प्रधानमन्त्री र भारतीय कृषिमन्त्रीबीच भेट, खाद्य सुरक्षाबारे छलफल

नेपालभ्युज

प्रधानमन्त्री र भारतीय कृषिमन्त्रीबीच भेट, खाद्य सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंहबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का कृषि मन्त्रीहरूको बैठकका लागि नेपाल आएका चौहानले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्ने बताएका छन् । मन्त्री चौहानले दुई पक्षीय सम्झौता र संयुक्त कार्य समूहहरूलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्दा छाडेर थाँती रहेका महत्त्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशील रूपमा काम गर्न आफू तयार रहेको उल्लेख गरे ।

यस्तै, थाइल्यान्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशबीच आशाजनक भविष्य कोरेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्यान्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved