राजनीतिक भर्सेस व्यापारिक पृष्ठभूमि

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्वकर्मा, घनश्याम भूसाल तथा गृहमन्त्री एव कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको गृहजिल्ला भएकाले पनि यहाँको नेतृत्वलाई निकै चासोका साथ हेरिएको हो।

राजनीतिक भर्सेस व्यापारिक पृष्ठभूमि

बुटवल । लुम्बिनी प्रदेशको मुकाम बुटवल उपमहानगरपालिकाको नेतृत्व लिन सबै राजनीतिक दलहरू लागिपरेका छन्।

स्थानीय निर्वाचनका लागि बुडोलमा मेयरमा मात्रै १७ जनाको उम्मेदवारी परेको छ। यहाँ मुख्य रूपमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

२०५४ साल र ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले यहाँ जित हासिल गरेको थियो। प्रतिनिधि सभा एवं प्रदेशसभामा समेत यहाँ एमाले नै जित निकालेको थियो।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्वकर्मा, घनश्याम भूसाल तथा गृहमन्त्री एव कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको गृहजिल्ला भएकाले पनि यहाँको नेतृत्वलाई निकै चासोका साथ हेरिएको हो।

एमालेको गढ भत्काउन गठबन्धनबाट राजनीतिज्ञ खेलराज

बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेय दोस्रो पटकको प्रतिस्पर्धामा छन्। ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गरेका पाण्डेले झिनो मतले पराजित भएका थिए।

त्यतिबेला एमालेका शिवराज सुवेदीले २ हजार ३९८ मतान्तरले जितेका थिए। सुवेदीले २३ हजार २४९ मत प्राप्त गर्दा पाण्डेयको २० हजार ८५१ मत थियो। उक्त निर्वाचनमा पनि कांग्रेस-माओवादीको तालमेल थियो।

माओवादीको तर्फबाट जगत पोखरेल उपमेयरको उम्मेद्वार थिए। वडाध्यक्षहरूको मतलाई आधार मान्ने हो भने माओवादीको मत सरदर ३ हजार ५ सय थियो। अहिले एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) पनि कांग्रेससहितको गठबन्धनमा छ।

बुटवलको विकासमा राम्रोसँग ध्यान नदिएको, यहाँ भएका राम्रा कार्यालयहरू बाहिर गएको, सुकुमबासीका समस्या जस्ताको त्यस्तै रहेको लगायत कारणले यो पटक आफूहरूले मत पाउनेमा मतदातासँग आफूहरू ढुक्क भएको कांग्रेसले बताएको छ।

यता उसको निकटतम् प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराई व्यावसायिक पृष्ठभूमिका हुन्। पहिल्यैदेखि क्रियाशील राजनीति गरिरहेका पाण्डेले व्यावसायिक पृष्ठभूमिबाट आएका भट्टराईलाई सहजै पराजित गरेर किल्ला भत्काउने विश्वास लिएका छन्।

कांग्रेसले जितमा पाण्डेयको प्रतिष्ठा मात्रै नभई २२ वर्ष अगाडि गुमाएको साख पनि फर्किनेछ।

एमालेलाई गढ जोगाउन चुनौती 

एमाले उम्मेदवार भट्टराई विभिन्न संघसंस्थामा नेतृत्व गरेकाले एमालेको ‘कोर’ मतदाता तान्ने प्रयासमा छन्। सामाजिक संघसंस्था र व्यावसायी भएको नाताे पनि उनी त्यो भोट तान्ने प्रयत्नमा छन्।

भट्टराईको जिते एमालेले आफ्नो ‘लालकिल्ला’मा रजगज कायमै राख्नेछ। २०६४ सालको संविधानसभा निर्वाचनयता एमालेले बुटवलमा हार बेहोरेको छैन।

यहाँ एमाले एक्लै छैन। १९ ओटा वडा रहेको उपमहानगरपालिकामा एमालेले ११ वटा वडासदस्य राष्ट्रिय जनमुक्तिलाई दिएर तालमेल गरेको छ। यसबाट एमालेले केही भोट अवश्य थप्ने छ।

बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो। यी सबै कारणले पनि एमालेले जित निकाल्ने विश्वास लिएको छ।

मेयर दोहोर्‍याएन एमालेले

यस पटक एमालेले केन्द्रीय सदस्यसमेत रहेका बहालबाला मेयर सुवेदीलाई टिकट दिएन।

आफ्नो निर्वाचन क्षेत्रमा आफूअनुकूल उम्मेदवार बनाउन एमाले उपाध्यक्ष पौडेलको चाहना पनि पूरा हुन सकेन। बुटवलको मेयरका लागि पौडेलको रोजाइमा गोपाल राना थिए। अघिल्लो स्थानीय निर्वाचनमा पनि पौडेलले रानालाई नै अघि सारेका थिए।

तर त्यतिबेला पनि पौडेल असफल भएका थिए। अहिले पनि पौडेलले रानालाई अघि सारे पनि महासचिव शंकर पोखरेलनिकट मानिएका भट्टराईले टिकट हात पार्न सफल भए। यसले एमाले उपाध्यक्ष पौडेल खुशी छैनन्।

बुटवलबाट राजधानी सर्नु एमालेलाई गलपासो, कांग्रेसलाई रणनीतिक योजना

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रदेशको राजधानी बुटवलमा राख्ने उपाध्यक्ष पौडेलको प्रतिबद्धता थियो।

प्रदेश राजधानीको विषयमा पनि पार्टीमा महासचिव पौडेल कमजोर बने, पार्टीमा प्रदेशको राजधानी दाङ राख्ने निर्णय भयो। त्यसको नेतृत्व गरेका तत्कालीन मुख्यमन्त्री पोखरेलका सारथिका रूपमा रहेका भट्टराईसँग एमाले कार्यकर्ता सन्तुष्ट छैनन्।

एमालेले बुटवलमा राजधानी सर्न सहयोग गरेको भन्दै एमालेसँग बुटवलका कार्यकर्ता रुष्ट छन्। राजधानीको विषयले एमालेलाई चुनावको मुखमा ‘गलपासो’ हुने देखिन्छ।

यता कांग्रेस उम्मेदवार पाण्डेयलाई जनस्तरमा भिजेका नेताका रूपमा चिनिन्छ। पार्टीमा अरू नेतामा भन्दा व्यक्तिगत भोट तान्ने क्षमता पाण्डेयमा छ। शालिन र सरल नेताको रुपमा छवि बनाएका पाण्डेय तार्किक क्षमतामा पनि उत्तिकै प्रवल मानिन्छन्।

कांग्रेस सरकारले बुटवलमा अस्थायी राजधानी बनाएको र राजधानी सार्ने विषयमा पनि विपक्षमा मतदान गरेकाले कांग्रेसलाई यो ‘प्लस पोइन्ट’ बनेको छ।

त्यस्तै एमाले उम्मेदवार भट्टराई पनि शालिन र भद्र स्वभावका छन्। एमालेले आफ्नो भोट अन्त नजाओस् भन्ने उद्देश्यले भट्टराईलाई उम्मेदवारका रूपमा अघि सारेको बुझिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved