काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा जनजीवन प्रभावित भएको छ । पाइप फुटेर सडक अवरुद्ध हुँदा सवारीसाधनसँगै पैदलयात्रीको आवागमनमा समेत असर परेको छ ।
पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किनका साथै सडकपेटीमा पनि क्षति पुगेको छ । सडकमा ठूलो खाल्डोसमेत परेको छ । साथै सडकभरि हिलो र ढुङ्गाका गिट्टी छरिएको देख्न सकिन्छ ।
थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा वरपरका पसलहरूमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेस्टुरेन्ट, औषधि र फलफूल पसलमा भेल परेको हो । भेलले भुँइतलाका पसल र रेष्टुरेन्टलाई असर गरेको छ । ती पसल र रेस्टुरेन्ट जलमग्न भएका छन् ।

आज (मङ्गलबार) बिहान करिब ५ बजेपछि थापाथलीमा मेलम्चीको पाइप फुटेको हो ।
यहाँ के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । यद्यपि पाइप फुटेको थाहा पाउनासाथ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने नपाएको बताइएको छ ।
यसअघि गत माघ ३० गते पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । वन परिसरसँगै क्षेत्रका केही सरकारी कार्यालय डुबानमा परेका थिए ।
बबरमहलमा विद्युत् प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो । त्यस घटनालाई लिएसर प्राधिकरणले माफी पनि मागेको थियो ।
Facebook Comment
Comment