महिलालाई सक्षम बनाउँदैछ बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले सीपयुक्त जनशक्ति उत्पादन गर्न विभिन्न किसिमका तालिम र प्रशिक्षण सञ्चालन गरेको छ। मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम मार्फत हजारौँले सीप सिकेका छन् भने सयौँ उद्यमी बनेका छन्। हिजो आफैलाई जागिर माग्न कार्यालयहरूमा धाउने कैयौँ महिलाहरू अहिले उद्यमी बनेका छन् र अरूलाई रोजगारी दिने अवस्थामा पुगेका छन्।

महिलालाई सक्षम बनाउँदैछ बुटवल उपमहानगरपालिका

बुटवल। निर्जला अधिकारी ३४ वर्षको भइन्। उनी श्रीमान् र एक छोरासहित बुटवल उपमहानगरपालिका-४ आदर्शनगरमा बस्छिन्।

पोखरामा ८ वर्ष व्यवसाय गरेर बुटवल आएपछि उनी बेरोजगार भइन्। घरको काममा प्रायः व्यस्त रहने निर्जलामा पहिले व्यवसाय गरेको अनुभवका कारण यहाँ पनि केही गरौँ  भन्ने हुटहुटी थियो। तर कमजोर आर्थिक अवस्था उनलाई बाधक बन्यो। लगानी नहुँदा व्यवसाय गर्ने अवस्था पनि थिएन।

निर्जलाले गत वर्ष बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको मेयर युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशीलता विकास प्रवर्द्धन कार्यक्रमबारे थाहा पाइन्।

उनी टोल विकास संस्था, वडा कार्यालय हुँदै उपमहानगरमा पुगिन्। उपमहानगरले सञ्चालन गरेको कार्यक्रमले उनलाई आकर्षित मात्रै गरेन उद्यमी बन्ने चाहना पनि जगाइदियो।

इच्छाएको तालिममा सरिक भएपछि थाकलका पातबाट विभिन्न सामग्री बनाउने सीप सिकिन्। त्यो सीपलाई विस्तार गर्दै उनले थाकलबाट विभिन्न सामग्री बनाउन थालिन्।

घरै बसेर थाकलका पातबाट ब्याग, टोपी, पर्स, फूल राख्ने गमला (फूलदानी) बनाउन शुरु गरिन्। शुरुका दिनमा काम गर्न गाह्रो भए पनि विस्तारै सहज बनाउन थालिन्।

अरू व्यवसायभन्दा केही फरक र बजारको समेत अभाव नरहेकाले यसबाट आफू सन्तुष्ट रहेको उनी बताउँछिन्। बुटवल उपमहानगरले तालिमसहित उनलाई १४ हजार बराबरको मेसिन र कच्चा पदार्थसमेत दिएको छ।

भन्छिन्, “कच्चा पदार्थको कुनै अभाव नभएको र न्यूनतम लगानी लाग्ने भएकोले यो व्यवसाय शुरु गरेको हुँ।”

यो काम अन्यभन्दा अत्यन्तै नौलो बताउने उनी थोरै लगानीबाट पनि यो व्यवसाय शुरु गर्न सकिने बताउँछिन्। भन्छिन्, “विदेशमा पनि माग निकै राम्रो छ। अहिले राम्रो आम्दानी भइरहेको छ।”

घरायसी काम सकेर फुर्सदको समयलाई सदुपयोग गरी मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्ने गरेको उनी बताउँछिन्। स्वरोजगार बनेर आर्थिक उपार्जन गर्न पाउँदा उनी निकै खुशी पनि छिन्।

श्रीमानको आम्दानीबाट घर धानिरहेकी निर्जलालाई यस व्यवसायले निकै आड दिएको छ। अहिले त उनी यही व्यवसायको प्रशिक्षण दिनेसमेत भएकी छन्। बुटवल र बाहिरी ठाउँमा उनले २ पटक २ ओटा समूहलाई तालिमसमेत दिइसकिन्।

पहिले शिकारु, अहिले रोजगारदाता

बुटवल उपमहानगरपालिका-१९ निवासी २४ वर्षीया रोशनी शर्मा विद्यार्थी हुन्। उनलाई सानैदेखि सफल उद्यमी बन्ने चाहना थियो। घर चलाउने मुख्य आयस्रोत उनको कफीसप हो।

बाबुआमाले सञ्चालन गर्दै आएको कफीसपलाई थप व्यवस्थित र बिस्तार गर्ने उनको सोच छ। अहिलेको समयमा कफीसपमा पनि तीव्र प्रतिस्पर्धा छ। समयअनुसार व्यवसाय चलाउन आफूमा नयाँ योजना र यसका लागि मुख्यतः तालिमको आवश्यकता पर्ने उनलाई थाहा छ।

उपमहानगरपालिकाले दिने महिला उद्यमशीलता तालिमबारे उनले पनि पोहोरै थाहा पाइन्। “तालिम खुलेको सूचना पाएँ, त्यो पनि मलाई इच्छा भएको र मैले गर्न लागेको विषयमा नै रहेछ”, शर्मा भन्छिन्, “वडामा गएर तालिमका लागि फर्म भरेर छनोट भएँ। कफीसपलाई अझै धेरै बिस्तार गर्ने योजना सफल भएको छ।”

रोशनीले आफ्नो कफीसपलाई विस्तार गरेर अहिले फास्टफुडसमेत व्यवस्था पनि गरिसकेकी छन्। उनको कफीसप बुटवल ८ श्रवणपथमा छ। तालिमपछि उनलाई उपमहानगरले सिलिण्डर, चुलासेट र ४० हजार बराबरको सामानसमेत दिएको छ।

पहिले ५-६ हजार मात्र आम्दानी हुने कफीसफमा फास्टफुड थपेसँगै अहिले दैनिक १५ देखि २० हजारसम्म आम्दानी हुने उनी बताउँछिन्। उनले एक जनालाई रोजगारीसमेत दिएकी छन्। रोशनी आफूजस्ता व्यवसायमा रुचि राख्ने थुप्रै महिलालाई आत्मनिर्भर बनाउन लागिपरेकी छन्।

सासूबुहारी नै सीपयुक्त र सफल उद्यमी

बुटवल १६ की ५१ वर्षीया पम्फादेवी सापकोटा दुई दशकदेखि सिलाइकटाइ व्यवसाय गर्दै आएकी छन्। व्यवसायलाई समयानुसार परिवर्तन र विस्तार गर्ने उनको सोच पूरा हुन सकिरहेको थिएन। तर उपमहानगरले मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशील तालिमअन्तर्गत ढाकाका कपडा बनाउने तालिम दिएको थाहा पाएपछि उनी निकै खुशी भइन्।

एक महिनाको तालिममा उनले पूर्वेली ढाकाका ब्यागहरू बनाउने, ताना बुन्नेजस्ता सीप सिकिन्। सीपलाई निखार्दै उनले धमाधम सामान बनाउन थालिन्। सापकोटाले व्यवसायलाई अझै बिस्तार गर्ने योजनाका साथ बुहारीलाई समेत तालिममा पठाइन्।

अहिले सासूबुहारी नै उद्यमी बनेका छन्। तालिमपछि उनको व्यवसाय फस्टाएको छ। भन्छिन्, “तालिमले ५१ सालदेखि गर्दै आएको काममा फरकपन महशुस गरेकी छु।”

उपमहानगरले दिएको तालिमले आफू सन्तुष्ट रहेको उनी बताउँछिन्। व्यवसायलाई फराकिलो बनाउन उपमहानगरले उनलाई पनि ४० हजार रुपैयाँ बराबरको चेक र धागो उठाउने मेशिन दिएको छ। बुहारी लक्ष्मी बुढाथोकीले पनि यससम्बन्धी तालिम दिन सक्षम भएकी छिन्।

बुटवल उपमहानगरपालिकाले पाँच वर्षयता ल्याएका कार्यक्रमले निर्जला, रोशनी र पम्फाजस्ता धेरै व्यवसायीको अवस्था फेरिदिएको छ। यसले नगरको विकास, आर्थिक समृद्धि, स्वरोजगार र उद्यम विकासमा फड्को नै मारेको छ।

उपमहानगरले सीपसँग उद्यमी बन्न चाहनेलाई प्रविधिसमेत हस्तान्तरण गरेको छ। जुन निकै प्रभावकारी बनेको उद्यमीहरू बताउने गर्छन्।

मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रमबाट हजारौंले सीप सिकिसकेका छन्। हिजोका दिन जागिर माग्न कार्यालयहरूमा धाउने कैयौं महिला अहिले उद्यमी मात्र बनेका छैनन् रोजगारी दिन पनि सक्षम भएका छन्।

बेरोजगार शून्य बनाउने उपमहानगरको लक्ष्य

बेरोजगारशून्य बनाउने र सीपयुक्त नागरिक बनाएर समृद्धिमा केन्द्रित गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम ल्याइएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी बताउँछन्।

उद्यमी बनाउन प्रदान गरिएका सीपलाई व्यवहारमा उतार्ने, व्यवसाय सञ्चालन गर्ने र उद्यमी बनेकाहरूलाई नै अरू नयाँ सिकारुका लागि प्रशिक्षकका रूपमा तयार पारेर दोस्रो चरणको नयाँ कार्यक्रम शुरु गरिने पनि सुवेदीले बताए।

उपप्रमुख महिला उद्यमशील कार्यक्रमअन्तर्गत सञ्चालिन आयमूलक तालिमले महिलालाई उद्यमशील बनाउनुका साथै आर्थिक विकासमा टेवा पुर्‍याउने अभिप्रायले यस्ता कार्यक्रम ल्याइएको उपप्रमुख गुमादेवी आचार्य पनि बताउछिन्। अझ विशिष्ट र विषयकेन्द्रित तालिमका लागि पनि योजना बनाइएको उनको भनाइ छ।

हजारौं महिला उद्यम विकासमा संलग्न

महिला उद्यमशीलता विकास कार्यक्रममार्फत पहिलो चरणमा तीन हजार तीन सयभन्दा बढी महिलाले सीप सिकिसकेका छन्। उनीहरूमध्ये अधिकांशले सीपलाई व्यहारिक बनाएका छन् र उद्यमी बनेका छन्।

१८ देखि ४९ वर्ष उमेर समूहका महिलालाई रुचि र आवश्यकताअनुसार तालिमहरू विज्ञबाट सीप प्रदान गरिएको छ। सीपअनुसार व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरणसमेत उपमहानगरले उपलब्ध गराइरहेको छ।

महिलाहरूलाई स्वरोजगार बन्न उपकरण उपलब्ध गराइएको कार्यक्रममा यूनएनडीपीले सहकार्य गरेको छ। प्रविधि हस्तान्तरणले महिलालाई उद्यमी बन्न सहज भएको यूएनडीपीका प्रदेश कार्यक्रम संयोजक सुदीप अर्यालले बताए।

एकल महिला र तेस्रो लिंगी सहभागी

उपमहानगरले कार्यक्रममा एकल महिलालाई प्राथमकिता दिइएको छ। यस्तै तेस्रोलिंगीलाई पनि कार्यक्रममा सहभागी गराइएको छ। आर्थिक अवस्था कमजोर भएकालाई निः शुल्क तालिम दिइएको उपमहानगरले जनाएको छ।

उद्यम तथा व्यवसाय शुरु गर्न चाहनेलाई ‘प्रोजेक्ट बैंक’ लेखनमा सहयोग गर्ने, उपकरण तथा औजारमा पनि सहयोग गरिएको उपमहानगरका आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए।

गृहिणी बनेर घरमा बिताएको समयलाई आर्थिक उपार्जनसँग जोड्न सकिएकाले कार्यक्रमहरू प्रभावकारी बनेका उपप्रमुख आचार्य बताउँछिन्। हरेक कामलाई नगद कारोबारमा जोड्न यस्ता कार्यक्रम ल्याइएको उनले बताइन्।

विशिष्टिकृत तालिम थपिए

फेसन डिजाइन, गार्मेन्ट सञ्चालन, फास्टफुड बनाउने, कफी बनाउने, नर्सरी तालिम, डेरी उद्योगसम्बन्धी, ढाका बुन्ने, लेदरका जुत्ता बनाउने तालिमजस्ताको माग बढेको उपमहानगरले जनाएको छ।

पर्यटनको हब बन्दै गरेको बुटवलमा महिलालाई हलुका सवारी चालउन पनि उपमहानगरले सिकाउँदै छ।

पर्यटन विकासका लागि हलुका महिला सवारी चालक चाहिने हुँदा उत्पादनमा लागिएको उक्त शाखाको समन्वय गरिरहेका अधिकृत ठगीश्वर पोखरेलले जानकारी दिए।

बजेट अभाव छैन

उपप्रमुख महिला उद्यमशील कार्यक्रमका लागि बजेट अभाव नभएको उपमहानगरले जनाएको छ। यस्ता कार्यक्रमका लागि कुनै पनि हालतमा बजेटको समस्या हुन नदिने उपमहानगरले जनाएको छ।

महिला उद्यमशीलता कार्यक्रमका लागि ३० लाखको बजेट भए पनि यूएनडीपीले सहयोग गरेको छ। जसले सहज भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। अहिलेसम्म तोकिएभन्दा धेरै बजेट खर्च भइसकेको पनि उनले बताए।

निजी क्षेत्रसँग पनि सहकार्य

बुटवल उपमहानगरले यी कार्यक्रममा यहाँका निजी क्षेत्रसँग पनि सहकार्य गरेको छ।

रुपन्देही उद्योग संघ, उद्योग वाणिज्य संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही व्यापार संघलगायतसंग उपमहानगरले सहकार्य गरेको छ।

लगानीको वतावरण बनाउने, श्रमबजारको आवश्यकताको आधारमा दक्ष जनशक्ति उत्पादनमा उपमहनगरले सहकार्य गरेको छ।

तालिम र प्रविधि हस्तान्तरण गरिएकाले निजी क्षेत्रमा पनि लगानीको वातावरण बनेको र सकारात्मक समन्वय भएको उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्वल कसजूले बताए।

यसका साथै उपमहानगरले बुटवल तथा छिमेकी पालिकाबाट सहजै ल्याउन सकिने कच्चा पदार्थबाट उत्पादन गर्न सकिनेखालका प्रविधिहरू हस्तान्तरण गरेकोले बजार र बिक्रीमा समस्या नरहेको उपमहानगरले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved