विनोद चौधरीको राजनीतिक उद्यम

चौधरी भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, वृहत परिवर्तन राजनीतिबाट मात्रै सम्भव छ र त्यो परिवर्तन ल्याउनका लागि सत्ता र शक्ति आफ्नो हातमा हुनुपर्छ।’

विनोद चौधरीको राजनीतिक उद्यम

विनोद चौधरी नेपाली समाजले चिनेको नाम हो। देशका अब्बल र सफल उद्योगपतिहरूको सूची बनाउँदा उनको नाम अग्रपंक्तिमै आउँछ। संसारका दुई हजार धनी मानिसको सूचीमा अटाएका उनी देशकै सबैभन्दा धनी व्यक्ति हुन्। भारतका केही धनाढ्य व्यक्तिहरूलाई बाहेक गर्दा त उनी दक्षिण एसियाकै धनी मान्छेमा गनिन्छन्।

हरेक वर्ष विश्वका धनी मान्छेहरूको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागजिनको २०२२ को प्रतिवेदन अनुसार, उनी १९२९ औं धनी व्यक्ति हुन्। यसअघि सन् २०२१ मा उनी २१४१ औँ धनी व्यक्ति थिए। एक अर्ब ७० करोड अमेरिकी डलर बराबरको सम्पत्ति भएका विनोदलाई फोर्ब्सले एक दशकदेखि लगातार विश्वकै अर्बपतिहरूको सूचीमा राख्दै आएको छ।

धनी र सफल उद्योगपतिको छवि बनाएका विनोदको अर्को परिचय थपिएको छ, राजनीतिक नेताको। त्यसअर्थमा अहिले उनको दुईटा परिचय छ : उद्यमी र नेता।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनको नेता–छवि थप चहकिलो भएको हो। राजनीतिमार्फत समाज परिवर्तनको मुद्दा लिएर केही वर्ष यता उनी यो फाँटमा पनि क्रियाशील छन्।

‘आजसम्म उद्यम गरेर मैले जे जति जानें, आफ्नो बाँकी समय त्यसलाई राजनीतिको माध्यामबाट मुलुकको परिवर्तनको पक्षमा लगानी  गर्ने निर्णय गरें,’ उनी भन्छन्, ‘यसमा नेपाली कांग्रेसका नेताहरूबाट सहयोग भयो। म जुन दिनदेखि नेपाली कांग्रेस प्रवेश गरें। त्यही दिनदेखि पूर्णरूपमा राजनीतिक काममा मात्रै संलग्न छु।’ (२६ मंसीर, ०७८, नयाँ पत्रिका दैनिक)

विनोद पूर्णकालीन राजनीतिक नेता होइनन् तथापि अचेल उनी उद्यमीभन्दा बढी नेताका रूपमा चिनिन चाहन्छन् र आफूलाई त्यसै अनुरूप व्यस्त राख्छन्।

त्यसो त उनी कुनै न कुनै रूपमा राजनीतिसँगै जोडिदै आएका छन्। उद्योगपति र राजनीतिक नेताबीच विशिष्ठ प्रकार सम्बन्ध हुन्छ। नेता र व्यवसायी दुवै आ–आफ्नै स्वार्थको डोरीले बाँधिएका हुन्छन्।

उद्योगी/व्यावसायीहरूको राजनीतिक शक्ति केन्द्रसँगको उठबस र सम्बन्धलाई विनोदले आफ्नो पुस्तक ‘विनोद चौधरीः आत्मकथा’ मा निडर भएर राखेका छन्। राजनीतिसँग कोशौँ दूरको सम्बन्ध नभएका विनोद कसरी राजनीतिक व्यक्तिहरूको सामिप्यमा आए, उनले नलुकाई पुस्तकमा खुलस्त पारेका छन्।

‘जतिखेर विश्वेश्वरप्रसाद कोइराला शान्ति र मेलमिलापको नीति लिएर भारत निर्वासनबाट फर्कनुभयो, म कपर फ्लोर डिस्कोमा रमाइरहेको थिएँ। जतिखेर देशव्यापी रूपमा पञ्चायतविरोधी आवाज सँगठित भइरहेको थियो, म बुवाको हृदयघातले छरपस्ट उद्योग व्यावसाय एकत्रित पार्नमा जुटेको थिएँ।

नेपाली राजनीतिक इतिहासको यति महत्वपूर्ण घडीबाट गुज्रँदा मेरो राजनीतिसँग टाढा टाढासम्म पनि कुनै सम्बन्ध थिएन। ०३६ सालको जनमत सँग्रह घोषणापछि एकाएक राजनीति र सत्ताको जालोभित्र तानिएँ।’ (विनोद चौधरी : आत्मकथा, पृ. १३६)

निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध सशक्त विद्यार्थी आन्दोलन भएछि पञ्चायत ‘बहुदलीय व्यवस्था कि निर्दलीय?’ भन्ने मुद्दामा जनमत संग्रहको घोषणा गर्न बाध्य भएको थियो। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा कुनै पनि शर्तमा पञ्चायती व्यवस्थाकै निरन्तरता चाहन्थे।

जनमत सँग्रहलाई आफ्नो पक्षमा पार्न तत्कालीन सत्ताले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्यो। त्यसै क्रममा थापाले उदाउँदै गरेको व्यवसायी घराना चौधरी समूहलाई प्रयोग गरे। तत्कालीन सत्तासँग निकट हुँदा उद्योग–व्यावसाय बढाउन सहज हुने देखेर चौधरीहरू पनि निर्दलीय व्यवस्थालाई जिताउन लागे। त्यसका लागि आफूलगायत अरु केही व्यवसायीले करीब डेढ करोड उठाएर चुनावमा खर्च गरेको विनोदले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

निर्दलीय पञ्चायतले जितेपछि उनले कसरी व्यवसायिक लाभ लिए?  सरकारले विभिन्न व्यावसायका लागि लाइसेन्स दिएपछि उत्पन्न विवाद, पञ्चायतमा थापा इतरका समूहबाट भोग्नुपरेको प्रताडना, राजदरबार त्यसमा पनि तत्कालीन अधिराजकुमार धीरेन्द्रसँगको सामीप्य, दरबारसँगको सम्बन्धमा आएको चिसोपना आदि सबै आरोह–अवरोह पुस्तकमा पढ्न पाइन्छ।

व्यवसायी र राजनीतिक शक्तिकेन्द्रका स्वार्थहरूको सम्बन्ध र त्यसको सीमा, उपयोग/दुरूपयोग बुझ्न चौधरीका अनुभव महत्वपूर्ण लाग्छन्।

दरबार र पञ्चायतका नेताहरूसँग चिसोपना बढ्दै जाँदा विनोद ०४६ सालको जनआन्दोलनमा आन्दोलनकारी कित्तामा पुगिसकेका थिए। जनआन्दोलन सफल भएर मुलुकमा प्रजातन्त्रको पुनर्बहाली भइसकेपछि त उनी नेपाली कांग्रेसका नेताहरूसँग निटक सम्बन्धमा रहे।

खासगरी कृष्णप्रसाद भट्टराईसँग उनको सम्बन्ध अति नै प्रगाढ थियो। अन्तरिम सरकारका प्रधानमन्त्री भएका बेला भट्टराई चौधरीको मोटर चढेर बिनासुरक्षा गार्ड उनको ठमेलस्थित घरमा रात्रिभोजका लागि आएका थिए।

‘…….एक दिन बुवाले (लुनकरणदास चौधरी) उहाँलाई (कृष्णप्रसाद भट्टराई) घरमा खाना खान डाक्नुभयो। किशुनजीले भन्नुभयो, ‘विनोदबाबु, आप बालुवाटारमे मुझे लेने आइए।’

म गएँ। किशुजनी बाहिर निस्कनुभयो। सुरक्षा गार्डहरू सँगै थिए। मेरो गाडी नजिक आएपछि उहाँले सुरक्षा गार्डहरूलाई फर्काइदिनुभयो। भन्नुभयो, म लुनकरणजीको घर जान लागेको, तिमीहरू आउनु पर्दैन। ………..तिमीहरू आज आराम गर, म विनोदसँगै जान्छु। उहाँ त मेरो गाडीमा मसँगै अगाडिको सिटमा बसिदिनुभयो। प्रधानमन्त्री जस्तो मान्छेलाई बिनासुरक्षा आफ्नै गाडीमा राखेर निस्कँदा मेरो मुटु ढक्क फुलेको थियो। (विनोद चौधरीः आत्मकथा, पृ. १६०)

चौधरीको गिरिजाप्रसाद कोइरालासँग पनि निकै राम्रो सम्बन्ध थियो। २०४८ सालमा कोइराला प्रधानमन्त्री भएपछि उनी उनकै शब्दमा, ‘विश्वासपात्र’ थिए। तर कोइरालासँगको सम्बन्धमा केही वर्षको अन्तरालमै असहजता आयो।

अन्तरिम सरकारले चौधरीलाई शाही नेपाल वायुसेवा निगम, आरएनएसी (हालः एनएसी) को सञ्चालक समितिमा नियुक्त गरेको थियो। कोइराला प्रधानमन्त्री भएपछि उनीसँग चौधरीको निगमको जहाज बिक्री प्रकारणमा गम्भीर असमझदारी भयो।

उनले जहाज बिक्री गर्न नहुने अडान राखे। तर, सरकारले जहाज बेच्ने निर्णय गर्यो। धमीजा प्रकरणमा पनि कोइरालासँग चौधरी असहमत थिए। लगानी प्रवर्द्धन परिषद्का उपाध्यक्ष हुँदा पनि चौधरीको कोइरालासँग थप असमझदारी बढ्यो।

‘गिरिजा बाबु र मेरो सम्बन्ध असहज हुनुमा दुई घटना मुख्य कारक बने, आरएनएसी काण्ड र लगानी बोर्डको विवाद। जसमा मैले आफ्नो आत्मसम्मान गुमेको र आफू अपमानित भएको महसुस गरें। यसले म कांग्रेससँग मानसिक रूपले नै टाढिए।’  (विनोद चौधरीः आत्मकथा, पृ. १६४)

नेपाली कांग्रेसका नेताहरूसँग टाढिएपछि चौधरी एमालेसँग नजिक भए। कम्युनिष्ट पार्टी भएकाले नीजि क्षेत्रप्रति अनुदार हुने हो कि भनेर उनी सशंकित थिए। तर, एमालेका नेताहरूको धारणा सुनेपछि, पटक–पटकको अन्तरक्रियाहरूमा एमाले नीजि क्षेत्रप्रति उदार र वैदेशिक लगानी भित्राउनुपर्ने कुरामा पनि सकारात्मक पाए, उनले। एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग उनको सामिप्यता बढ्यो। उनी पार्टीमै संगठित भए। २०६४ को संविधानसभामा उनी एमालेका तर्फबाट सभासद चुनिए।

०७४ को चुनावअघि उनी एमाले छोडेर नेपाली कांग्रेससँग आवद्ध भएका छन्। कांग्रेसको १४ औँ महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उद्यममा अब्बल उनी राजनीतिमा पनि आफूलाई स्थापित गर्न लागिपरेका छन्।

राजनीतिको ‘उच्चतम विन्दु’मा पुग्ने महत्वाकांक्षा पालेका विनोद चौधरीको सफल उद्यमी यात्रा आरोह–अवरोह र चुनौतीपूर्ण छ। १ वैशाख २०१२ मा काठमाडौंको मारवाडी परिवारमा जन्मिएका उनले अहिले उद्योग–व्यावसायको ‘साम्राज्य’ नै खडा गरेका छन्। उनी स्वदेशमा मात्रै होइन, बहुराष्ट्रिय कम्पनीमा लगानी गर्छन्। देशभित्र र बाहिर गरी चौधरी समूहको छाताभित्र झण्डै एक सयभन्दा बढी कम्पनीहरू रहेको ग्रूपको वेबसाइटमा उल्लेख छ।

चौधरी ग्रूप नेपालको प्रतिष्ठित व्यापारिक समूह हो। यस समूहले खाद्य तथा पेय, घरेलु प्रयोगका विद्युतीय उपकरण, इन्टरनेट सेवा, बियर, चुरोट, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, चाउचाउ आदिमा लगानी गरेको छ। शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पनि यसले लगानी गरेको छ। सन् १९८४ मा उत्पादन थालिएको वाइवाइ चाउचाउ कति लोकिप्रिय भयो भने यो स्वदेशी बजारमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा पनि चल्यो। चौधरी ग्रूपका अरु धेरै उत्पादन छन् तर सामान्य मानिसले वाइवाइको उत्पादन गर्ने कम्पनीका रूपमा यसलाई चिन्छ, बुझ्छ।

उद्योग व्यवसाय क्षेत्रमा विशाल छवि बनाएको चौधरी ग्रूपको बीज चाहिँ उनका हजुरबा भुरामल चौधरीले रोपेका थिए। विनोद काठमाडौंमै जन्मे, हुर्के। यद्यपि उनको जरा भारतको राजस्थान हो। राजस्थानको शेखावटी क्षेत्रमा भुरामल चौधरी विंस १९२७ मा जन्मेका थिए। २० वर्षको उमेरमा भुरामल नेपाल व्यावसाय गर्न नेपाल आएका थिए।

‘त्यतिखेर राणा प्रधानमन्त्री वीर शमशेरले राजस्थानका चार मारवाडी परिवालाई औपचारिक निस्सापत्र पठाएर नेपालमा व्यापार व्यावसाय गर्न निम्तो दिएका थिए। निम्तो पाउनेमा मंगल साहु (सुजर मलको परिवार), मायाराम भोलाराम (टिबडेवालको परिवार), हनुमान साहु (बनवारीलाल मित्तलको परिवार) र महावीरप्रसाद वृजलाल (केडिया परिवार हुन् भन्ने वुबाको भनाइ छ। अरु केही परिवार यही पंक्तिमा पर्छन् जस्तो लाग्छ। मेरो हजुरवा मंगल साहुसँग काम  गर्न नेपाल आउनुभएको थियो। (विनोद चौधरीः आत्मकथा, पृ.२१)

मंगल साहुको कपडाको गद्दीमा काम गर्दै जाँदा भुरामलले आफ्नै व्यावसाय शुरु गरे। उनी राणाका घर–घर कपडा लिएर बेच्न जान्थे। विसं १९९० को कुरा हो, त्यो वर्ष महाभुकम्पले काठमाडौं तहसनहस भएको थियो। त्यो विपद्मा राहत शिविर चलाएर भुरामलले तत्कालीन राणाशासकको मन जितेका थिए। त्यो बखतका प्रधानमन्त्री जुद्धशमसेरले खुशी भएर उनलाई न्यूरोडमा पसल खोल्ने ठाउँ दिए। त्यसपछि घर–घर कपडा बेच्न छोडेर भुरामलले आफ्नै दोकान थापे। त्यही सानो पसल आजको चौधरी ग्रूपको प्रस्थान विन्दु थियो।

नेपालमा संगठित हिसाबले कपडाको व्यापार शुरु भएको त्यही बेलादेखि हो। भुरामलको बिडो लुनकरणदास चौधरीले थामे। बालकैदेखि पितासँग कपडा बेच्न घर घर डुलेका लुनकरणदासले व्यवसाय विस्तार मात्रै गरेनन्, परिस्कृत गर्दै लगे।

विसं १९७९ सालमा जन्मेका लुनकरणदासले पिताको निधनपछि २३ वर्षकै उमेरमा व्यापारको बिडो उठाएका थिए। उनले पिताले न्यूरोडमा खोलेको पसलको विस्तार विराटनगरमा जुट उद्योग शुरु गरे। कम्पनीले यहाँ उत्पादित जुट यूरोप, अमेरिका निर्यात गर्नै मात्रै जापान कोरियाबाट फेब्रिक आयात गर्न पनि थाल्यो।

त्यसपछि लुनकरणदासले सडक निर्माणको ठेक्का लिन थाले। फ्लोरिङ फर्निसिङको आउटलेट खोले। मोर्डन होजियारी उद्योग स्थापना गरेर होजियारी समान उत्पादन थाले। २०२४ सालमा रत्न स्टेनलेस स्टिल उद्योग, पशुपति विस्कुट, महालक्ष्मी मैदा मिल, अरुण इम्पोरियम खोले। चौधरी ग्रूप व्यावसायिक उडानमा थियो। बाबुबाजेबाट प्राप्त व्यापारिक विरासतलाई विनोदले अझ अघि बढाए। यो विरासत सम्हाल्न उनलाई भाइहरू बसन्त र अरुण चौधरीले सघाए।

बाबुबाजेबाट विरासतमा पाएको उद्यमलाई उनले यति विस्तार गरे कि, अहिले उनी स्वदेशमा मात्रै होइन, बहुराष्ट्रिय कम्पनीहरूमा लगानी गर्छन्। छोराहरू निर्वाण, राहुल र बरुणले उनको उद्योग ‘साम्राज्य’ चलाउँछन्।

उनी आफै भने अब राजनीतिक उद्यममा सक्रिय हुन थालेका छन्। धनी व्यवसायीको  चुली टेकेका विनोदले राजनीतिको शिखरमा पनि पुग्ने आकांक्षा पालेका छन्।

‘राजनीति गर्ने जुनसुकै मासिनले म राजनीतिको उच्चतम विन्दुमा पुग्छु भन्ने आकांक्षा राखेकै हुन्छ। यदि कसैले त्यस्तो आकांक्षा राखेको छैन भन्छ भने उसले झुटो बोलिरहेको हुन्छ। राजनीतिको उच्चतम विन्दुमा पुग्नु नै मेरो लक्ष्य हो,’ उनी भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, वृहत परिवर्तन राजनीतिबाट मात्रै सम्भव छ र त्यो परिवर्तन ल्याउनका लागि सत्ता र शक्ति आफ्नो हातमा हुनुपर्छ।’(२६ मंसीर, ०७८, नयाँ पत्रिका दैनिक)

नयाँ वर्ष २०७९ सँगै ६७ वर्ष पूरा गरेका विनोद चौधरीको राजनीतिक उद्यम फस्टाउला ? के  उद्यममा जस्तै राजनीतिमा पनि उच्चतम विन्दुमा पुग्लान् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved