बोटबिरुवा पनि जरा र गन्धमार्फत गर्छन् संवाद !

नेपालभ्युज

बोटबिरुवा पनि जरा र गन्धमार्फत गर्छन् संवाद !

काठमाडौं । बाेटबिरुवाले विभिन्न तरिकाले संवाद गर्छन् भन्ने विश्वभरका वैज्ञानिकहरूले गरेका अनुसन्धानले देखाएको छ  । ध्वनि, गन्ध, रासायनिक सङ्केत र जमिनमुनिको ढुसी नेटवर्क प्रयोग गरेर उनीहरूले संवाद गर्ने गरेकाे पाइएको छ ।

सन् २०२३ को मार्चमा सेल जर्नलमा (Cell-Journal) प्रकाशित एक अनुसन्धानअनुसार बिरुवाले तनावको समयमा अल्ट्रासोनिक ध्वनि (Ultrasonic-sound) निकाल्ने गर्छन्, जुन हामीले सुन्न नसके पनि किरा, चमेरा र मुसाजस्ता प्राणीहरूले सजिलै सुन्न सक्छन् । यससम्बन्धी अध्ययन इजरायलको तेल अविव विश्वविद्यालयका प्रोफेसर लिलाच हाडानी (Lilach Hadany), प्रोफेसर योसी योवेल (Yossi Yovel)  र तिनका सहकर्मीले गरेका थिए ।

वैज्ञानिकका अनुसार बिरुवाले ‘मद्दत गर्नुहोस्’, ‘यहाँ आउनुहोस्’,‘स्रोतहरू संरक्षण गर्नुहोस्’, ‘मेरा फलहरू खानका लागि तयार छन्’ भन्नेजस्ता सन्देश वातावरणमा प्रवाह गर्छन् ।

धेरै प्रजातिका बिरुवाले तनावको बेला अल्ट्रासोनिक ध्वनि निकाल्छन् भन्ने तथ्य अध्ययनले पत्ता लगाएको छ । मानव भएकोले हामीले तिनीहरूको आवाज सुन्न सक्दैनौँ तर सुँघ्न भने सक्छौँ । उदाहरणका लागि घाँस काटेपछि आउने त्यो विशेष गन्ध (भोलाटाइल) (Volatile-Organic-Compounds) वास्तवमा बिरुवाको पीडाको सङ्केत हो । यो गन्ध हामीलाई केही जस्तो लाग्दैन, तर वास्तवमा यो बिरुवाको सङ्कटकालीन सन्देश हो । झुसिल्किराले खाँदा पनि बिरुवाहरूले यस्तै गन्ध छोड्छन्, जसले अन्य किराहरूलाई आकर्षित गर्छ र तिनीहरूले झुसिलकिराको सिकार गर्छन् ।

बिरुवाभित्रै पनि संवाद प्रणाली हुन्छ । जराले जमिनमा पानीको कमी महसुस गर्दा तिनीहरूले रासायनिक र विद्युतीय सङ्केतको माध्यमबाट पातलाई पानी बचत गर्न निर्देशन दिन्छन् । जसरी हाम्रो दिमागले शरीरका विभिन्न भागमा सन्देश पठाउँछ, त्यसरी नै बिरुवाको जराले पनि सन्देशहरू विभिन्न भागमा फैलाउँछन् ।

अझ अचम्मको कुरा त के छ भने बिरुवाले जमिनमुनि ढुसीसँग मिलेर एक विशाल नेटवर्क बनाउँछन् । यसलाई माइकोराइजल नेटवर्क भनिन्छ । यो नेटवर्कमार्फत बिरुवाले एकअर्कालाई पोषक तत्त्व र सूचना आदानप्रदान गर्छन् ।

पर्डयू विश्वविद्यालयको बोटनी तथा प्लान्ट प्याथोलोजी विभागमा माइकोलोजी (ढुसी विज्ञान)की प्राध्यापक क्याथी एम. (Mary Catherine (Cathie) Aime) का अनुसार यस नेटवर्कमा ढुसी र जराबीच साना आरएनएका टुक्राहरू आदानप्रदान हुने गर्छन्, जसले जिन अभिव्यक्तिमा असर पार्छ । यदि ढुसी मित्र हो भने बिरुवालाई सघाउँछ, तर यदि ढुसी शत्रु हो भने बिरुवाको रक्षा प्रणाली बन्द गराइदिन्छ । जसले ढुसीलाई आक्रमण गर्न सजिलोसमेत बनाउँछ ।

अनुसन्धानकर्ताका अनुसार एउटा पुरानो ‘नर्स’ रुखबाट ढुसी नेटवर्कमार्फत कार्बन अर्को कम उमेरको रुखसम्म जान्छ, जसले राम्रोसँग प्रकाश प्राप्त गर्न सक्दैन र प्रकाश संश्लेषण गर्न सक्दैन । बिरुवाहरू हामीले कल्पना गरेभन्दा धेरै बुद्धिमान, संवेदनशील र संवादशील जीव हुन् । र, अझै पनि धेरै कुरा अनुसन्धान हुन बाँकी नै छन् ।

यससम्बन्धी प्रकाशित भएका अन्य आर्टिकल :

  1. National Institutes of Health
  2. National Geographic
  3. ScienceDirect

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved