काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् ।
भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्युनिकरण, प्राकृतिक प्रकोप र भूविपत्को व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै यो मानव दैनिकीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे ।
उनले विश्वका अतिशय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन बढी असर परेको पनि उल्लेख गरे ।
राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको र विगत तीन दशकको अवधिमा हिमालयमा रहेका हिमनदीहरूको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरू विस्फोटनको सङ्घारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जलप्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको स्मरण गराए ।
Facebook Comment
Comment