कठमाडौं । विश्व फुटबलको इतिहासमा डेभिड बेकह्याम (David Beckham) आफ्नो फुटबल कौशलको साथै फुटबलको परिवेश नै कायापल्ट गर्ने फुटबलरमा गनिन्छन् ।
इंगिलिस सुपरस्टार बेकह्याम आफ्नो सफल फुटबल करिअरका लागि मात्र नभई एक दीर्घकालीन फुटबल युगको सुरुवातका लागि पनि चिनिने गर्छन् । उनले आफ्नो क्लब फुटबलको यात्रामा एउटा नयाँ युगको सुरुवात गरिदिए ।
साथै बेकह्यामले फुटबलरहरुलाई खेल जीवनपश्चात पनि कसरी फुटबलमा टिकिरहने पनि मार्गदर्शन गरिदिए । व्यवासायिक सम्झौँतामा आफूलाई कसरी माथि पार्ने र ब्राण्डमा आफूलाई कसरी रूपान्तरण गर्ने भनेर बेकह्यामले देखाइ दिए । यसकारण पनि बेकह्यामलाई मार्केटिङ जिनियस वा ब्रान्डिङको मास्टरस्ट्रोक अपनाउने फुटबलरका रूपमा पनि चिनिन्छ ।
बेकह्यामको ब्रान्डिङ रणनीति
सन् २०२३ अक्टोबर ४ मा बेकह्याम शीर्षकमा नेटफिल्क्स डकुमेन्ट्री सार्वजनिक भयो । जसमा बेकह्यामको ब्रान्डिङबारे केही रोचक यथार्थहरू खुलासा गरियो ।
केले ब्रान्डको मूल्य सिर्जना गर्छ ? त्यो मूल्यको मालिक को हो ? व्यक्तिगत ब्रान्डको मूल्यका लागि के मूल्य चुकाइन्छ ? यस्ता प्रश्नको उत्तर त्यो डक्युमेन्ट्रीले समेट्यो ।
बेकह्यामको डकुमेन्ट्रीले सबैभन्दा महत्त्वपूर्ण कुरा के देखायो भने ब्रान्डको मूल्य सार्वजनिक बजारले निर्धारण गर्छ ।
बेकह्यामसँग आफ्ना केही ब्रान्ड सम्पत्तिहरू थिए—उत्कृष्ट खेल कौशल, आकर्षक व्यक्तित्व, बारम्बार परिवर्तन हुने कपाल शैली र विश्वकै चर्चित पप गायिका विक्टोरिया एडम्स (स्पाइस गल्र्सकी पोश स्पाइस) सँगको विवाह । यी सबै उनको ब्रान्डको आधार निर्माणका लागि प्रारम्भिक आयामहरू थिए । तर, ती कुराभन्दा बाहिर, उनको ब्रान्डको वास्तविक मूल्य के हो भन्ने कुरा सार्वजनिक धारणाले निर्धारण गर्थ्यो ।
सन् १९९८ को विश्वकपमा अर्जेन्टिनासँगको खेलमा बेकह्यामले रातो कार्ड पाउँदाको क्षण
उदाहरणका लागि, सन् १९९८ को विश्वकपमा अर्जेन्टिनासँगको खेलमा रातो कार्ड पाउँदा इङ्ल्यान्डभरि बेकह्यामलाई नै हारको दोषी ठहर गरियो । त्यो कुरा सही थियो वा थिएन भन्ने फरक पर्दैन—तर त्यसले उनको ब्रान्डको मूल्य एकाएक घटायो ।
त्यो बेला बेकह्यामसँग केही गर्न सक्ने अवस्था थिएन । उनको ब्रान्ड उनकै नियन्त्रणबाहिर गइसकेको थियो—मिडिया र जनताले त्यसको स्वामित्व लिइसकेका थिए ।
व्यक्तिगत ब्रान्डको मूल्य निर्धारण हुने बजार अत्यन्त छिटो र उग्र रूपमा प्रतिक्रिया दिने हो भन्नु पनि डकुमेन्ट्रीले दिने अर्को सन्देश हो ।
त्यो समय सामाजिक सञ्जाल नभएको युग थियो । परिवेश अहिलेको जस्तो थिएन । सन् १९९० को दशक र २००० को सुरुवाततिर बेकह्याम चर्चाको शिखरमा थिए ।
त्यसयता, ब्रान्डिङको बजार प्रभाव झन तीव्र र गहिरो बनेको छ । अहिले सार्वजनिक धारणा बनाउने बजार नेटवर्कले जोडिएको छ- अत्यन्त छिटो प्रभाव देखिन्छ र नियन्त्रणको झल्कोसमेत नहुने अवस्था सिर्जना हुन्छ ।
पक्कै पनि, ब्रान्डको आर्थिक फाइदा सामान्यतः सो ब्रान्डको ‘मालिक’ मानिने व्यक्तिलाई प्राप्त हुन्छ । यद्यपि, डकुमेन्ट्रीले स्पष्ट देखाउँछ कि आर्थिक लाभ बाहेक पनि ठूलो मूल्य चुकाउनु परेको थियो ।
बेकह्याम र उनकी श्रीमती भिक्टोरीया (स्रोतः नेटफ्लिक्स/ युट्युब)
बेकह्याम र उनकी श्रीमतीले व्यक्तिगत जीवनलाई ब्रान्डका लागि साट्नुपर्यो, जुन ब्रान्ड उनीहरूले होइन, जनताले र मिडियाले नियन्त्रण गर्थे । कुनै गोपनीयता थिएन, कुनै सीमा थिएन, न त विश्रामको ठाउँ—जताततै प्रसिद्धिले घेरेको जीवन थियो । तर, उनको दाम्पत्य जीवनले मात्र नभई बेकह्यामले व्यावसायिक फुटबलमा लिएको निर्णयले पनि उनलाई मार्केटिङ जिनियसको रूपमा स्थापित गरायो ।
बेकह्यामको मार्केटिङ रणनीति
सन् २००७ मा फुटबल संसार अचम्ममा पर्यो । आफ्नो पुस्ताका सबैभन्दा चर्चित खेलाडीमध्ये एक डेभिड बेकह्याम रियल मड्रिड छोड्दै थिए ।
३१ वर्षको उमेरमा उनी अझै पनि विश्वभर चर्चित थिए, ऊर्जा र क्षमता प्रशस्त बाँकी थियो । तर, अर्को कुनै युरोपियन ठूला क्लब नरोजी उनले अमेरिकास्थित मेजर लिग सकर को तुलनात्मक रूपमा कम चर्चित टिम, एल ए ग्यालेक्सीसँग सम्झौता गरे ।
रियल मड्रिडको खेलमा बेकह्यामको केही यादगार क्षण
उनको नयाँ तलब ? वर्षको ६.५ मिलियन अमेरिकी डलर । यो अघिल्लो कमाइको तुलनामा ७० प्रतिशतले कम थियो । रियल मड्रिडमा उनले वार्षिक १८ मिलियन कमाइरहेका थिए ।
यसबेला विभिन्न संचार माध्यममा निकै क्रुर शीर्षक जस्तै ‘करिअर सुसाइड’ ‘रिटायरमेन्ट टुरको नाउँमा अभिनय’ पनि लेखे । मड्रिडका समर्थकले बेकह्याम ‘बेचिए’ भन्ने गुनासो पनि गरे । उनका साथीहरू पनि अन्योलमा थिए । तर, बेकह्यामले अरूले सोचेको खेल खेलिरहेका थिएनन् ।
बेकह्याम एलए ग्यालेक्सिमा आगमन
बन्द ढोकापछाडि उनले खेल इतिहासकै अग्रगामी व्यावसायिक सम्झौतामध्ये एक तयार पारेका थिए। जहाँ धेरै खेलाडीहरू आफ्नो तलबको अंकमा केन्द्रित हुन्थे, बेकह्यामले खोजे ‘लेभरेज’ (leverage) । उनले केवल तलब मात्र लिएनन्, उनले केही क्रान्तिकारी कुरा साटाफेरमा लिए ।
फुटबल सम्झौताको सन्दर्भमा ‘leverage’ भन्नाले खेलाडी, एजेन्ट वा क्लबसँग हुने त्यो शक्ति वा स्थिति जनाउँछ, जसले तलब, ट्रान्सफर शुल्क, खेल्ने समय वा सम्झौताको अवधि जस्ता कुरामा वार्ता गरेर राम्रो सर्तहरू बनाउन सकिन्छ ।
बेकह्यामले ग्यालेक्सीको आम्दानीको सेयर लिने सम्झौता गरे । मात्र मैदानको प्रदर्शनबाट होइन— टिकट बिक्री, मर्चेन्डाइज, खाना–पेय बिक्री र प्रायोजनमा पनि उनी सेयरधनीका रूपमा जोडिए । र त्यो सम्झौतामा शान्त रूपमा लुकेको थियो एउटा सुनौलो ‘क्लज’ ।
रिटायरमेन्टपछि, बेकह्यामलाई केवल २५ मिलियन डलरमा एमएलएसको नयाँ टिम किन्ने विशेष अधिकार प्राप्त हुने थियो ।
यसअघि कुनै पनि खेलाडीले यस्ता सर्तहरू प्राप्त गरेका थिएनन् । त्यस बेला धेरैलाई बुझ्न पनि थिएन, उनले के गरेका हुन् । तर, चाँडै परिणामहरू आफैँले बोल्न थाले ।
बेकह्याम आएलगत्तै केही दिनमै एलए ग्यालेक्सीले ११ हजार नयाँ सिजन टिकट बेच्यो । उनको जर्सी लिग इतिहासमै सबैभन्दा छिटो बिक्री हुने जर्सी पनि बन्यो । १२ हजार दर्शक आउने स्टेडियमहरू ६६ हजारले भरिन थाले । टेलिभिजन रेटिङ्ग पनि तीन गुणाले बढ्यो । अमेरिकी फुटबल अब मजाक होइन, मञ्च बन्न थाल्यो ।
यससँगै एमएलएसल स्टार खेलाडीलाई भित्र्याउन नयाँ नियम नै ल्याए जसलाई बेकह्याम नियम भनियो । राजस्व हिस्साबाट, बेकह्यामको वार्षिक कमाइ ५० मिलियन डलर पुग्यो ।
मिडियाको धारणा उल्टियो । उनी हराउँदै गरेको तारा नभइए अब मार्केटिङ्ग जिनियसका रूपमा चिनिन थाले । सन् २०१२ सम्म, बेकह्यामले दुईवटा एमएलएस कप जितिसकेका थिए र वर्षमा ५० मिलियनभन्दा बढी कमाइरहेका थिए — गोलबाट होइन, व्यवसायबाट । त्यसपछि आयो सन् २०१४ ।
एमएलएसमा डेब्यु गरेको सात वर्षपछि, बेकह्यामले आफ्नो अर्को अधिकारको प्रयोग गरे । उनले २५ मिलियनको विकल्प सक्रिय गरे र नयाँ क्लब सुरु गर्ने घोषणा गरे– इन्टर मियामी ।
इन्टर मियामी (Inter Miami)
त्यसबेलासम्म एमएलएसमा नयाँ टिम थप्नका लागि शुल्क २०० मिलियन डलर पार गरिसकेको थियो । तर, बेकह्यामको लगानी ? अझै पनि केवल २५ मिलियन । गणित अचम्मको थियो । तर, यात्रामा सहजता थिएन ।
सन् २०२३ मा, बेकह्यामले असम्भव जस्तै देखिने कुरा गरे । उनले लियोनेल मेस्सी (Lionel Messi)लाई मियामी ल्याए । यस सम्झौताले विश्व खेलकुदमा नै एउटा तरंग ल्यायो ।असर तुरुन्तै देखियो । इन्टर मियामीको मूल्यांकन १ अर्ब डलर पार गर्यो ।
इन्टर मियामीमा लियोनेल मेस्सीलाई स्वागत गर्दै बेकह्याम
वार्षिक आम्दानी २०० मिलियन पुग्यो । सामाजिक सञ्जाल फलोअर्स ५५० प्रतिशतले बढ्यो, टिकटको मूल्य १००० प्रतिशतसम्म महँगो भयो । २५ मिलियन डलरको लगानीले १ अर्ब डलरको साम्राज्य निर्माण भयो ।
बेकह्यामको अरब डलर रणनीतिले सिकाउने व्यावसायिक पाठ
डेभिड बेकह्यामले अरूले नदेखेको कुरा देखे । उनले तलबभन्दा हिस्सा रोजे । चर्चाभन्दा स्थायी प्रभाव रोजे । सहजताभन्दा दृष्टिकोण रोजे ।
जहाँ संसार छिटो सफलता र चर्चा पछ्याइरहेको थियो, बेकह्यामले शान्त रूपमा दीर्घकालीन मूल्य बनाउँदै थिए । उनले केवल आफ्नो जीवन होइन, अमेरिकी फुटबलको गति नै परिवर्तन गरे । त्यसकारण पनि बेकह्यामको रणनितिलाई मार्केटिङमा केस स्टडीको रूपमा लिइन्छ ।
कमाउने मात्र नभई, मालिक बन्न सोच्नुहोस्-बेकह्यामले केवल तलब लिएनन्, उनीले आम्दानीको हिस्सा लिए । टिकट, मर्चेन्डाइज, स्पोन्सरसिप – सबैमा उनको हिस्सेदारी थियो । यसले तलबभन्दा पनि लाभांशबाट कमाउन सिकाउँछ ।
असमान जोखिसँगै इनामको अवसर-२५ मिलियन डलरको टिम किन्ने अधिकार ? सुरुमा हास्यास्पद लागे पनि पछि त्यो ३०० मिलियनभन्दा बढी पुग्यो । कहिलेकाहीँ, उत्कृष्ट अवसर मूर्खताजस्तो देखिन्छ । भविष्यमा फाइदाजनक हुने जोखिममा मोल्न बेकह्यामबाट सिक्न सकिन्छ ।
धैर्य नै सफलताको सुत्र-बेकह्यामले इन्टर मियामी पूर्ण रूपमा तयार हुन १३ वर्षसम्म पर्खनु पर्यो । असफलता र समस्या आए पनि उनले हिम्मत छाडेनन् । विकास हुन समय लाग्छ । धैर्य नै सफलता बढाउने शक्ति हो ।
व्यक्तिगत प्रभावलाई प्रयोग गरी सिर्जना गरिएको लेभरेज-बेकह्यामले निकै सिर्जनशील शैलीमा इन्टर मियामीमा मेस्सीलाई भित्र्याएर फुटबलमा आफ्नो व्यक्तिगत प्रभावलाई प्रस्टाइदिए । मेस्सीलाई ल्याउनु केवल खेलाडी ल्याउनु थिएन – यसले पुरै व्यवसायलाई नयाँ उचाइमा पुर्यायो । एउटा सही साझेदार वा भर्तीले गति परिवर्तन गर्न सक्छ । एउटा बुद्धिमानी निर्णय वा साझेदारीले बाटो नै बदल्न सक्छ । रणनीतिक प्रभाव एक शक्तिशाली गुणक हो ।
खेलमा उपस्थिति मात्र होइन, खेलै परिवर्तन गर्ने क्षमता-कुनै पनि कार्यमा सहभागी हुँदा उपस्थिति मात्र नजनाई त्यसको विकासको केन्द्रमा रहनु पनि बेकह्यामको सम्झौँताले दर्शाउँछ । यससँगै एमएलएसले बेकह्यामकै कारण नियम परिवर्तन गर्यो । बेकम नियमले अरू स्टारहरूका लागि ढोका खोल्यो । लिगको स्तर उचाल्यो । जब मूल्य पर्याप्त हुन्छ, तब प्रतिस्पर्धा होइन नेतृत्व गरिन्छ ।
यी पाठसँगै डेभिड बेकह्यामले केवल साहसी निर्णय गरेका होइनन्, उनी खेलाडी उद्यमशीलताको परिभाषा नै बदल्ने व्यक्ति बने । यो अमेरिका गएर बल हान्ने कुरा मात्र थिएन– यो सेयरधनी बन्ने, लाभबाट हिस्सा लिने, संस्कार बदल्ने, र सम्पदा निर्माण गर्ने बेकह्यामको कालान्तारसम्म याद रहेन कथा हो ।
र प्रतिफल ? २२ सय प्रतिशत लाभ । किनभने जे बेकह्यामले देखे, त्यो अरूले देख्न सकेनन् । जुन कुरा बाहिरबाट करिअरको अन्त्य जस्तो देखिन्थ्यो, त्यो वास्तवमा खेलकुद–व्यवसायको प्रारम्भ बन्यो ।
बेकह्यामले नियम फेरिदिए, खेलाडी उद्यमशीलताको परिभाषा बदलिदिए, र अमेरिकी फुटबलको गति परिवर्तन गरिदिए। अरू चेकर्स खेलिरहेका थिए, बेकह्याम भने चेस— त्यो पनि १० चाल अगाडि । बेकह्यामले खेल मात्र खेलेनन्, खेलकै परिभाषा बदलि दिए ।
Facebook Comment
Comment