स्थानीय तह निर्वाचनका लागि लमजुङमा चारदलीय गठबन्धन

नेपालभ्युज

स्थानीय तह निर्वाचनका लागि लमजुङमा चारदलीय गठबन्धन

लमजुङ। लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ।

नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज बेँसीशहरमा बसेको बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर बढ्ने निर्णय गरेको बताइएको छ।

बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति गुरुङले जानकारी दिए।

यसका लागि सभापति गुरुङको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक मधु अधिकारी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य रहने जिल्ला निर्वाचन संयन्त्र बनाउने निर्णय पनि गरेको उनले बताए।

जिल्लाका आठ पालिकामा गठबन्धन दलहरुको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय गरेको छ। पालिकास्तरीय संयन्त्रमा संयोजक कांग्रेसका सम्बन्धित पालिका सभापति र सदस्यमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरेको कांग्रेस जिल्ला सभापति गुरुङले बताए।

त्यस्तै, बैठकले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा गठबन्धन दलको दलगत बस्तुस्थितिको प्रतिवेदन संयुक्तरुपमा तयार गरी आ–आफ्नो पार्टीको केन्द्रमा पठाउने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved