको हाम्रो अनुभव छ। विद्यार्थीलाई नै विषयवस्तुबारे अध्ययन गर्न लगाउँदा उनीहरू विषयवस्तुप्रति लगाव बढ्ने र जानकार पनि हुन्छन्। त्यसैले उनीहरूबीच सूचनाको आदानप्रदानसमेत हुँदा बढी ज्ञान हासिल गर्छन्।
(श्रेष्ठ ललितपुरको लुभूस्थित महेन्द्र ग्राम माविकी सामाजिक-शिक्षक हुन्।)
Facebook Comment
Comment