बर्दिबासमा माओवादीको ‘लालकिल्ला’ भत्काउँदैछन्, कांग्रेस छाडेर स्वतन्त्र उठेका प्रह्लाद क्षेत्री

बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका छन्। जसमध्ये ३१ हजार ६१७ अर्थात ७१.११ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

बर्दिबासमा माओवादीको ‘लालकिल्ला’ भत्काउँदैछन्, कांग्रेस छाडेर स्वतन्त्र उठेका प्रह्लाद क्षेत्री

जनकपुरधाम। नेकपा माओवादी केन्द्रको ‘लालकिल्ला’ भनेर चिनिने महोत्तरीको बर्दिबास नगरपालिकामा यसपटक स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। ३० वैशाखमा भएको चुनावको मतगणना जारी रहँदा माओवादीका उम्मेदवारलाई स्वतन्त्रले करीब दोब्बर मतले पछाडि छाडेका छन्।

बर्दिबास नगरपालिकाको आठ वडामा मतगणना सकिँदा चारओटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। सबै वडामा मेयर पदमा पनि स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन्।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लादकुमार क्षेत्रीको जेब्रा चिह्नमा अहिलेसम्म ७ हजार ८३० मत पाउँदा माओवादी केन्द्रका राजु खडकाले ४ हजार ९५ मतमात्रै पाएका छन्। नेकपा एमालेका टेकबहादुर बलम्पाकीले २ हजार ४८४ मत पाएका छन्।

यस्तै, उपमेयरमा पनि स्वतन्त्र उम्मेदवार तारा देवीले ५ हजार २५२ मतसहित अग्रता बनाइरहेकी छन्। उनलाई माओवादी केन्द्रकी कृष्णमाया गौतमले ३ हजार ९१४ मतसहित पछ्याइरहेकी छन्। एमालेकी दुर्गा दाहाल ३ हजार ४८५ मत प्राप्त गरेकी छन् ।

बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका छन्। जसमध्ये ३१ हजार ६१७ अर्थात ७१.११ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

माओवादीको लालकिल्ला भत्काउने कामको नेतृत्व गरिरहेका मेयर पदका स्वतन्त्र उम्मेदवार क्षेत्री आफै भने नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका व्यक्ति हुन्। निर्वाचित सबै स्वतन्त्र वडाध्यक्ष पनि क्षेत्रीकै समूहका हुन्।

यसअघिको स्थानीय तहको चुनावमा समेत कांग्रेसबाट उम्मेदवारी दिएका क्षेत्री त्यतिबेला माओवादीको उम्मेदवार बिदुर कार्कीसँग थोरै मतले पराजित भएका थिए। यसपटक कांग्रेसले टिकट नदिएपछि उनी पार्टी छाडेर स्वतन्त्र उम्मेदवार भएका हुन्।

बर्दिबासमा कांग्रेसबाट मेयरको टिकट क्षेत्री र चिरञ्जीवी हमाल दुवैले पाएका थिए। तर, पछि हमाल आधिकारिक भए। उनी जम्मा ४१४ मत पाएर चौथो स्थानमा छन्। आफूले पाएको टिकट खोसिएपछि क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवपारी दिएका थिए।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि क्षेत्रीलाई समर्थन गर्न कांग्रेसका बर्दिबास नगरसमितिका अधिकांशले पार्टी परित्यागको घोषणा गरेका थिए । माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलको गृहनगर तथा क्षेत्र बर्दिबासमा यसअघि माओवादीले प्रमुख, उपप्रमुख र अधिकांश वडा जितेको थियो।

पछिल्ला तीन निर्वाचनमा पोखरेल बर्दिबास समेटिएको निर्वाचन क्षेत्रबाट लगातार जित हात पार्दै आएका छन् । तर, स्थानीय चुनावमा भने बलियो संगठन र जनाधार भएको, विगतको प्रतिबद्धता पूरा गरेको दाबी गरिरहेको माओवादी केन्द्रलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार क्षेत्री विजयउन्मुख भएका छन्।

क्षेत्रीले बटुलेको मतले बर्दिबासमा सबै राजनीतिक दल र नेता कार्यकर्ताको ध्यान खिचेको छ। हालसम्मको गणनामा क्षेत्रीले सबै वडामा फराकिलो मतान्तरले शुरूदेखि नै अग्रता कायम राखेका छन्।

बर्दिबासका जानकारहरु बाँकी वडामा पनि क्षेत्रीले अहिलेकै अनुपातमा वा त्योभन्दा बढी मत पाउने बताउँछन्। गत चुनावमा हारेलगत्तै क्षेत्रीले टोल टोल गएर जनता पाँच वर्षसम्म जनतामाझ रहेका कारण जितउन्मुख भएको उनीहरुको भनाइ छ।

बर्दिबासमा क्षेत्रीको जित पक्का रहेको भन्दै नगरका स्थानीय तथा महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराल भन्छन्, “क्षेत्रीले हालसम्मको मतगणनामा अन्य उम्मेदवारको तुलनामा आफ्नो अग्रता प्रत्येक वडामा कायम राखेका छन् । यसरी मूल्यांकन गर्दा मतगणना हुन बाँकी रहेको स्थानहरुमा पनि क्षेत्रीकै अग्रता रहेको स्पष्ट हुन्छ।”

अरुले चुनावताका मात्रै भोट माग्ने गरेको भन्दै स्वतन्त्र उम्मेदवार क्षेत्री विगत पाँच वर्षदेखि मत मागिरहेकाले आफू जितउन्मुख भएको बताउँछन्। उनी भन्छन्, “जनताको सेवा गरिरहेको छु। मेरो कुरा जनताको रुझानले पनि साबित गरिरहेको छ। यहाँ मेरो कोही प्रतिद्वन्द्वी छैन।”

क्षेत्रीले आफूले चुनाव जितेपछि आउने आर्थिक वर्षको बजेटमार्फत गर्ने केही योजनाहरु पनि बनाइसकेका छन्। स्थानीय जानकारहरुलाई समेटेर नगर विकासको खाका पहिलो वर्षमै तयार गर्ने र बाँकी वर्षमा पूरा गर्ने उनी बताउँछन्।

“मेरो भिजनअनुसार डीपीआर तयार गर्छु। त्यसैअनुसार बजेट बनाउँछु,” क्षेत्री भन्छन्, “धेरै महत्वाकांक्षी योजना र पूरा गर्नै नसकिने किसिमको बजेट पहिलो वर्षमा नबनाएर सम्पन्न गर्न सकिने मात्र योजना बनाउँछु, त्यसैगरी वर्षभर काम गर्छु।”

फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्यान्डफिल साइट, कृषि, शिक्षा र स्वास्थ्य सम्बन्धी कानून बनाउने, धार्मिक र पर्यटन नगरीका रूपमा विकास गर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्ने क्षेत्रीको योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved