काठमाडौं । सर्वोच्च अदालतले चारजना भुटानी शरणार्थीलाई देश निकाला नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई देश निकाला नगर्न आदेश दिएको हो ।
अध्यागमन कार्यालय काकडभिट्टाको हिरासतमा थुनिएका चार भुटानी शरणार्थीलाई सर्वोच्चमा उपस्थित गराउनसमेत इजलासले आदेश दिएको छ । यही वैशाख ११ गते अध्यागमन विभागलाई समन्वय गरेर चारै जनालाई सर्वोच्चमा झिकाउन आदेश दिइएको हो ।
शरणार्थीहरूलाई थुनामुक्त गराउन नारायणप्रसाद सुवेदीले ३ वैशाखमा बन्दीप्रतिक्षीकरण रिट दर्ता गराएका थिए । गएको ११ चैतमा अध्यागमन कार्यलयले देश निकाला गर्ने निर्णय गरेको थियो । सर्वोच्चले उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्याएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो। कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा छन्।
आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गतेदेखि र अशोक गुरुङ चैत १९ देखि झापाको काँकडभिट्टा प्रहरीको हिरासतमा छन् ।
‘अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदी नेपाली मूलका भुटानी भइ नेपालमा शरणार्थीको को रुपमा दर्ता भइ शरणार्थीकै रुपमा तेस्रो देश अमेरिकामा पुनर्वास भएको देखिन्छ । उनीहरू पुनर्वास भएको देशबाट गत चैत ११ मा निस्कासनमा परी भारत, भुटान हुँदै हाल नेपालमा अध्यागमन कार्यालय मेचीनगर नगरपालिका झापामा थुनामा रहेको देखिँदा निज निवेदकहरूलाई अध्यागमन विभाग काठमाडौ र काकडभिट्टामा समन्वय गरी यस अदालतमा वैशाख ११ गते हाजिर गराइ इजलाससमक्ष पेश गर्नू ।’
रिट निवेदक नारायणप्रसाद अध्यागमनको हिरासतमा रहेका आशिषका बुवा हुन् ।
Facebook Comment
Comment