अधिकाङ्श प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नेपालभ्युज

अधिकाङ्श प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
फाइल तस्वीर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आङ्शिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र मधेस प्रदेशलगायत मुलुकका पहाडी भागमा आङ्शिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली गरी अधिकाङ्श प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा पनि आङ्शिक बदली हुनेछ ।

कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आङ्शिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved