काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार शिक्षा विभागले पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य ईञ्जिनियर शैलेन्द्र झा र परीक्षा समितिका संयोजक केशव ज्ञवालीको उपस्थितिमा नतिजा सार्वजनिक गरिएको हो ।
प्रकाशित नतिजा अनुसार ४ जिपिएमध्ये ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ हजार ७३० रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ६ हजार ४५५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ३ हजार ९७ जना, २.० देखि २.४ जिपिए ल्याउने २८ जना र ० देखि १.६ जिपिए ल्याउने ५ हजार १७४ जना विद्यार्थी रहेका छन् ।
विषयगत रुपमा गणितमा सबैभन्दा बढी ३ हजार ९५६ जना विद्यार्थीले ‘नो ग्रेड’ ल्याएका छन् । सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९८२ जना, विज्ञान तथा प्रविधिमा १ हजार ७९६ जना, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कलामा १ हजार २१२ जना, नेपालीमा १ हजार ४४४ जना, अंग्रेजीमा १ हजार ११७ जना र नेपाल भाषामा ६६७ जना विद्यार्थीले ‘नो ग्रेड’ ल्याएका छन् ।
नतिजामा ग्रेस मार्क नदिइएको र विषयगत रुपमा ‘नो ग्रेड’ ल्याउने विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने समितिले जनाएको छ ।
नतिजा सार्वजनिक कार्यक्रममा महानगरका प्रवक्ता मानन्धरले नतिजाले विद्यालयहरुको वास्तविक अवस्था दर्शाएको बताए । उनले विषयगत रुपमा सिकाइका कमजोरी देखाएकोले सुधार गर्न आधार तयार भएको बताए । सहरी योजना आयोगका सदस्य झाले नतिजाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षलाई थप जिम्मेवार बन्नुपर्ने सन्देश दिएको बताए ।
विद्यार्थीले आफ्नो नतिजा चित्त नबुझेमा बैशाख ४ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्नेछन् । ग्रेड वृद्धि परीक्षा वैशाख ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्षको परीक्षामा १८ हजार २९४ जना विद्यार्थीले आवेदन दिएकोमा १२४ जना अनुपस्थित भएका थिए । काठमाडौँ महानगरपालिकाभित्र ५०२ विद्यालय छन्, जसमा ७४ वटा सामुदायिक, २० वटा वैकल्पिक र ४०८ वटा संस्थागत विद्यालय रहेका छन् ।
Facebook Comment
Comment