काठमाडौं । उपाधि विजेता मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एक लाख रुपैयाँसहित यमाहा १२५ सीसीको मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी मच्छिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । यस्तै मछिन्द्रकै स्टेफन जमाहा जाली सर्वाधिक गोलकर्ता बनेका छन् ।
यस्तै त्रिभुवन आर्मी क्लबका नीराजन धामी प्रतियोगिताको उदीयमान खेलाडी बनेका छन् । उनीहरूले जनही ५० हजार रुपैयाँसहित यमाहा १२५ सीसी मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको थियो । मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
विजेता टोली तथा खेलाडीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली, इटालियन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
Facebook Comment
Comment