विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन मुम्बईमा सम्पन्न

नेपालभ्युज

विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन मुम्बईमा सम्पन्न

मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) ‘ग्लोबल मिडिया डाइलग : २०२५’  सम्पन्न भएको छ ।

मे १–४ मा आयोजित सम्मेलनमा ९० भन्दा बढी सदस्य देशबाट सरकारी अधिकारीसहित करिब १० हजार सम्बन्धित क्षेत्रका प्रतिनिधि सहभागी थिए । आयोजकका अनुसार एक हजारभन्दा बढी कृयटर, तीनसय भन्दा बढी कम्पनी र साढे तीन सयभन्दा बढी ‘स्टार्टअप’ ले शिखर सम्मेलनमा भाग लिएका छन्।  सम्मेलनमा नेटफ्लिक्स, अमेजन, गुगल, मेटा, सोनी, रियायन्स, टाटाजस्ता विश्वका अग्रणी संस्था र कम्पनीका प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको उद्घाटन गर्दै ‘हज्जारौँ वर्ष लामो संमृद्ध परम्परा रहेको भारतले कथावाचनमार्फत् विश्वको सेवा गरिरहेको’ बताए । प्रधानमन्त्री मोदीले ‘भारत छिट्टै विश्वको पाँचौबाट तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रयासमा रहेको भन्दै त्यसमा यस क्षेत्रको विशिष्ट योगदान रहने’ अपेक्षा व्यक्त गरे ।

सम्मेलनलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले विशेष सम्बोधन गरेका थिए । उनले ‘सम्मेलनबाट विश्वभरिका सृजक, नीति निर्माता, लेखक, कलाकार, उत्पादक सबैलाई एक ठाउँका ल्याएर परस्पर सहयोग र सहकार्यमार्फत् यो क्षेत्रलाई अघि बढाउन योगदान पुग्ने’ विश्वास व्यक्त गरेका थिए ।

साथै, विदेशमन्त्री जयशंकरले अडियो, भिजुअल उत्पादनमा ‘परम्परा, सम्पदा, विचार र अभ्यासलाई सृजनशील तरिकाले स्थान’ दिन आग्रह गरे । परम्परा र प्रविधि सँगसँगै अघि बढ्नु पर्नेमा उनको विशेष जोड थियो । उनले वेभ्स यस क्षेत्रको नेतृत्वदायी विश्व मञ्च बन्ने विश्वास समेत व्यक्त गरे ।

उद्घाटन समारोहमा भारतका धनाढ्य व्यक्ति मुकेश अम्बानीकी पत्नी नीता अम्बानीले  विश्वले अहिले भारतको संस्कृतिलाई अंगिकार गरिरहेको बताएकी थिइन ।

सम्मेलनको अन्त्यमा १३ बुँदे घोषणा–पत्र जारी गरिएको छ । घोषणापत्रमा सहभागी देशका सरकारका प्रतिनिधिले मनोरञ्जन क्षेत्रलाई स्वतन्त्रता, सृजनशीलता र विश्व सामञ्जस्यता प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैश्विक मिडिया पर्यावरणलाई ‘समाज, बजार र पृथ्वीको हित र फाइदाका लागि सृजनशीलता, संस्कृति र सहकार्यको सिद्धान्त अनुरूप उपयोग गर्ने’ प्रतिबद्धता समेत घोषणा–पत्रमा उल्लेखित छ ।

मानवय कल्याण र संस्थागत विकासमार्फत् दीगो विकास लक्ष्य हासिल गरी विश्व शान्ति, संमृद्धि र प्रगतिलाई सुनिश्चित गर्न मिडिया क्षेत्रले योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved