स्ववियु निर्वाचनमा २५ सङ्गठनबीच प्रतिस्पर्धा

नेपालभ्युज

स्ववियु निर्वाचनमा २५ सङ्गठनबीच प्रतिस्पर्धा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २५ सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार उक्त निर्वाचनमा सहभागी हुन सोमबार २५ विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।

त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएकाे विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराए,’ उनले भने, ‘विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि सबै क्याम्पसमा आफ्नो सङ्गठनको मनोनयन गरिएको जानकारी दिए । यस्तै, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा सङ्गठनको नाम दर्ता गराइएको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरले देशभर नै निर्वाचन हुने क्याम्पसमा सङ्गठन दर्ता गरिएको जानकारी दिए । यसअघि त्रिविले ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका’ आचारसङ्हिता जारी गरिसकेको छ ।

चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved