सहकारीसहित सात घरमा चोरी

नेपालभ्युज

सहकारीसहित सात घरमा चोरी

बागलुङ। बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ। सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो।

कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताए। त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ। कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताए।

चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको छ। उनीहरुको के–कति चोरी भएको भन्ने विषयमा खोजी भइरहेको छ। सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको घरमा समेत तोडफोड भएको आचार्यले बताए।

चोरी भए, नभएको विषयमा खोजी भइरहेको छ। चोरी भएका सबै घर तथा पसलमा झ्याल, ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ। बिहीबार राति साढे २ बजेसम्म बजारमा गस्ती गरेको प्रहरीले चोरीका विषयमा आज बिहानमात्रै जानकारी पाएको जनाएको छ।

घटनाका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार हरि शर्माले जानकारी दिए। तीन महिना पहिला कुश्मीशेरा बजारकै हेमलाल पौडेलको पसल फोडेर चोरी भएको थियो।

प्रहरीले त्यतिबेला चोरी गर्नेलाई समेत पक्राउ गर्न सकेको छैन। तीन महिनापछि कुश्मीशेरा बजारमा पुनः चोरीका घटना बढेको स्थानीयवासी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved