बागमती प्रदेशसभा बैठक : बजेट अक्षरस पालना गर्न सांसदको सुझाव

नेपालभ्युज

बागमती प्रदेशसभा बैठक : बजेट अक्षरस पालना गर्न सांसदको सुझाव
फाइल तस्वीर ।

मकवानपुर । बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा सांसदहरूले राष्ट्रिय महत्वका विषय र सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको विनियोजित बजेटलाई अक्षरस पालना गर्न सुझाव दिएका छन् ।

मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेताबहादुर सिं लामाले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशका १३ वटै जिल्लामा क्रमशः विपद् व्यवस्थापनलाई सक्रिय बनाउँदै जनतालाई स्थानीय तहमार्फत प्रभावकारी रूपमा सेवा प्रवाह गर्न स्रोतसाधन परिचालन गरिएको बताए ।

उनले सरकारले इमान्दारीपूर्वक चालु आवको बजेटलाई पूर्वाधार विकास, योजनालाई पूर्णता दिनेलगायत क्षेत्रमा निष्पक्ष ढङ्गबाट व्यवस्था गरिएको भन्दै आवश्यक ऐन, कानुन तर्जुमा गर्न प्रदेशसभा सचिवालयमा समन्वय गरिरहेको उल्लेख गरे ।

नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले संविधानको मर्म र भावनालाई सबै राजनीतिक दलका नेतृत्वले आत्मसाथ गर्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले सङ्घीयता राष्ट्रको आवश्यकता रहेकाले स्थानीय तहलाई जीवन्त तुल्याउन प्रदेश सरकारले समयानुकूल ऐन ल्याउन लागेको बताउँदै प्रदेश प्रहरी संरचनालाई प्रदेश सरकारको स्वामित्वमा ल्याउन सङ्घीय सरकारसँग पहल गर्नुपर्ने सुझाव दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद शालिकराम जम्मकट्टेलले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउँदै जनतालाई केन्द्रमा राखेर मानव अधिकारको संरक्षण, आर्थिक समृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोतसाधन परिचालन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गरे ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता उद्धव थापाले सहकारीको रकम अपचलन गर्ने कार्यमा संलग्न जोकोहीलाई सरकारले निष्पक्ष भएर छानबिन गर्नुपर्ने माग गरे ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्ण्रसाद शर्मा खनाल, नेमकिपा संसदीय दलका नेता सरेन्द्रराज गोरसाईं र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले प्रदेश सरकारले जनता केन्द्रित भएर प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताएका थिए ।

उनीहरूले सङ्घीय सरकारसँगको सहकार्य र समन्वयबाट सहकारी पीडित परिवारलाई न्यायोचित न्याय दिने, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नेलगायत काममा निष्पक्ष भूमिका निर्वाह गर्न प्रदेश सरकारलाई सुझाव दिएका थिए ।

शुक्रबारको बैठकमा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा बैठक सञ्चालन गर्न उर्मिला नेपाल, भारती कुमारी पाठक, भुवन केसरी श्रेष्ठ, रमा आलेमगर र लक्ष्मी घिमिरेलाई मनोनीत गरिएको जानकरी दिए ।

प्रदेशसभाको अर्को बैठक यही माघ २३ गते बुधबार बिहान ११ बजे बस्नेछ । प्रदेशसभाको आजको बैठक सुरु हुनुअघि प्रदेश सरकारले ल्याउन लागेको चार वटा विधेयक पेस नगरी अर्को बैठकमा पेस गर्ने सहमति भएपछि कार्यसूचीबाट हटाइएको थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved