काठमाडौं । शीर्ष अमेरिकी सुरक्षा अधिकारीहरूले नै यमनमा आक्रमण गर्ने योजना चुहावट गरेको एक पत्रकारले दाबी गरेका छन् ।
यो दाबी द एट्लान्टिकका प्रधान सम्पादक जेफ्रा गोल्डबर्गले गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे आफूलाई केही थाहा नभएको बताएका छन् । उनले भने, “मलाई यसबारे केही थाहा छैन । मेरो लागि द एट्लान्टिक एउटा पत्रिका हो, जुन बन्द हुन लागेको छ ।”
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि पत्रकारको दाबीलाई सही नभएको दाबी गरे ।
प्रश्न सोध्दा उनले भने, “त्यसो भए तपाईं एक कपटी र अत्यन्तै कुख्यात तथाकथित पत्रकारको बारेमा कुरा गर्दै हुनुहुन्छ । युद्ध योजनाको बारेमा कसैले पनि सन्देश पठाउँदैनथे । यसबारे मसँग अरु केही भन्नुछैन ।”
पत्रकारको दाबी के हो ?
जेफ्रा गोल्डबर्गले दाबी गरे, “मार्च ११ मा मैले सिग्नल एपमा एउटा सन्देश प्राप्त गरेँ । यो खाता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको रूपमा पहिचान गरिएको थियो ।”
“मार्च १३ मा मैले यस बारे एउटा सूचना प्राप्त गरेँ । त्यसमा भनिएको थियो कि मलाई च्याट समूहमा थपिएको छ । यो समूहको नाम ‘हुथी पीसी स्मल ग्रुप’ थियो । यो समूहमा हुथी विद्रोहीहरूलाई आक्रमण गर्न यस समूहमार्फत समन्वय गरिनेछ भन्ने सन्देश दिइएको थियो ।”
उनले भने, “मार्च १५ मा मैले अर्को सन्देश प्राप्त गरेँ । त्यसमा हुथी विद्रोहीहरूमाथि आक्रमण भइरहेको भनिएको थियो । दुई घण्टापछि वाल्ट्जले सोही च्याट समूहमा लेखे – अपरेशन सफल भयो ।”
अब पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनका पूर्वयातायात सचिव प्याट बुटिगिएगले यस विषयमा प्रश्न उठाएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखे, “यी मानिसहरूले अमेरिकालाई सुरक्षित राख्न सक्दैनन् ।”
यसैबीच सदनका सभामुख माइक जोनसनले भने, “ट्रम्प प्रशासनले यो गल्ती भएको स्वीकार गरेको छ ।”
Facebook Comment
Comment