च्याम्पियन्स लिग फुटबल: योहान क्रोफलाई सम्झाउने हाल्याण्डको ‘फ्यान्टम शट’

हाल्याण्डको गोल निर्णायक मात्र भएन ऐतिहासिक पनि बन्यो । सिटीका प्रशिक्षक पेप गार्डिओलाले यो गोलको प्रशंसा गरे ।

नेपालभ्युज

च्याम्पियन्स लिग फुटबल: योहान क्रोफलाई सम्झाउने हाल्याण्डको ‘फ्यान्टम शट’

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत समुह चरणमा म्यान्चेष्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । इतिहाद स्टेडियममा बिहीबार भएको खेलमा सिटीले बोरुसिया डर्टमन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

तर यो खेलमा अहिले एर्लिङ हाल्याण्डको गोलको चर्चा भइरहेको छ । जुड बेलिङ्घमले ५६ औँ मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए ।

सिटीका लागि जोन स्टोन्सले ८० औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको ४ मिनेट पश्चात नै हाल्याण्डको गोलले सिटीलाई जित दिलायो । उनले उक्त गोल गर्दा उत्कृष्ट तरिकाले दुर्लभ भलीको प्रदर्शन गरे ।

हाल्याण्डको गोल निर्णायक मात्र भएन ऐतिहासिक पनि बन्यो । सिटीका प्रशिक्षक पेप गार्डिओलाले यो गोलको प्रशंसा गरे ।

‘मलाई चिन्ने मानिसहरु मेरो जीवनमा प्रशिक्षक तथा मार्गदर्शक योहान क्रोफले पारेको प्रभावको बारेमा अवगत छन् । वर्षौँअघि क्याम्प नोउमा भएको खेलमा एट्लेटिको मड्रिडविरुद्धको बार्सिलोनाको लागि क्रोफले उत्कृष्ट गोल गरे । त्यस्तै दृश्य आज पनि देख्न पाइएको थियो । हाल्याण्डले गोल गरेलगतै मलाई योहान क्रोफको स्मरण भएको थियो । लगभग उस्तै गोल थियो । ’, गार्डियोलाले खुसी व्यक्त गर्दै भने ।

सिटीका लागि हाल्याण्डले ९ खेलमा १३ गोल गर्न सफल भएका छन् ।

योहान क्रोफको ‘फ्यान्टम शट’

अहिले क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीमा को उत्कृष्ट खेलाडी भनेर जसरी प्रश्न उठ्ने गर्दछ । त्यसरी नै ६०–७० को दशकमा पेले, डिएगो म्याराडोना र क्रोफको पनि तुलना हुने गथ्र्यो । क्रोफलाई ७० को दशकको उत्कृष्ट खेलाडीको रुपमा चिनिन्छ ।

सन् १९७३–१९७४ को दौरान एट्लेटिको मड्रिडविरुद्ध बार्सिलोनाको लागि क्रोफले प्रहार गरेको त्यो शटलाई कसैले ‘फ्यान्टम शट’ त कसैले ‘वन्डर गोल’ को रुपले चिन्ने गर्दछन् ।

खेलको ४४ औँ मिनेटमा डी–बक्स एरियाभित्र गोलपोस्टको दाहिने साइडमा भएका क्रोफले आफु तिर आएको बललाई दाहिने खुट्टाले ‘फ्लाइिङ किक’ प्रहार गरे ।

निकै नै गाह्रो देखिएको सो शटले क्रोफले बललाई सहज रुपमा गोलमा परिणत गर्न सफल भएका थिए । क्रोफको गोलले बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । यसले उनलाई ‘फ्लाइिङ डच’ को उपनाम दिएको थियो ।

सो खेल बार्सिलोनाले २–१ गोलअन्तरले जितेको थियो । बार्सिलोनाको लागि क्रोफले ५ सिजन खेले । उनको उपस्थितिमा बार्सिलोनाले सन् १९७३–७४ को लिग जित्न सफल भएको थियो ।

क्रोफले सन् १९७१, १९७३ र १९७४ गरी ३ पटक बालोन डी’ ओर उपाधी जितेका थिए।

क्रोफको झल्को हाल्याण्डमा 

सिटीका प्रशिक्षक गार्डिओलाले बार्सिलोनामा खेल्दा क्रोफको प्रशिक्षण पाएका थिए । पराजयको डरले त्रसित हुनु छाडेर कसरी त्यो क्षणमा रमाउने भन्ने क्रोफको मुल मन्त्र थियो ।

आठ वर्ष बार्सिलोनाको प्रशिक्षक रहेका क्रोफले टोलीलाई ४ ला लिगा, १ कोपा डेल रे, ३ सुपरकोपा दे इस्पाना, १ यूईएफए कप, १ यूरोपियन कप र २ यूरोपियन सुपर कप गरी कुल ११ उपाधी जिताएका थिए । उनलाई बार्सिलोनाको इतिहासमा दोस्रो सफल प्रशिक्षक मानिन्छन् ।

गार्डिओलाले पनि ११ उपाधी जित्न सफलता पाएका छन् । उनले प्रशिक्षणका दौरान क्रोफको शैली अपनाउने गरेको विभिन्न अन्तरवार्तामा भन्दै आएका छन् । गार्डियोलाले गुरुको जस्तै क्षमताको झलक हाल्याण्डमा पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved