स्थानीय तह निर्वाचनमा महिला

मकवानपुरका स्थानीय तह नेतृत्वमा खोइ महिला? एमालेले टुंगो लगाएका सबै पुरुष

मकवानपुरका स्थानीय तहहरूमा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाउने क्रमको अन्तिममा छ तर प्रमुख पदमा पुरूष नै छन्। टुंगो नलागेकामा पनि पुरूषकै चर्चा छ। सत्ता गठबन्धन अझै अलमलमा छ जहाँ पुरूष उम्मेदवारकै चर्चा बढी छ।

मकवानपुरका स्थानीय तह नेतृत्वमा खोइ महिला? एमालेले टुंगो लगाएका सबै पुरुष

हेटौंडा। स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा पनि निर्वाचनको चहलपहल बढेको छ। राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन्।

केहीले टुंगो लगाइसकेका छन् भने केही छलफलमै छन्। कार्यकारी पदहरूमा उम्मेदवारी दाबी गर्नेको संख्या कम छैन। तर मकवानपुरका कुनै पनि स्थानीय तहमा प्रमुख पदमा महिलाहरूले उम्मेदवारी दाबी गरेनन्। पाँच वर्ष उपप्रमुख भएर काम गरिसकेका महिलाहरूले समेत प्रमुख पदमा दाबी गर्न सकेनन्।

सत्ता गठबन्धनले कुन स्थानीय तहको प्रमुख कुन पार्टीलाई दिने भन्ने टुंगो लगाउन बाँकी छन्। नेकपा (एमाले)ले भने धेरैजसो स्थानीय तहमा उम्मेदवारहरू सिफारिस गरिसकेको छ। टुंगो लागिसकेका स्थानमा पनि एमालेले महिलालाई नेतृत्वमा अगाडि ल्याउन सकेन। पार्टीभित्रका स्थानीय महिला नेतृत्वले समेत बकैया गाउँपालिकामा बाहेक अन्यत्र प्रमुख पदमा दाबी गरेनन्। ‘उप’मै सिमित हुन रूचाए।

हेटौडा उपमहानरपालिकाका केही वडाध्यक्षमा भने महिलाहरूले दाबी गरेका छन्। महिलाहरूको दाबी परेको स्थानमा भने एमालेले उम्मेदवार टुंगो लगाउन सकेको छैन।

उप’मा  हानथाप, प्रमुखमा एक जना मात्र

हेटौंडा उपमहानरपालिकाको प्रमुख पदमा एमालेबाट नौ जनाले दाबी गरे पनि तीन जना मात्रै सिफारिस भएका छन्। तीनजना मध्ये एकजना मात्रै महिला छिन्। उपप्रमुखमा भने महिलाहरूले हानथाप गरिरहेका छन्। पार्टीले महिलालाई नेतृत्व दिएन भनेर गुनासो गरिरहँदा स्वयम् महिलाहरूले पनि नेतृत्वमा चासो नदेखाएको पाइएको छ। दुई जना महिलाहरू उपप्रमुखमा सिफारिस भएका छन्।

“महिला नेतृत्व आउनुपर्छ भन्ने विषयमा हामी पनि स्पष्ट छौं,” एमालेबाट उपमेयरको दाबी गरेकी रमिला सापकोटाले भनिन्, “तर, हामीलाई अवसर दिने संरचना नै कमजोर छ। हामीमा पनि क्षमता छ भनेर पुष्टि गर्न पनि प्रमुखमा हाम्रो दाबी हो। तथापी पार्टी निर्णयले यसमा फरक पार्छ। उपप्रमुख हुँदा पनि धेरै काम गर्न सकिन्छ। नेतृत्वमा रहन सकिन्छ। अवसर दिने हो भने हामी पनि प्रमुखका लागि तयार छौं।”

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हरिबहादुर महत, अनन्त पौडेल र गणेशकुमारी प्रधानले दाबी गरेका छन्।  महत अहिले पनि मेयर छन्, पौडेल दोस्रो संविधान सभा सदस्य हुन् भने प्रधान जिल्ला समन्वय समितिकी सदस्य। उपमेयर पदका लागि सुमित्रा काफ्ले,  आरती पाठक र इन्द्र नेपालले दाबी गरेका छन्।

गठबन्धनका कारण महिलालाई सकस

नेकपा एमालेले पालिकाहरूको उम्मेदवार धमाधम सिफरिस गरिरहँदा सत्ता गठबन्धनले अझै पनि भागवण्डा मिलाउन सकेको छैन। गठबन्धनको भागबण्डाले भने महिलाहरूले उपप्रमुख पद पनि पाउन मुस्किल पर्ने देखिएको छ। गठबन्धन दलहरू भित्र आकांक्षी धेरै भएपछि व्यवस्थापनमा कठिनाइ देखिएको हो। अहिले पनि मकवानपुरको थाहा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पुरुष छन्। यस अघिको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले पनि प्रमुख र उपप्रमुखमा पुरुष नै उम्मेदवार उठाएको थियो।

भागबण्डामा कुन दललाई कुन पद हुन्छ भन्ने अझै थाहा नहुँदा उम्मेदवार छनोटमा कठिनाइ भइरहेको हो। यद्यपी कुन दलले कुन स्थानीय तह पाउँदा को उठ्ने भन्ने चर्चा भने छ।

हेटौंडा नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पद पाए आनन्दराम पराजुली वा प्रभात दाहालले उम्मेदवारी दिने चर्चा छ। नेकपा (एकीकृत समाजवादी)ले प्रमुख पद पाउँदा भने महिला उम्मेदवार हुने सम्भावना छ। अहिले हेटौंडा उपमहानरपालिकाकी उपप्रमुख मिना कुमारी लामा नेकपा (एस)की नेता हुन्। एसले प्रमुख पद पाए मिना कुमारी लामा वा श्रीधर पोखरेलले उम्मेदवारी दिने चर्चा छ।

“अब म आफू पनि मेयरको लागि योग्य र सक्षम छु,” लामाले भनिन्, “पाँच वर्षसम्म उपप्रमुख भएर काम गरिसकेको छु। कसरी काम गर्नु पर्छ भन्ने सिकाई राम्रोसँग भएको छ। म आफू मेयरको लागि सक्षम छु। गठबन्धनले चाहेमा म तयार छु।”

नेपाली काङ्ग्रेसले उपप्रमुख पाए इन्दिरा न्यौपानेले उम्मेदवारी दिने चर्चा छ र

गाउँपालिकामा पनि महिला छैनन् प्राथमिकतामा

नेकपा (एमाले)ले सिफारिस गरेका गाउँपालिकाहरूमा पनि अध्यक्ष पदका लागि पुरूष नै बढी सिफारिस भएका छन्। यद्यपी बकैया गाउँपालिकामा भने हालकी उपप्रमुख सरला बोलखे र सीता दाहालले दाबी गरेकी छन्। तथापि अरू चार पुरूषले पनि दाबी गरेका छन्।

अन्य गाउँपालिकामा भने एमालेले अहिलेकै जनप्रतिनिधिहरूलाई नै उम्मेदवार बनाउने टुंगो लगाएको छ।

भिमफेदी गाउँपालिकामा हिदम लामा अध्यक्ष पदका प्रत्याशी हुने भएका छन्। हालकी उपप्रमुख पार्वती रानाले दाबी पनि प्रस्तुत गरिनन्।

मकवानपुर गढीको पनि अवस्था उस्तै छ। हालकै अध्यक्ष विदुर हुमागाईले अध्यक्ष पदको उम्मेदवार टिकट पाउने भएका छन् भने उपप्रमुखमा सन्तु थिङ नै उठ्दैछन्।

मनहरी गाउँपालिकामा पनि अध्यक्षमा पुरुषकै चर्चा छ। मनहरीमा अहिलेकी उपाध्याक्ष मनिला विष्टले दाबी गरेकी छन्। तर अध्यक्ष बन्नका लागि धेरै जनाको दाबी छ। यस्तै मकवानपुरको राक्सिराङ, इन्द्र सरोवर, कैलाश र थाहा गाउँपालिकामा पनि पुरुषकै चर्चा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved