रौतहट । पर्सा प्रहरी कार्यालयनजिक भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा तीनजना पत्रकार घाइते भएका छन् ।
हिन्दूवादीहरूले गरेको प्रदर्शनको समाचार सङ्कलन गरिरहेका पत्रकार एभीन्युज टीभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी घाइते भएका हुन् ।
गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्साअगाडि धर्नामा बसेका हिन्दूवादीहरूलाई हटाउने क्रममा
प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरू घाइते भएका हुन् । घाइते तीन पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियोे । उनीहरूको बिनाशर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछि प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।
यता नेपाल पत्रकार महासङ्घ पर्साले समाचार सङकलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरूलाई घाइते बनाउने दोषीहरूलाई कारवाहीको माग गरेको छ ।
Facebook Comment
Comment