पोखरा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी (विज्ञान) निर्वाचित भएका छन्।
महानगर समितिका अध्यक्षलगायतका पदाधिकारी चयनका लागि आज भएको निर्वाचनमा गिरीले प्रत्याशी शिवजी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा विजयी भए। गिरीले ३९ र लामिछानेले ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृत वेदनाथ भण्डारीले जानकारी दिए।
यसैगरी समितिको उपाध्यक्षमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी र विमला पहारी विजयी भए। तीन जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको थियो। सचिवमा जनक पराजुली, सहसचिवमा ईश्वरीप्रसाद लम्साल र कोषाध्यक्षमा बुद्धिमाया गुरुङ निर्वाचित भएका निर्वाचन समितिका संयोजक कमल ढकालले जानकारी दिए।
गत ११ मङ्सिरमा पोखराको अधिवेशन सम्पन्न भएर ८४ सदसीय समिति सदस्यहरु चयन गरे पनि नेतृत्वमा आकाङ्क्षीका बीचमा सहमति नहुँदा अध्यक्षलगायतका पदाधिकारी चयन हुन सकेको थिएन। फागुन अन्तिम साता एक पक्षले गिरीलाई नै अध्यक्ष घोषणा गर्दै पदाधिकारी चयन गरिएको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो। असन्तुष्ट पक्षले सोका विरुद्ध समितिमा हस्ताक्षर सङ्कलन गरेर पार्टी जिल्ला, प्रदेश र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष बुझाएको थियो।
अध्यक्ष प्रचण्डले प्रक्रियाका माध्यमबाट तत्कालै विवाद समाधान गर्न पार्टीको प्रदेश र जिल्ला नेतृत्वलाई निर्देशन दिएपछि समितिको बैठक बसेर मतदानका माध्यमबाट अध्यक्षलगायतका पदाधिकारी चयन गरेको हो। यससँगै पार्टीभित्र देखिएको विवाद समाधान भएको माओवादीले जनाएको छ।
Facebook Comment
Comment